रेडक्रसद्वारा सरोकारवालासँग छलफल

सुर्खेत: कर्णाली प्रदेशस्तरीय सरोकारवालाहरूको समन्वयात्मक बैठक सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश कार्यालयद्वारा सञ्चालित परियोजनाबारे सोमवार वीरेन्द्रनगरमा सरोकारवालाहरूसँग छलफल गरिएको हो ।

प्रदेश कार्यालयले नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयसँगको समन्वय तथा स्वीस रेडक्रस र ब्रीटीस रेडक्रसको आर्थिक सहभागितामा दैलेख र कालीकोटमा सामुदायिक स्वास्थ्यसँग सम्बन्धित परियोजना सञ्चालन गरिरहेको छ । यसबाहेक जुम्ला, कालीकोट, दैलेख, जाजरकोट र सल्यानमा कोभिड–१९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रम सञ्चालन गरिएको छ ।

बैठकमा रेडक्रसले आगामी दिनमा गर्ने गतिविधिबारे पनि सरोकारवालाहरूसँग छलफल गरेर सुझाव संकलन गरेको छ । नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश कार्यसमितिका अध्यक्ष भेषबहादुर थापाको अध्यक्षता तथा सामाजिक विकास मन्त्रालयका सचिव सन्तबहादुर सुनारको प्रमुख आतिथ्यतामा भएको बैठकमा प्रदेश सरकारका विभिन्न निकाय तथा राष्ट्रिय, अन्तराष्ट्रिय गैरसरकारी निकायहरूको समेत सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   १२ पुष २०७९, मंगलवार ०५:०१