कर्णालीमा वित्तीय साक्षरता ५९ प्रतिशत
सुर्खेत: कर्णाली प्रदेशमा वित्तीय साक्षरता ५९ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आधार सर्वेक्षणमा कर्णालीको वित्तीय साक्षरता ५९ दशमलव सात प्रतिशत रहेको देखाएको हो । समग्र राष्ट्रिय वित्तीय साक्षरताका तुलनामा कर्णालीको अंक राम्रो छ । राष्ट्रिय वित्तीय साक्षरता ५७ दशमलव नौ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । प्रदेश १, मधेश प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशभन्दा पनि कर्णालीको वित्तीय साक्षरता अंक धेरै देखिएको छ । कर्णालीमा वित्तीय रूपमा महिलामाभन्दा पुरुष बढी साक्षर रहेको सर्वेक्षणले औल्याएको छ । यहाँ पुरुष ६३ दशमलव दुई प्रतिशत र महिलाम ५६ दशमलव तीन प्रतिशत वित्तीय रूपमा साक्षर रहेको पाइएको हो ।
यस्तै, डिजिटल वालेट प्रयोगमा कर्णााली प्रदेश पछाडि रहेको छ । कर्णालीमा पाँच दशमलव १५ प्रतिशतले मात्रै डिजिटल वालेट प्रयोग गर्छन् । यो प्रदेशमा वयस्यक जनसंख्याको ३५ दशमलव ४५ प्रतिशतले सामूहिक बचत ऋण प्रयोग गर्ने गरेकाको देखिएको छ । सहकारी सहुलियतपूर्ण कर्जाको पहुँच पनि कर्णाली प्रदेशमा अन्यको तुलानमा कम रहेको छ । जुन एक दशमलव ०१ प्रतिशतमात्रै छ । आर्थिक संकट टार्न कर्णाली र सुदुरपश्चिम प्रदेशमा परिवार र साथीहरूहरूमा निर्भर रहने अवस्था रहेको अध्ययनले देखाएको छ । कर्णाली प्रदेशबाट सबैभन्दा कम रेमिट्यान्स आउने गरेको समेत तथ्याङ्कमा उल्लेख छ । यस्तै, कर्णालीवासीले वित्तीय निर्णयका लागि टेलिभिजन र रेडियोबाट कमै जानकारी प्रयोग गर्ने गरेको अध्ययनले देखाएको छ ।
वित्तीय साक्षरता आधार सर्वेक्षणअनुसार समग्र राष्ट्रियस्तरमा वित्तीय साक्षरता ५७ दशमलव नौ प्रतिशत पुगेकोमा महिलाभन्दा पुरुषको वित्तीय साक्षरता अंक बढी रहेको छ । पुरुषको वित्तीय साक्षरता अंक ६१ दशमलव आठ प्रतिशत पाइएको राष्ट्र बैंकको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । महिलाको तुलनामा पुरुषको साक्षरता सात दशमलव पाँच प्रतिशतले बढी रहेको छ । वित्तीय साक्षरताको तीन आयामको रूपमा रहेको वित्तीय ज्ञान ४७ दशमलव तीन प्रतिशत, वित्तीय व्यवहार ६३ दशमलव पाँच प्रतिशत र वित्तीय मनोवृत्ति ६२ दशमलव नौ प्रतिशत रहेको पाइएको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । वयस्क जनसंख्याको २७.५ प्रतिशतले मात्र वित्तीय साक्षरताका तिनै आयामहरूमा न्यूनतम् अंक प्राप्त गरेको जनाइएको छ । वित्तीय ज्ञानमा ३६ दशमलव पाँच प्रतिशत वयस्क जनसंख्या, वित्तीय व्यवहारमा ५६ दशमलव ६ प्रतिशत र वित्तीय मनोवृत्तिमा ९५ दशमलव चार प्रतिशत वयस्क मानिसहरूले न्यूनतम् अंक प्राप्त गरेको प्रतिवेदनमा जनाइएको छ ।
वित्तीय साक्षरतामा सबैभन्दा बढी अंक वागमती प्रदेशको ६४ दशमलव पाँच प्रतिशत छ भने मधेस प्रदेशको सबैभन्दा कम ५२ प्रतिशत रहेको छ । खासगरी युवा पुस्ताहरू वित्तीय साक्षरता र यसका आयामहरू सबैमा अगाडि रहेको प्रतिवेदनमा उल्लेख छ । ६० वर्ष काटेकाहरूको वित्तीय साक्षरता २७ दशमलव नौ प्रतिशत मात्रै पाइएको छ । त्यस्तै शिक्षाको तह बढ्दै जाँदा पनि वित्तीय साक्षरता बढ्दै गएको सर्वेक्षण प्रतिवेदनले औल्याएको छ । रोजगार, औपचारिक क्षेत्रमा काम गर्ने व्यक्ति, उच्च सीप चाहिने पेसा र कृषि क्षेत्रभन्दा बाहेकका औद्योगिक क्षेत्रमा काम गर्ने व्यक्तिको वित्तीय साक्षरता तुलनात्मक रूपमा धेरै रहेको देखिएको छ । वित्तीय सारक्षता बढाउन कृषिमा संलग्न व्यक्तिहरूलाई पनि ध्यान दिन आवश्यक रहेको प्रतिवेदनले उल्लेख छ । नेपाल राष्ट्र बैंकले २०७८ पुसमा सर्वेक्षणका लागि विवरण संकलन गरेको थियो । अध्ययनका लागि देशभरिबाट १८ वर्ष माथिका कूल नौ हजार तीन सय ६१ नेपाली नागरिकहरूलाई छनोट गरिएको थियो ।
प्रकाशित मितिः ९ पुष २०७९, शनिबार ०५:०१
साझा बिसौनी ।