सेनेटरी प्याड मेसिन प्रयोगविहीन

सुर्खेत: विद्यालयमा छात्राहरूको सहजताका लागि जडान गरिएका सेनटरी प्याड मेसिन प्रयोगविहीन भएका छन् । विद्युतबाट चल्ने मेसिन भोल्टेजको समस्या र प्रयोग गर्ने तरिका थाहा नहुँदा त्यत्तिकै थन्किएका हुन् । वीरेन्द्रनगर–१२ नेवारेस्थित अमरज्योति नमूना माध्यमिक विद्यालयमा सेनेटरी प्याड निकाल्ने र डिस्पोज गर्ने मेसिनहरू प्रयोगमा आएका छैनन् । उक्त विद्यालयमा दुई वर्षअघि अनौपचारिक सेवा केन्द्र ‐इन्सेक)ले दुई वटा मेसिन उपलब्ध गराएको थियो । विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापाले मेसिन दिइए पनि प्रयोग गर्ने विधिबारे जानकारी नगराइएको बताए । मेसिन जडान गरेको लामो समय भइसक्दा पनि प्रयोगमा नआउँदा छात्राहरूलाई महिनावारीका बेला असहज हुने गरेको छ । यो विद्यालयमा छात्राहरूले प्रयोग गरेका प्याड विसर्जनको पनि उस्तै समस्या छ । सोही विद्यालयको कक्षा ११ मा अध्ययनरत छात्रा गंगा रावतले प्रयोगपछि प्याड विसर्जन गर्ने उपयुुक्त स्थान नहुँदा निकै सकस हुने गरेको बताइन् । उनी भन्छिन्, ‘शौचालयका डस्टबीनमा राख्दा दुर्गन्ध फैलिन्छ, विसर्जनका गर्नका लागि उपयुक्त स्थान नै छैन ।’

अम्मर ज्योतिमा एक लाखभन्दा बढीमा खरिद गरिएका दुई वटा मेसिन विगत दुई वर्षदेखि बेकामे बनेका छन् । विद्यालयमा सेनेटरी प्याडको समेत समस्या भइरहने गरेको बताइएको छ । यहाँ महिनावारी हुने उम्मेर समूहका छात्रा संख्याभन्दा कम मात्र सेनेटरी प्याड उपलब्ध हुने गरेको छ । विद्यालयलाई स्थानीय तहले सेनेटरी प्याड दिँदै आए पनि पर्याप्त मात्रामा उपलब्ध नभएको जनाइएको छ । इन्सेकले वीरेन्द्रनगर–१० बेलघारीको मदरसा मदीना माध्यमिक विद्यालयलाई पनि सेनेटरी प्याड निकाल्ने दुई वटा मेसिन सहयोग गरेको थियो । यो विद्यालयमा पनि मेसिन प्रयोगमा छैनन् । इन्सेकले प्रति मेसिन तीस हजारका दरले खरिद गरी दुुई वटा विद्यालयमा वितरण गरेको थियो । इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले मेसिन प्रयोग विधिसहित उपलब्ध गराइएको दाबी गर्दै बिग्रिएमा मर्मत गरेर सञ्चालन गर्न सकिने बताए ।

वीरेन्द्रनगर–१ मा रहेको त्रिपुरेश्वर माध्यामिक विद्यालयमा केही दिनदेखि सेनेटरी प्याडको अभाव छ । उक्त विद्यालयमा पनि विर्सजन गर्ने मेसिन र छात्राका लागि शौचालय अभाव रहेको जनाइएको छ । विद्यालयका प्रधानाध्यापक रुद्रबहादुर खत्रीले सेनेटरी प्याड नहुँदा छात्राहरूले समस्या भएको जनाए । ‘केही दिन यतादेखि विद्यालयमा सेनेटरी प्याड छैन, नगरपालिकासँग माग गरिएको छ,’ उनले भने । विद्यालयहरूमा सेनेटरी प्याडको अभाव तथा प्याड निकाल्ने र डिस्पोज गर्ने मेसिन प्रयोगविहीन हुँदा सुरक्षित महिनावारी प्रवद्र्धनमा समस्या हुने गरेको छ ।

प्रकाशित मितिः   ८ पुष २०७९, शुक्रबार ०५:०१