विमानस्थल र ठूला जहाज

सुर्खेतमा यही पुस १ गतेदेखि बुद्ध एयरको एटिआर–७२ जहाज न्यूनतम् भाडादर सात हजार रूपैयाँ तोकेर काठमाडौ–सुर्खेत, सुर्खेत–काठमाडौं नियमित उडान गरिरहेको छ, जो सबैका लागि खुसीको खबर हो । विमानस्थल अपुग भएको कारण एटिआर–७२ जहाजबाट सुविधा पाउन नसकि कर्णाली क्षेत्रका बासिन्दा मर्कामा परेका हुँदा विमानस्थल विस्तार गरेर विकासको साध्य लडाइन्छ भन्ने ढंगले यही जहाजको नाम भजाउँदै यसै जहाजका लागि विमानस्थल विस्तार गर्न भनी कर्णाली प्रदेश सरकार हात धोएर लागेको थियो । यहीबीचमा सञ्चालनमै रहेको वीरेन्द्रनगरको विमानस्थललाई केही फराकिलो पारी सेवा सुविधा सम्पन्न बनाउन केही भौगोलिक कठिनाइ भएर नै होला भेरीगंगा अन्तर्गतको मदानेचौरमा अर्को विमानस्थलको अवधारणा आएको थियो । केही वर्षसम्म सम्भाव्यता अध्ययन तथा विस्तृत आयोजना प्रतिवेदनमा ठूलो सरकारी रकम खर्च भइरहेको व्यहोरा पनि सञ्चारमाध्यमबाट बराबर आइरहेको थियो । मदानेचौरमा सुविधा सप्पन्न विमानस्थल बन्न सक्ने वा बन्न नसक्ने कुराको ठोस एकिन भइ नसकेको अवस्थामा कर्णाली प्रदेश सरकारले केन्द्रीय सरकारसँग सम्झौता गरी एकाएक करिब तीस बिगाहा जग्गा अधिग्रहण गरी विमानस्थल विस्तार गर्ने दुस्साहस गरेर, स्थानीय बासिन्दाको निन्द्रा खोस्यो ।

सुर्खेतमा विमानस्थल विस्तारको प्रक्रिया जायज होइन र यसको कुनै कतै औचित्य छैन भन्ने ढंगबाट केही तथ्यगत लेख र विचारहरू सामाजिक सञ्जाल र छापामा समेत यस अगाडि पनि प्रकाशन भइरहेका छन् । अघिल्ला लेखहरूमा छुटेका केही कुरा र हाम्रो दृढ विश्वासलाई पछिल्लो समयले सत्य सावित गरी खोलिदिएको घटनाक्रम सविस्तार गर्न र सर्वसाधारणलाई समेत यथार्थ जानकारी गराउनका लागि यो विषय फेरि मसिनोसँग केलाउन जरुरी देखियो ।

अधिग्रहण गर्ने उद्देश्यले जग्गा चारकिल्ला तोकेर रोक्का राखि विमानस्थल विस्तारको प्रक्रिया एकाएक अगाडि बढेपछि प्रथमतः हाम्रो ज्ञानको मन्दिर अमरज्योतिलाई जोगाउने हेतुले नागरिक सरोकार समिति गठन भयो । सरोकार समितिले विभिन्न निकायमा ज्ञापनपत्र बुझाउने लगायतका गतिविधि गरिरहेको अवस्थामा श्रीएयरको ८० सीट क्षमताको जहाजले सफलतापूर्वक परीक्षण उडान सम्पन्न ग¥यो । अब केही प्रशासनिक प्रक्रिया पु¥याइ छिट्टै आफ्नो उडान नियमित गर्ने अभिव्यक्ति दिए पनि श्रीएयरको जहाज सुर्खेतमा आएन । तथापि सुर्खेतमा विमानस्थल विस्तारको अर्थ छैन भन्ने कुरा त्यो परीक्षण उडानले पुष्टि गरिदिएको थियो । अब विमानस्थल विस्तारको लठारो सदाका लागि अन्त्य हुनुपर्छ भनेर हामीले भन्दै गर्दा जहाजको कम्पनी फरक परेकोले श्रीएयरको उक्त जहाज बसे पनि एटिआरको ७२ सीटको जहाज बस्न सक्दैन, त्यसकारणले पो विमानस्थल विस्तार गर्नु जरुरी छ भन्ने ढंगको हास्यास्पद कुतर्क पनि बजारमा आए । भूगोल अनुसार विमानस्थल निर्माण हुनुपर्नेमा जहाजको कम्पनी अनुसार विमानस्थल निर्माण हुनुपर्छ भन्ने मान्यतालाई सायद कसैले जायज भन्न सक्दैन । श्रीएयरले परीक्षण उडान गरिरहँदा एटिआर–७२ बुद्धको जहाजले त्यतिबेला किन गरेन र आम निर्वाचनको छेको पारेर पछिल्लो पटक मात्र किन ग¥यो भन्ने विषयमा पनि दुषित राजनीतिको नमिठो गन्ध आउँछ । आखिर विमानस्थल अपुग भएर नबसेको त होइन रहेछ नि ।

प्राविधिकको पनि केही चर्चा गरौँ । विमानस्थल विस्तारका लागि संघीय सरकारसँग कर्णाली प्रदेश सरकारले २०७७ साल असोज १५ गते द्विपक्षीय सम्झौता गरे पछि यथार्थ र वास्तविकता बुझ्न अमरज्योति माध्यमिक विद्यालय नेवारेमा स्थानीय र नागरिक उड्डयन कार्यालय सुर्खेतका प्राविधिक कर्मचारी बीचमा अनौपचारिक छलफल भयो । प्राविधिक दृष्टिकोणले विमानस्थल विस्तार गर्नुको औचित्य छैन, विकल्पमा १० वर्षपछि अर्को विमानस्थल नबनाइ हुँदैन भन्ने किसिमको व्यहोरा आयो । विद्यालय र स्थानीयसँग कुनै समन्वय नगरी २०७७ पुस ९ गते प्रशासनिक कार्य अगाडि बढ्न थालेपछि त्यसैदिन गठन भएको नागरिक सरोकार समितिले १० पुसमा नागरिक उड्डयन कार्यालयका प्राविधिक कर्मचारीलाई ज्ञापन पत्र बुझाउँदै, विमानस्थल विस्तारको औचित्य छैन भनी सुरुमा बोलेका कुरा यथावत दोहो¥याइ दिन मौखिक आग्रह अनुरोध गर्दा, त्यस्तो भाषा बोलेको होइन छैन भनी बोली फेरेबाट वा तर्किन खोजेबाट दालमा अवश्य केही कालो रहेछ भन्ने संशय पैदा भएको थियो ।

स्थानीयवासीले विगतमा पटक–पटक विमानस्थल विस्तार गर्न दिएको र अब पछिल्लो पटक कुनै सर्तमा नदिने भनी रोक्का जग्गा फुकुवा गरीमाग्न सरोकार समिति तातिरहेको अवस्थामा केन्द्रबाट प्राविधिक टोली आयो । मुख्यमन्त्रीको कार्यालयमा प्राविधिकले फ्लासबोर्डमा नक्सा फिंजाए नापे, धेरै कुरा बोले । विमानस्थल विस्तार भएमा ५० वर्षसम्मका लागि पुग्छ पनि भने । यसै बीचमा कर्णाली प्रदेश सरकारको नेतृत्व फेरबदल भयो । नागरिक सरोकार समितिलाई पूर्ण रूपमा उपेक्षा गरी नयाँ नेतृत्वले २०७८ फागुन ६ गते केही जग्गा धनीलाई उचालेर सहमति गराइ छोड्यो । फेरि २०८७ फागुन २२ गतेका दिन नाम मात्रको परिणाममुखी छलफल चलाएर प्रभावित जनताको माग र अमरज्योति माविको पठनपाठनमा समेत प्रभाव पर्ने कुरालाई मनन गरी, अब अन्यत्र वैकल्पिक विमानस्थल निर्माणका लागि आवश्यक पहल गर्ने भनी मुख्यमन्त्रीबाट सार्वजनिक अभिव्यक्ति आयो । विगतका अनेकन गतिविधि नियाल्दा स्वविवेकले भन्दा पनि कोही कसैले दैलो देखाएका कारण त्यस्तो अभिव्यक्ति आएको हो भनी बुझ्न कुनै कठिन पर्दैन ।

त्यही परिणाममुखी छलफल कार्यक्रममा नागरिक उड्डयन कार्यालयका प्राविधिक कर्मचारीको पनि उपस्थिति थियो । सुर्खेत विमानस्थल विस्तारका लागि साढे नौ अर्ब रकम खर्च हुने र आठ वर्ष समय अवधि लाग्ने कुरा प्रतिवेदनमा उल्लेख छ भनी प्राविधिकबाट पनि त्यस किसिमको अभिव्यक्ति आयो । उही विमानस्थल विस्तार गर्ने कार्यका लागि पहिलो, दोस्रो र तेस्रो चरणमा प्राविधिकको फरक–फरक धारणा र प्रतिवेदनका कुरा आएपछि जनताको मनमा अवश्य पनि विश्वास कमजोर हुँदै जान्छ । प्राविधिकलाई पनि कतैबाट प्रभावमा पारिएको रहेछ भन्ने स्वतः सिद्ध हुन्छ ।

विमानस्थल विस्तारको कार्य एक ढंगले स्थगित भएपछि यसलाई तुरुन्त विफल पार्न स्वार्थी झुन्ड निकै सलबलायो । तर वैशाखमा हुने स्थानीयस्तरको चुनावमा देश रुमलिएपछि यो विषय ओझेलमा पर्दै गयो । २०७९ जेठ ९ गते संघीय सरकारको मन्त्रीपरिषद्ले रामघाट विमानस्थलका लागि सैद्धान्तिक स्वीकृत पारित ग¥यो । २०७९ जेठ १५ गतेको बजेट वक्तव्यमा रामघाटको उक्त विमानस्थललाई सम्बोधन गरियो । भेरी किनारमा कुइरो लाग्छ पहिरो जान्छ खाल्डा पुर्नुपर्छ खर्च हुन्छ भनेर जतिसुकै बेइमानी कुरा गरे पनि विमानस्थल निर्माणका लागि मदानेचौरको सम्भावना जिवित नै रहेछ भन्ने कुरा प्रष्ट देखिन्छ ।

हामीले विमानस्थल विस्तार गर्ने कुराको निरन्तर विरोध गरेपछि यसको वास्तविकता बुझ्न नपाएका पाठकको मनमा विकास विरोधी नै पो हुन कि भन्ने किसिमको भ्रम पर्नु पनि अस्वभाविक होइन । ८० सीट क्षमताको श्रीएयरको जहाज सफलता पूर्वक अवतरण गरेपछि आन्तरिक उडानका सबै ठूला जहाजले उडान भर्न सक्छन् भन्ने बलियो विश्वास थियो मनमा, तर मनको विश्वास उघारेर देखाउन मिल्दैनथ्यो । नभन्दै एटीआर ७२ को बुद्ध एयरको जहाजले चुनावको निकटमा परीक्षण उडान गरेपछि हाल नियमित उडान सञ्चालन गरिरहेको छ । ठूला जहाज बस्न सक्छन् सक्दैनन्, विमानस्थल प्रयाप्त छ छैन त्यतातिर थोरै विचार नगरी विवेकै नराखी यसरी हचुवाको भरमा विमानस्थल मात्र विस्तार गर्न तम्सनुको औचित्य के थियो ? यो अहम् प्रश्न छ, तर ठूला जहाज उडानको जस लिन तँछाडमछाड छन् यो खेलोखापोमा रमाउने स्वार्थपतिहरू । विमानस्थल विस्तारको पटक्कै औचित्य छैन भनी हामीले नियमित भन्दै आएको कुरालाई आज समयले सत्य सावित गरिदिएको छ । अब विमानस्थल विस्तारका कपटपूर्ण कुरा सदाका लागि अन्त्य हुनुपर्छ । विमानस्थल विस्तारका नाममा दुरूपयोग हुन लागेको साढे नौ अर्ब रूपैयाँ नेपालगञ्ज–सुर्खेत चारलेनको सडक विस्तार गर्नमा खर्च गरियोस् । बर्दिया भुरिगाउँबाट तेलपानी हुँदै सुर्खेतसम्म जोड्ने सडकमा सदुपयोग गरियोस् तब त्यो सफलीभूत हुनेछ । तब पो विकासको अनुभूत हुनेछ ।

– उमालाल आचार्य

प्रकाशित मितिः   ९ पुष २०७९, शनिबार ०५:०४