दलको नेता छान्न सकस

 

सुर्खेत: कर्णाली प्रदेशमा नेकपा ‐एमाले) र नेकपा (माओवादी केन्द्र) लाई संसदीय दलको नेता छान्न सकस देखिएको छ । दुवै दलले सर्वसम्मत दलको नेता चयन गर्ने बताए पनि अझैसम्म टुँगो लाग्न नसकेको हो । दलको नेता बन्न दुवै दलमा आकांक्षीहरूले लविङ गरिरहेका छन् । नेपाली कांग्रेसले दलको नेता सर्वसम्मत चयन गरिसकेका बेला एमाले र माओवादीले भने ढिलाइ गरेका हुन् ।

एमालेभित्र दलको नेताका लागि स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश इन्चार्जसमेत रहेका यामलाल कँडेल र प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाह आकांक्षी रहेको बुझिएको छ । यद्यपि, उनीहरूले यसबारे सार्वजनिक अभिव्यक्ति भने दिएका छैनन् । दुवैले दलको नेता बन्न लविङ गरेको नेताहरू बताउँछन् । शाहले आकांक्षा देखाए पनि अन्नतः कँडेल नै संसदीय दलको नेता बन्ने उनीहरूको भनाइ छ । कँडेल २०७४ को निर्वाचनमा प्रदेशको मुख्यमन्त्री बन्ने चाहानासहित प्रदेशमा झरेका थिए । उनी संघीय सरकारका पूर्वमन्त्री र प्रदेशसभाको पहिलो कार्यकालमा दलका नेतासमेत हुन् । प्रदेशसभाको पहिलो कार्यकालमा भने उनी मुख्यमन्त्री बन्न पाएनन् । यसपटक पनि उनी मुख्यमन्त्रीको आकांक्षासहित प्रदेशमै निर्वाचन लडेका हुन् । नेताहरूका अनुसार आइतवार राष्ट्रिय रूपमा नयाँ सत्ता समीकरण बनेकाले अबको एक दुई दिनमै एमालेले पनि कर्णालीमा दलको नेता चुन्नेछ । दलको नेताका लागि चुनाव नभइ सर्वसम्मत गर्नेगरी प्रयासहरू थालिएको बताइएको छ । कर्णाली प्रदेशसभामा एमालेका १० जना सांसद छन् ।

त्यस्तै, माओवादी केन्द्रमा पनि दलको नेता छान्न कठिन भएको छ । माओवादी केन्द्रको संसदीय दलको नेतामा राजकुमार शर्मा र विन्दमान विष्टको चर्चा छ । शर्मा नै दलको नेता बन्ने बलियो सम्भावना रहेको नेताहरू बताउँछन् । माओवादी केन्द्रका १३ जना प्रदेशसभा सदस्यहरू मध्य बहुमत संख्या शर्माको पक्षमा देखिएको उक्त दलका एक जना सांसदले बताए । उनका अनुसार मुख्यमन्त्रीको रूपमा शर्मालाई अघि सार्ने गरी पार्टीभित्र गृहकार्य थालिएको छ । पूर्व आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका विष्ट पनि मुख्यमन्त्रीको चर्चामा छन् । उनी दलको नेता बन्ने कसरतमा देखिए पनि सम्भावना कम रहेको नेताहरूको भनाइ छ । माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरूले पनि सर्वसम्मत दलको नेता चयनका लागि प्रयास भइरहेको बताएका छन् । सोमवार सांसदको सपथ ग्रहणपछि दलको नेता चुन्ने प्रक्रिया अघि बढाइने नवनिर्वाचित प्रदेशसभा सदस्य कृष्णबहादुर जिसीले जनाए । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका अध्यक्ष विमला केसीले पनि प्रदेशसभा सदस्यहरूको शपथपछि मात्रै दलको नेता चयनका लागि तयारी गर्न भनिएको बताइन् ।

प्रकाशित मितिः   ११ पुष २०७९, सोमबार ०५:०१