वीरेन्द्रनगरमा चुनौतीपूर्ण सडक अतिक्रमण

सुर्खेत: वीरेन्द्रनगरलाई व्यस्थित बनाउन थालिएको अभियानले गति लिन सकेको छैन । अतिक्रमित सडक क्षेत्रका भौतिक संरचना हटाउन सुरु गरिए पनि थुप्रै ठाउँमा स्थानीयको अवरोध छ । सडक तथा फुटपाथ क्षेत्रको व्यवस्थापन गरी नगरलाई सुरक्षित एवम् व्यवस्थित बनाउने अवधारणा अघि सारिएको छ । उक्त अभियानमा भने पाइलैपिच्छे चुनौती देखिएका छन् । उपत्यकाभित्रका मुख्य सडक क्षेत्रमा पर्ने संरचना हटाउनसमेत स्थानीयले अटेरी गर्दै आएका हुन् । नगरपालिका र वडाहरूले यसअघि पटक–पटक सार्वजनिक सूचना जारी गर्दा पनि धेरै स्थानमा सडक क्षेत्र खाली नभएको हो । अतिक्रमण गरी बनाइएका घरटहरालगायतका अवैध भौतिक संरचना हटाउन नगरलाई हम्मेहम्मे परेको छ ।

नगरपालिकाले सडक विस्तार तथा स्तरोन्नतीका कामलाई प्राथमिकतामा राखेर अहिले सोहीअनुसार अवरोधहरू हटाउन लागेको जनाएको छ । नगरको व्यवस्थित विकासको योजनामा भने थुप्रै बाधा आइरहेका छन् । नगरपालिकाका उपप्रमुख निलकण्ठ खनाल उपमहानगरपालिका उन्मूख रहेकाले त्यसको आधार तयार गर्न व्यवस्थित योजनासहित अघि बढिएको बताउँछन् । ‘हामीले विशेष योजनासहित सडक अतिक्रमण क्षेत्र खाली गर्न र अनाधिकृत संरचना हटाउन भनेका छौँ,’ उनले भने, ‘यो अभियानमा नगरवासीको साथ रहने विश्वास छ ।’ उनले नगरले नगरवासीसँग समझदारी र कतिपय विषयमा नीतिगत रूपमै समस्याको हल गर्नेगरी कामहरू थालेको बताए । खनालले सडक विस्तार योजनाअन्तर्गत विभिन्न वडाहरूमा रहेका अतिक्रमित क्षेत्र खाली गर्न सुरुवात गरिएको जनाए ।

वीरेन्द्रनगर नगरपालिकाले गत भदौ २१ गतेदेखि सार्वजनिक क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचना हटाउन थालेको हो । सार्वजनिक सूचना जारी गरेर संरचना हटाउन अनुरोध गरिए पनि बजार क्षेत्रकै कैयन् ठाउँमा अवरोध कायमै छ । अहिले मुख्य बजार क्षेत्र ‐मंगलगढी चोकदेखि गणेश चोकसम्म) को सडक विस्तारको काम अघि बढाइएको छ । निर्माण ठेक्का सम्झौता भएको लामो समय भइसक्दा पनि अझै सो ठाउँमा सबै सडक क्षेत्र खाली भइसकेको छैन । जसले गर्दा सडक विस्तारको काम प्रभावित बनिरहेको छ । अवरोध हटाउन ढिलाइ हुँदा सडक स्तरोन्नतीको काम सुस्त छ ।

नगरले शुक्रवार सार्वजनिक सूचनामार्फत वडा नं. ८ मा सार्वजनिक जग्गा अतिक्रमण गरी अनधिकृतरूपमा बनाइएका संरचना हटाउन पनि भनेको छ । बिहीवार १५ दिने सार्वजनिक सूचना जारी गरेर सार्वजनिक जग्गा, सडक अतिक्रमण र नक्सापास स्वीकृतिविना निर्माण गरिएका संरचना हटाउन निर्देशन दिएको हो । उक्त वडाको महिला प्रशिक्षण केन्द्रदेखि कालिन्चोकसम्मको दैलेख सडक खण्डमा पर्ने संरचना छिटोभन्दा छिटो हटाउन भनिएको छ । यस्तै, सोही सूचनामा नगरले क्याम्पसरोडदेखि सिम्तालीचोक सडक क्षेत्रका संरचना पनि हटाउन भनेको छ । यसैगरी, माथेमा प्लानिङ्गअनुसार सिद्धबहिरा स्कूलदेखि दक्षिणतर्फ समदर्शीमार्गका सडक खण्ड र सोबाट पूर्व कटकुवामार्ग जोड्ने बाटोमा रहेका अवैध संरचना हटाउन सार्वजनिक सूचना गरिएको छ । यीसहित आवास क्षेत्र अन्तर्गतका पार्क तथा सार्वजनिक क्षेत्रहरूमा रहेका नक्सापासविनाका संरचना १५ दिनभित्र हटाइसक्न भनिएको हो । सूचनामा सम्बन्धित व्यक्तिले अटेर गरी नहटाएमा वडा कार्यालयले नियमानुसार हटाउने उल्लेख छ । नगर कार्यपालिकाको मंसिर २५ गतेको बैठकले गरेको निर्णय बमोजिम पुस ५ गतेदेखि लागू हुने गरी सूचना जारी गरिएको जनाइएको छ । यसअघि वडा नं. ३ ले सार्वजनिक क्षेत्रका अतिक्रमण गरी बनाइएका संरचना हटाउन सूचना जारी गरिसकेको छ ।

नगरपालिकाले उपत्यकाको मुख्य प्रवेशद्वार सुब्बाकुनादेखि बाङ्गेसिमलसम्म आसपासका सडक क्षेत्रमा पर्ने अनाधिकृत संरचना हटाउन सार्वजनिक सूचना गर्दै आएको छ । अतिक्रमित सार्वजनिक क्षेत्र खाली गर्ने अभियानलाई तीव्रता दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारी बताउँछन् । उनले भने, ‘सार्वजनिकस्थल सडक, पार्क, सरकारी भवन संरक्षित क्षेत्रमा गैरकानुनी रूपमा बनाइएका संरचना हटाउने कार्यमा नगरपालिका अघि बढेको छ ।’ उनले नगरपालिका सार्वजनिक जग्गाको संरक्षण गर्दै योजनाबद्ध विकास र व्यवस्थित सहरको अवधारणाअनुसार अघि बढेको बताए । यो काम भने निकै चुनौतीपूर्ण रहेको तिवारी बताउँछन् । वीरेन्द्रनगर पछिल्ला वर्षहरूमा अव्यवस्थित सहरीकरणको मारमा छ । प्रदेश राजधानी भएसँगै यहाँ जथाभाबी बस्ती विकास भइरहेको छन् । सोही सवाललाई सम्बोधन गर्न नगरले भर्खरै भू–उपयोग नीतिसमेत निर्माण गरी लागू गरेको छ । सडक अतिक्रमण क्षेत्र यथासक्य हटाउन पहल थालेको नगरपालिकाले हाल खाली गर्नुपर्ने क्षेत्रको साइड छुट्याउने, क्षेत्राधिकारको क्षेत्र र नक्साहरू यकिन गर्ने काम गरिरहेको छ । सार्वजनिक जग्गाहरू अतिक्रमण भएको क्षेत्र पहिचान गर्नेलगायतका अवस्थाको स्थितिबारे अध्ययन थालिएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मितिः   ९ पुष २०७९, शनिबार ०५:०५