पूर्वतयारी योजनाका लागि सुझाव संकलन

सुर्खेत: कर्णालीमा शिक्षा क्षेत्रमा आउन सक्ने विपद्को पूर्वतयारी तथा प्रतिकार्यका लागि योजना बनाइने भएको छ । विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि प्रदेशस्तरीय योजना निर्माण गर्न सरोकारवालासँग सुझाव संकलन गरिएको छ । प्रदेशमा प्रतिकूल मौसम, प्राकृतिक विपद् तथा महामारीजस्ता कारणले शैक्षिक क्षेत्र प्रभावित बन्दै आएको छ । त्यस्ता विपद्को प्रतिकार्य र व्यवस्थापन गरी पठनपाठन सञ्चालन गर्न विशेष योजना बनाउन लागिएको हो ।

भूगोल सुहाउँदो प्रदेशस्तरीय विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गर्न सुझाव संकलन भइरहेको सामाजिक विकास मन्त्रालयका शिक्षा शाखा प्रमुख बलवीर सुनारले बताए । कर्णालीका सबै जिल्लाको सिनारी हेरेर विपद् पूर्वतयारी योजना बनाउन लागिएको उनले जनाए । ‘सरोकारवालाबाट आएको सुझावका आधारमा तर्जुमा योजना बनाइनेछ,’ उनले भने, ‘सुझाव संकलन भइरहेका छन्, मस्यौदा तयार पारेर अन्तिम रूप दिने तयारीमा मन्त्रालय रहेको छ ।’ सरोकारवालाले मौसम सुहाउँदो विपद् प्रतिकार्य योजना बनाइनुपर्ने, हिमाली जिल्लामा आवासीय तथा घुम्ती विद्यालय सञ्चालन गर्नुपर्ने, विद्यालयको भौतिक संरचना निर्माण गर्दा उपयुक्त स्थानको छनोटमा ध्यानदिनुपर्ने जस्ता सुझावहरू दिएका छन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उप–महानिर्देशक रुद्रप्रसाद अधिकारीले तीन तहका सरकारबीच समन्वय गरेर योजना तर्जुमा गरिने बताए । उनले विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि नेपाल शिक्षा समूह सञ्चालन कार्यविधि–२०७९ तयार भएको जानकारी दिए । त्यसलाई आधार मानेर प्रदेशको कार्ययोजना बनाउन सकिने उनी बताउँछन् । विद्यालय अस्थायी रूपमा सार्ने, विपद्को समयमा सिकाइ निरन्तरताको विषयमा केन्द्रित रहेर प्रतिकार्य योजना बनाउनुपर्ने अधिकारीको सुझाव छ । विपद पूर्वतयारी तथा प्रतिकार्य योजनाले परिस्थितिको प्रभावकारी सामना गरी पठनपाठन सञ्चालन गर्न मदत पुग्ने अपेक्षा लिइएको छ । वीरेन्द्रनगरमा आयोजित सुझाव संकलन कार्यक्रममा कर्णाली प्रदेशमा शिक्षासँग सम्बन्धीत क्षेत्रमा काम गर्ने दशवटै जिल्लाका सरकारी अधिकारीहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   १३ पुष २०७९, बुधबार ०५:०२