निर्वाचनबाट संसदीय दलको नेता छान्दै कांग्रेस
सुर्खेत: कर्णालीमा नेपाली कांग्रेस संसदीय दलको निर्वाचन शनिवार हुने भएको छ । संसदीय दलको नेता चयनका लागि कांग्रेसले निर्वाचन गर्न लागेको हो । संसदीय दलको चुनावका लागि बनेको निर्वाचन समितिले बिहीवार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
दलको नेताको उम्मेदवार बन्न २५ हजार शुल्क निर्धारण गरिएको छ । निर्वाचन समितिका संयोजक कृष्णबहादुर रोकायलले शनिवार बिहान ९ देखि ११ बजेसम्म मतदान गर्ने कार्यतालिका रहेको जनाए । कार्यसूचीअनुसार शुक्रवार ८ गते बिहान ८ बजे मतदाता नामावली प्रकाशन गरिनेछ । त्यस्तै, सोहीदिन दिउँसो १२ बजेसम्म दाबी विरोध उपर जाँचबुझ गरी अन्तिम नामावली प्रकाशन हुनेछ । शुक्रवार दिउँसो ३ः३० बजे उम्मेदवारका लागि दरखास्त दिने कार्यतालिका रहेको छ उम्मेदवारको नाम फिर्ता लिने समय बेलुका साढे पाँच बजे निर्धारण गरिएको छ । शुक्रवार बेलुकी ८ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने शनिवार मतदान र मतगणना हुनेछ । कर्णालीमा संसदीय दलको लागि बहालवाला मुख्यमन्त्री जीवनबहादुर शाही र राजीवविक्रम शाहबीच प्रतिस्पर्धा हुने बुझिएको छ । यी दुवै नेता कांग्रेसभित्र संस्थापन पक्षका रूपमा चिनिन्छन् ।
यसैबीच, कांग्रेसले कर्णालीमा वर्तमान गठबन्धन कायम राखी आफ्नै नेतृत्वमा सरकार गठनको प्रयास गर्ने निर्णय गरेको छ । कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले कर्णालीमा पहिलो चरणमा आफ्नै नेतृत्वमा सरकार गठन गर्ने पहल थाल्ने निर्णय गरेको हो । बिहीवार कांग्रेस कर्णाली प्रदेश कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको जनाइएको छ । प्रदेश सभापति ललितजंग शाहीको सभापतित्वमा बसेको बैठकले कर्णाली प्रदेश सरकार गठन सम्बन्धमा, वर्तमान गठबन्धनलाई कायम रहने गरी कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय भएको प्रवक्ता दमन शाहीले जनाए । कर्णाली प्रदेशसभामा १४ सीटसहित कांग्रेस पहिलो पार्टी बनेको छ ।
प्रकाशित मितिः ८ पुष २०७९, शुक्रबार ०५:०२
साझा बिसौनी ।