प्रदेशसभा सदस्यहरूको शपथ पुस ११ गते

सुर्खेत: कर्णाली प्रदेशसभाका नवनिर्वाचित सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण पुस ११ गते ‐सोमवार) हुने भएको छ । प्रदेशसभा सचिवालयले बिहीवार सूचना प्रकाशन गरेर शपथ समारोह ११ गते दिउँसो तीन बजे प्रदेशसभा सचिवालयमा हुने जनाएको हो । प्रदेशसभा सदस्यमा निर्वाचित ज्येष्ठ सदस्य विनोदकुमार शाहले अन्य सदस्यहरूको सपथ ग्रहण गराउनेछन् । शाहलाई प्रदेश प्रमुख तिलक परियारले सोमवार बिहान साढे ११ बजे पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ । सोही दिन दिउँसो प्रदेशसभा सचिवालयमा ज्येष्ठ सदस्य शाहले अन्य ३९ जना सांसदलाई शपथ गराउने छन् ।

शपथ ग्रहण कार्यक्रम आउँदा निर्वाचन आयोगबाट प्राप्त प्रदेशसभा सदस्यको प्रमाण–पत्र, नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि र दुई प्रति फोटो पनि बोकेर आउन भनिएको छ । त्यसका साथै राष्ट्रिय पोशाक वा आआफ्नो सांस्कृतिक पहिचान झल्कले पोशाकमा उपस्थित हुन सूचनामा उल्लेख छ । प्रदेशसभा सदस्यहरूलाई निर्धारित समयभन्दा दुई घण्टा अगाडिदेखि नै उपस्थित हुन भनिएको छ । कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहे गराउन पाउने छन् । प्रदेशसभा सचिवालयले मातृभाषामा शपथ लिन चाहने सदस्यहरूले शपथको व्यहोरा आफ्नो मातृ भाषामा अनुवाद गरेर प्रदेशसभा सचिवालयमा उपलब्ध गराउन अनुरोध गरेको छ । मंसिर ४ गते प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएको थियो । कर्णाली प्रदेशसभामा ४० जना प्रदेशसभा सदस्य रहेका छन् । २४ जना प्रत्यक्ष र १६ जना समानुपातिक प्रणालीबाट निर्वाचित भएका हुन् ।

यसैबीच, प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले बिहीवार सपथ लिएका छन् । ज्येष्ठ सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपतिशमशेर जबराले सांसदहरूलाई शपथ खुवाएका हुन् । प्रतिनिधिसभामा दुई ७५ जना सांसद छन् । तर, बिहीवारको शपथ समारोहमा १७ जना सांसद अनुपस्थित रहेका थिए । सांसदका रूपमा कामकारबाही गर्नुभन्दा पहिले शपथ लिनुपर्ने व्यवस्था संविधानमा छ ।

प्रकाशित मितिः   ८ पुष २०७९, शुक्रबार ०५:०२