मध्यपश्चिममा १० हजार ४ सय हेक्टर वन अतिक्रमण

जिल्ला वन कार्यालय सुर्खेतको निरन्तर प्रयासपछि मैनतडाको लामाखालीमा अतिक्रमित जग्गा खाली गराइयो । आवादी जोडिएका र छिमेकी जिल्ला जाजरकोटबाट झरेकाहरूले वन क्षेत्रमा टहरा हालेर बसोबास गर्दै आएका थिए । जिल्ला वनले अहिले त्यहाँको करिब १४ हेक्टर वनक्षेत्रलाई अतिक्रमणमुक्त पारी तारबार लगाएको छ ।

जिल्लाको कुल ७१ प्रतिशत वनक्षेत्रमध्ये ६ सय हेक्टर अझै अतिक्रमणको चपेटामा छ । कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद शर्मा बाढीपीडित, भूमिहीन र बसाइँसराइ गर्नेहरूले वन क्षेत्र अतिक्रमण गरेको बताउँछन् । उनका अनुसार बाढीपीडित २ सय ८ घरधुरीले ८५ हेक्टर, जग्गाविहीन ५ सय ७७ घरधुरीले २ सय ९३, १९ संघसंस्थाले ११ र अन्य प्रयोजनका लागि २ सय ८ हेक्टर वनक्षेत्र ओगटिएको छ । ‘चालू आवमा अतिक्रमितमध्ये ५ हेक्टर हटाउने योजना छ,’ शर्माले भने, ‘बाढीपहिरो विस्थापित तथा संस्थागत रूपमा अतिक्रमण गर्नेलाई हटाउन लागिपरेका छौं ।’ सुर्खेतमा मात्र होइन तराई र मध्यपहाडी जिल्लामा पनि अतिक्रमणको समस्या उस्तै छ ।

मध्यपहाडी जिल्ला दैलेख, जाजरकोट र सल्यानमा वन अतिक्रमण तीव्र रहे पनि हटाउन प्रभावकारी अभियान चलाइएको छैन । यसले गर्दा बर्सेनि अतिक्रमण बढदो छ । मध्यपश्चिम क्षेत्रीय वन निर्देशनालयका अनुसार कर्णालीमा वन अतिक्रमण अति न्यून छ । दैलेख, जाजरकोट, सल्यान, दाङ, बाँकेको वन संरक्षित क्षेत्र बढी अतिक्रमित छन् । निर्देशनालयका निमित्त प्रमुख अनिरुद्र ठाकुरले वनक्षेत्रसँग आवादी जोडिएर बसेका, सुकुम्बासी, मुक्त कमैया, बाढीपहिरो विस्थापितले अतिक्रमण गरेको बताए । विद्युत् प्रसारण लाइन, विद्यालयका लागि जग्गा, सैनिक प्रहरी गण, नगर विकास समिति, पाटीपौवा आदि निर्माण तथा व्यवस्थापनका लागि समेत ठूलो परिमाणमा वनक्षेत्र अतिक्रमण हुने गरेको उनको भनाइ छ ।

मध्यपश्चिममा १० हजार ४ सय २३ हेक्टर वन क्षेत्र अझै अतिक्रमणमा छ । निर्देशनालयका अनुसार सबैभन्दा बढी दाङमा २४ सय ८४ हेक्टर वन क्षेत्र अतिक्रमित छ । सल्यान १८ सय ४४, बाँके १५ सय २९, दैलेख १ सय ७, जाजरकोट ९ सय २१ हेक्टर वन क्षेत्र अझै अतिक्रमणमा छ । बर्दिया ३ सय २०, डोल्पा ५ सय १३, प्यूठान १८, रुकुम २ सय १८, रोल्पा ३ सय ८२, कालिकोट ५५ हेक्टर अतिक्रमित छ । संरक्षित क्षेत्रमध्ये कृष्णसारमा १४ हेक्टर, बाँके राष्ट्रिय निकुञ्जमा ९ सय २९, बर्दिया राष्ट्रिय निकुञ्जमा ५ सय ८ हेक्टर अतिक्रमण हटाउन बाँकी छ । हुम्ला जिल्ला वनअन्तर्गतको वन क्षेत्र, मुगुको रारा र डोल्पाको सेफोक्सुन्डो निकुञ्ज अतिक्रमणबाट जोगिएका छन् । त्यहाँ अतिक्रमणको समस्या छैन । निर्देशनालयले गत आवमा ४ सय ५४ हेक्टर अतिक्रमण हटाइएको जनायो ।

इकान्तिपुरबाट

प्रकाशित मितिः   २४ पुष २०७३, आईतवार १३:२६