विद्यालय प्रशासनविरुद्ध शिक्षक आन्दोलित

सुर्खेत: वीरेन्द्रननगर–६ मा रहेको जन नमूना माध्यमिक विद्यालयका शिक्षकहरू विद्यालय प्रशासनविरुद्ध आन्दोलित भएका छन् । विद्यालय प्रशासनले आफूहरूलाई अपहेलित गरेको भन्दै शिक्षकहरू आन्दोलित भएका हुन् । उनीहरूले विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकको स्वैच्छाचारी प्रवृत्तिले लामो समयदेखि कार्यरत शिक्षकहरू मर्कामा परेको जिकिर गरेका छन् । व्यवस्थापन समिति र प्राधानाध्यापकले केही वर्षयता अपारदर्शी एवम् मनपरी तरिकाले विद्यालय सञ्चालन गर्दै आएको शिक्षकहरूको आरोप छ ।

आफूहरूको मानमर्दन हुनेगरी गतिविधि बढाएको भन्दै सोमवार ११ जना शिक्षकद्वारा हस्ताक्षरित माग–पत्र विद्यालय प्रशासनलाई बुझाइएको छ । शिक्षकहरूका जायज मागप्रति ध्यानाकर्षण गराइएकाले यसतर्फ तत्काल गम्भीर नबने त्यसबाट उत्पन्न हुने परिस्थितिको विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापक स्वयम् जिम्मेवार हुने माग–पत्रमा जनाइएको छ । शिक्षकहरूले मासिक रूपमा बस्नुपर्ने स्टाफ बैठक नबसाली अप्रजातान्त्रिक तरिकाले विद्यालय सञ्चालन गरेको, शिक्षक प्रतिनिधिलाई नियोजित रूपमा उपस्थित नगराइ विभिन्न निर्णय गरी कार्यान्वयन गरेको लगायतका आरोप लगाएका छन् ।

प्रकाशित मितिः   १२ पुष २०७९, मंगलवार ०५:०२