सरकारी स्वास्थ्य संस्थामा सधैँ औषधी अभाव

सुर्खेत: पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाका स्वास्थ्य संस्थाहरूमा सरकारले निःशुल्क उपलब्ध गराउने औषधी तीन÷चार महिनाको फरकमा एकपटक आउँछ । त्योपनि निकै न्यून मात्रामा । सरकारले जुनसुकै सरकारी स्वास्थ्य संस्थाबाट ५८ प्ररकारका औषधी निःशुल्क वितरण गर्ने नीतिगत व्यवस्था गरेको छ । नीतिगत व्यवस्था यस्तो भएपनि त्यहाँका अधिकांश बिरामीले स्वास्थ्य चौकीबाट सामान्य ज्वरोको औषधीसमेत पाउन मुस्किल छ । चौकुने गाउँपालिका–७ मा रहेको धामीडाँडा स्वास्थ्य सेवा केन्द्रमा सिटामोलको समेत अभाव हुन्छ । यो स्वास्थ्य केन्द्र गत वर्ष ६ महिना औषधीविहीन बनेको थियो । बिरामीलाई निःशुल्क उपलब्ध गराउनुपर्ने औषधीहरूको सधैँ अभाव हुने गरेको केन्द्रकी इन्चार्ज योगिता लामिछाने बताउँछिन् । उनले भन्छिन्, ‘बिरामीहरू स्वास्थ्य संस्थामा उपचारका लागि आउनुहुन्छ, चेकजाँचपछि औषधी निजी क्लिनिकहरूमा अन्यत्रै किन्नुपर्ने बाध्यता हुन्छ ।’ औषधी अभाव हुँदा बिरामी खाली हात फर्कने गरेको उनले जनाइन् । उनका अनुसार नियमित औषधी सेवन गर्ने दीर्घरोगीहरूले झन सरकारी स्वास्थ्य संस्थाबाट औषधी नै पाउँदैनन् । पालिकामा सबैभन्दा बढी जनसंख्या भएको ७ नं. वडा नै हो । उक्त वडामा झन्डै चार हजार जनसंख्या छ । स्वास्थ्य केन्द्र इन्चार्ज लामिछाने भन्छिन्, ‘यस वर्ष पनि बारम्बार औषधी अभाव भइरहेको छ ।’ बिरामीको चाप धेरै हुने उक्त केन्द्रमा औषधी तथा स्वास्थ्य पूर्वाधारको भने राम्रो प्रबन्ध हुन नसकेको उनले बताइन् ।

चौकुनेका अन्य वडाहरूमा रहेका स्वास्थ्य सेवा केन्द्रहरूमा पनि औषधी र जनशक्तिको अभाव छ । वडा नं. ८ का अध्यक्ष धनिराम धमलाले निःशुल्क वितरण गर्नुपर्ने औषधी पर्याप्त नआउने गरेको बताए । उनले भने, ‘निःशुल्क उपलब्ध गराउनुपर्ने औषधी समयमै उपलब्ध हुँदैन, अधिकांश बिरामीले अहिले पनि सहज रूपमा स्वास्थ्य सेवा पाउन सकेका छैनन् । वडाहरूमा स्वास्थ्य सेवा सहज र भरपर्दो बनाउन आफूहरू लागि परेको उनले जनाए । सोही वडामा पर्ने स्वास्थ्य चौकी गुटुुमा पनि औषधीको हाहाकार छ । त्यहाँ पहिलेभन्दा कम मात्र औषधी उपलब्ध हुन्छ । वडामा रहेका स्वास्थ्य संस्थाहरूबाट प्राथमिक उपचारका लागि आवश्यक औषधी पनि नपाउने अवस्था रहेको स्वास्थ्य चौकीका इन्चार्ज गगंनसिह पाण्डे बताउँछन् । उनका अनुसार पालिकाले औषधी खरिदका लागि पर्याप्त बजेट नछुट्याउँदा यस्तो समस्या हुने गरेको हो । स्थानीय तहले हरेक वर्ष टेण्डरमार्फत औषधी खरिद गर्छन् ।

चौकुने गाउँपालिकाकै वडा नं. ५ मा रहेको आधारभूत स्वास्थ्य इकाइ केन्द्रमा औषधीको चरम अभाव छ । स्वास्थ्य इकाइ केन्द्रका इन्चार्ज देविराम विसीले निःशुल्क वितरण गर्नुपर्ने औषधी छिटफूट मात्र आउने गरेको बताए । संघीय सरकार र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले पनि पालिकाहरूमा रहेका स्वास्थ्य संस्थाहरूमा औषधी उपलब्ध गराउँदै आएका छन् । पालिकाहरू आफैले पनि बर्सेनि ठूलो रकम खर्चिएर औषधी खरिद गर्छन् । तर, स्वास्थ्य संस्थाहरूमा भने सधैँजसो निःशुल्क उपलब्ध हुनुपर्ने औषधीको अभाव हुने गरेको हो । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले तीन तहका सरकारले छट्टाछुट्टै औषधी खरिद गर्ने गरेको बताए । उनले भने, ‘कुन औषधी कुन तहको सरकारले किन्ने भन्ने हुुन्छ, त्यसैगरी औषधी खरिद भइरहेको छ ।’ अहिले दुई तहमा निःशुल्क औषधीको वितरण भइरहेको उनले जनाए । गौतमका अनुसार आधारभूत स्वास्थ्य केन्द्रमा ९१ प्रकारका र आधारभूत अस्पतालमा ९८ प्रकारका औषधीसम्म निःशुल्क दिने व्यवस्था छ ।

प्रकाशित मितिः   १२ पुष २०७९, मंगलवार ०५:०१