आचारसंहिता पालनामा जोड
सुर्खेत: राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकारिता आचारसंहिताको पालना र यसमा देखिएका समस्या समाधानको पहल गर्नु आवश्यक रहेको बताएकी छिन् । नेपाल पत्रकार महासंघको वीरेन्द्रनगरमा जारी केन्द्रीय साधारण सभालाई शुक्रवार सम्बोधन गर्दै उनले पत्रकारहरूले पेसागत मर्यादा र व्यावसायिकताका लागि आचारसंहितामा ध्यान दिनुपर्ने बताएकी हुन् ।
राष्ट्रपति भण्डारीले सूचनाको हक लोकतन्त्रको अर्को सुन्दर पक्ष भएको बताइन् । पछिल्लो समय सामाजिक सञ्जालले पत्रकारिता क्षेत्रलाई ओझेल पारेको बताएकी उनले डिजिटल मिडियाको प्रभावसमेत पत्रकारितामा परेको औल्याइन् । ‘प्रविधिले ल्याएको परिर्वतनलाई नराम्रो भन्न मिल्दैन,’ उनले भनिन्, ‘तर, सबैले आ–आफ्नो पेसागत आचारसंहिताको ख्याल गर्नुपर्ने हुन्छ ।’
महासंघले पत्रकारको हकहित र राज्यको दायित्वका विषयमा सहजीकरण गर्ने विश्वास पनि आफूले लिएको उनको भनाइ छ । महासंघको साधारण सभामा शुभकामना दिन कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनहादुर शाही, नेकपा ‐एमाले) का महासचिव शंकर पोखरेल, नेकपा ‐माओवादी केन्द्र) का नेता कृष्णबहादुर महरालगायतको उपस्थिति रहेको थियो । शुक्रवार उद्घाटन भएको साधारणसभा आज सम्पन्न हुने जनाइएको छ ।
प्रकाशित मितिः ९ पुष २०७९, शनिबार ०५:०२
साझा बिसौनी ।