प्रदेशसभा सदस्यको सपथ आज

सुर्खेत: कर्णाली प्रदेश सभाका नवनिर्वाचित प्रदेशसभा सदस्यहरूले आज (सोमवार) पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । दिउँसो ३ बजे प्रदेशसभा सचिवालयमा शपथ ग्रहण कार्यक्रमको आयोजना गरिएको छ । कर्णाली प्रदेशसभामा ४० जना प्रदेशसभा सदस्य रहेका छन् । तीमध्ये २४ जना प्रत्यक्ष र १६ जना समानुपातिकबाट निर्वाचित भएका हुन् । शपथ ग्रहण दिउँसो तीन बजे प्रदेशसभा सचिवालयमा हुनेछ ।

प्रदेशसभा सदस्यमा निर्वाचित ज्येष्ठ सदस्य विनोदकुमार शाहले अन्य सदस्यहरूको पद तथा गोपनीयताको शपथ गराउनेछन् । त्यसअघि आजै प्रदेशसभा सदस्य शाहलाई प्रदेश प्रमुख तिलक परियारले बिहान साढे ११ बजे पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ । प्रदेश प्रमुखबाट ज्येष्ठ प्रदेशसभा सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाएपछि मात्रै अन्य ३९ सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ खुवाउन बाटो खुल्छ । शपथ ग्रहण कार्यक्रममा आउँदा निर्वाचन आयोगबाट प्राप्त प्रदेशसभा सदस्यको प्रमाण–पत्र, नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपी र दुई प्रति फोटो पनि ल्याएर आउन भनिएको छ । त्यसका साथै राष्ट्रिय पोशाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थित हुनुपर्ने बताइएको छ ।

प्रदेशसभा सदस्यहरूलाई निर्धारित समयभन्दा दुई घण्टा अगाडिदेखि नै उपस्थित हुन भनिएको छ । कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा पनि गराउन पाउनेछन् । मंसिर ४ गते प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएको थियो । कर्णाली प्रदेशमा नेपाली काग्रेसका १४, नेकपा ‐माओवादी केन्द्र) का १३, नेकपा ‐एमाले) का १०, राष्ट्रिय प्रजातन्त्र पार्टी, स्वतन्त्र र एकीकृत समाजवादी तथा स्वतन्त्रबाट एक÷एक जना प्रदेशसभा सदस्य निर्वाचित भएका छन् ।

प्रकाशित मितिः   ११ पुष २०७९, सोमबार ०५:०१