योजना तर्जुमा गोष्ठी

साझा बिसौनी संवाददाता
सुर्खेत, ८ फागुन ।
मध्यपश्चिमाञ्चल विश्व–विद्यालय, व्यवस्थापन सङ्कायले २० वर्षे रणनीतिक योजना निर्माणका लागि शनिवार सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि मध्यपश्चिमाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. नवराज कणेलले विश्वविद्यालयलाई अध्ययन, अध्यापन र अनुसन्धानको केन्द्र बनाउँदै विश्वविद्यालयका कार्यक्रमहरूलाई विशिष्टीकरण गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा उपयोगी जनशक्ति उत्पादन गर्न नसके विश्वविद्यालयहरू बेरोजगारको ब्रिगेड बन्न सक्ने खतरातर्फ सङ्केत गर्दै सो अनुरूपको योजना निर्माण गर्नु अनिवार्य भइसकेको दाबी गरे । 
मध्यपश्चिमाञ्चल  विश्व–विद्यालय सेवा आयोगका सदस्य प्रा.डा. श्रीराम उपाध्यायले विश्व–विद्यालयले अनुसन्धानमा आधारित शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए । व्यवस्थापन सङ्कायका डीन डा. मस्तबहादुर गरंजाले दीर्घकालीन लक्ष्य प्राप्तीको लागि योजना अनिवार्य भएको बताए । मुसुमका कार्यक्रम निर्देशक डा. नारायण प्रसाद पौडेलले व्यवस्थापन सङ्कायको तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै विश्वविद्यालयका जनशक्तिको पेसागत उन्नयन र विकासका लागि एमफिल, पीएचडी  लगायतका कार्यक्रममा अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए । उनले आगामी वर्षसम्म बाँके, जुम्ला, विराटनगर र काठमाडौंमा व्यवस्थापन सङ्कायका कार्यक्रमहरू विस्तार गर्ने सोच बनाउनुपर्ने बताए । 
योजना अनुगमन तथा विकास निर्देशनालयका कार्यकारी निर्देशक प्रा. हिरण्यप्रसाद गौतमले विश्वविद्यालयको २० वर्षे रणनीति एक दूरदृष्टि भएको बताउँदै प्रत्येक पाँच वर्षको कार्ययोजना अन्तर्गत कार्यक्रमको कार्यन्वयन गरिँदै लैजाने दाबी गरे । अन्तरक्रिया कार्यक्रममा व्यवस्थान सङ्कायका पूर्व डीन डा. दीपबहादुर रावल, प्राध्यापक संघका सभापति अमरबहादुर रोकाय, २० वर्षे रणनीतिक योजना मस्यौदा समितिका सदस्य सचिव डा. सुशील शाही, उद्यमी पुरणप्रसाद  रिजाल लगायतकाले रणनीतिक योजनाका बारेमा सुझाव दिएको विश्वविद्यालयक सूचना अधिकारी विष्णुकुमार खड्काले जानकारी दिए ।
प्रकाशित मितिः   ९ फाल्गुन २०७२, आईतवार १२:५२