संघको ३२ औं साधारणसभा, सुर्खेत लगानी वर्ष मनाउने तयारी

सझा बिसौनी संवाददाता
सुर्खेत, ८ फागुन ।
सुर्खेत उद्योग वाणिज्य संघले आउँदो वर्षलाई लगानी वर्षको रूपमा मनाउने तयारी गरेको छ । संघले आफ्नो ३२ औं वार्षिक साधारणसभाको अवसरमा आउँदो नयाँ वर्ष २०७३ लाई सुर्खेत लगानी वर्षको रूपमा मनाउने तयारी भइरहेको जानकारी दिएको हो । अध्यक्ष प्रकाश अधिकारीले जिल्लाको पर्यटन, जलविद्युत र कृषिको विकासका लागि २०७३ साललाई आफूहरूले लगानी वर्षको रूपमा मनाउन लागेको बताए ।
वीरेन्द्रनगरमा शनिवार सम्पन्न संघको ३२ औं साधारणसभाको अवसरमा जिल्लाको आर्थिक विकास र समृद्धिका लागि भन्दै लगानी वर्षको योजनाबारे जानकारी दिइएको हो । प्रस्तावित प्रदेश नं. ६ को राजधानीको समेत सम्भावना बोकेको सुर्खेतको आर्थिक विकासका लागि आफूहरूले आउँदो वर्षलाई लगानी वर्षको रूपमा मनाउने निर्णय गरेको सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले बताए । उनका अनुसार लगानी वर्षमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई जिल्लामा लगानी गर्नका लागि आकर्षित गरिनेछ । मुख्यगरी कृषि, पर्यटन र जलविद्युत क्षेत्रमा लगानी गर्न लगानीकर्ताहरू इच्छुक रहेको भन्दै अधिकारीले यसले यस क्षेत्रको आर्थिक विकासले नयाँ फड्को मार्ने दाबी समेत गरे ।
लगानी वर्षको तयारी भएसँगै राजनीतिक अस्थिरता, लामो नाकाबन्दी र भूकम्पका कारण थिलोथिलो भएको सुर्खेत लगायत समग्र मध्यपश्चिम क्षेत्रको आर्थिक विकासमा नयाँ तरङ्ग आउने अपेक्षा गरिएको छ । जिल्लामा प्रशस्त सम्भावनाहरू भए पनि लगानीका लागि सुरक्षित वातावरण नहुँदा अर्थतन्त्र नै धरासायी बनेको अवस्थामा अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले समेत सुर्खेतमा लगानी गर्ने संघले जनाएको छ । संघका अनुसार विशेषगरी यहाँको जलविद्युत र पर्यटनको क्षेत्रमा अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले चासो देखाएका छन् । संघले लगानी वर्षको तयारी गरिरहँदा यहाँका व्यवसायीहरूले आर्थिक विकासका लागि पूर्वाधारको विकासमा समेत जोड दिएका छन् । उनीहरूले सुर्खेत विमानस्थलको विस्तार, सुर्खेतदेखि नेपालगन्जसम्मको रत्न राजमार्गको विस्तार र १३२ केभीए विद्युत प्रशारण लाइन तत्काल विस्तार गर्न सरकारसँग माग गरेका छन् । यसका लागि संघले संस्थागत रूपमा समेत सरोकारवालाहरूसँग समन्वय गर्ने भएको छ । 
साधारणसभाको अवसरमा नै संघले जिल्लाको आर्थिक विकासका लागि विभिन्न अल्पकालीन तथा दीर्घकालीन योजनाहरू समेत अगाडि सारेको छ । संघले जिल्लामा रहेका चौकुने र लखरपाटा सिमेन्ट उद्योग सञ्चालनका लागि पहल गर्ने, जिल्लाको तीन वटै निर्वाचन क्षेत्रमा नमुना गाउँ अन्तर्गत ‘एक गाउँ, एक उत्पादन’ को कार्यक्रम लागू गर्ने, व्यवसायीको सुरक्षाको लागि वीरेन्द्रनगरमा सौर्यवत्ती र सीसी क्यामेरा जडान गर्ने, आर्थिक क्षति भोगेका व्यवसायीहरूका लागि व्यवसायी अक्षयकोषको स्थापना गर्ने, जिल्लामा अघिल्लो वर्षको बाढीका कारण घरबारविहीन भएर बेरोजगार बनेका युवाहरूलाई रोजगार तथा सीप प्रदान गर्ने, वीरेन्द्रनगर औद्योगिक क्षेत्रको स्तरोन्नतिको लागि पहल थाल्ने र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न कोशेली गृहको स्थापना गर्ने योजना सुर्खेत उद्योग वाणिज्य संघले बनाएको छ । यस्तै साधारणसभामा संघका अध्यक्ष अधिकारीले जिल्लाको दिगो आर्थिक विकासका लागि सुर्खेतमा क्षेत्रीय स्तरका प्रदर्शनी स्थलको निर्माण कार्य सुरु गर्ने, रत्न राजमार्गको स्तरोन्नतिका लागि पहल गर्ने, विशेष आर्थिक क्षेत्र स्थापनाका लागि समन्वय गर्ने र पर्यटन क्षेत्रको विकासका लागि गुरुयोजना बनाउने जानकारी दिए ।
यसैबीच साधारणसभाको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष किशोरकुमार प्रधानले लगानीका लागि राज्यले सुरक्षाको प्रत्याभूति दिनुपर्नेमा जोड दिए । उनले भने, ‘हामी लगानी गर्न र भिœयाउन तयार छौं, तर राज्यले हामीमाथि अन्याय गरेको छ । लगानी गर्छौं भन्दा पनि हामीले सुरक्षा पाएका छैनौं, अब हामीले कहिलेसम्म डराएरै व्यवसाय गर्ने ?’ उनले आफूहरू आर्थिक विकासका लागि राज्यसँग मिलेर जान तयार रहेको भन्दै लगानीको वातावरण बनाउन आग्रह गरे । 
यस्तै महासंघका केन्द्रीय सदस्यहरू निरक केसी, टेकबहादुर भण्डारी, मध्यपश्चिम क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष पदमबहादुर शाही, मप क्षेत्रीय प्रशासन कार्यालयका उप–प्रशासक नारायण सापकोटा, मप विश्वविद्यालयका रजिस्ट्रार डा. महेन्द्रकुमार मल्ल, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतले जिल्लाको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महŒवपूर्ण रहेको बताए । साथै उनीहरूले सुर्खेत लगानी वर्षलाई सफल बनाउनका लागि सबैको सहयोग आवश्यक रहेकोमा समेत जोड दिए । सो अवसरमा महासचिव गोपालकृष्ण गिरीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष दीपेन्द्र ढकालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यसैबीच नेकपा एमाले, एकीकृत नेकपा माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल लगायतका विभिन्न दल निकट व्यवसायीहरूले सुर्खेत उद्योग वाणिज्य संघबाटै बाहिरिएको घोषणा गरेका छन् । संघ सम्पूर्ण व्यवसायीहरूको छाता सङ्गठन बन्न नसकेको र आफूहरूबीच भएको सहमति कार्यान्वयन नगरिएको भन्दै उनीहरूले संघबाटै बाहिरिने घोषणा गरी बन्दसत्रबाट बाहिरिएका थिए । 
यसअघि बिहीवार उद्योग वाणिज्य संघका पदाधिकारी र असन्तुष्ट व्यवसायीहरूबीच विधान संशोधन गर्ने, सदस्यता छानविनका लागि दुवैपक्षका प्रतिनिधि रहने गरी समिति गठन गर्ने लगायतका सहमति भएको थियो । उक्त सहमतिलाई साधारणसभामा प्रस्ताव लगि त्यहींबाटै निर्णय गर्ने सहमति भए पनि साधारणसभामा संघले उक्त सहमति कार्यान्वयन नगरेपछि असन्तुष्ट पक्षले संघबाटै बाहिरिने घोषणा गर्दै बन्दसत्र बहिष्कार गरेको थियो । 
उपाध्याय पुरस्कृत
समाचारका माध्यमबाट आर्थिक क्षेत्रमा महŒवपूर्ण योगदान पु¥याएको भन्दै सुर्खेत उद्योग वाणिज्य संघले नागरिक दैनिकका सुर्खेत संवाददाता नगेन्द्र उपाध्यायलाई पुरस्कृत गरेको छ । संघको ३२ औं वार्षिक साधारणसभाको अवसर पारेर शनिवार नगद ११ हजार एक सय ११ रूपैया“सहित नागरिककर्मी उपाध्यायलाई सम्मान गरिएको हो । 
नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष किशोरकुमार प्रधानको उपस्थितिमा मध्यपश्चिम क्षेत्रीय प्रशासन कार्यालयका निमित्त क्षेत्रीय प्रशासक नारायणप्रसाद सापकोटाले सम्मान गरे । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले जिल्लाको कृषि र उद्योगको क्षेत्रमा पत्रकारितामार्फत् पु¥याएको योगदानको मूल्याङ्कन गर्दै पुरस्कृत गरिएको बताए । संघले आर्थिक क्षेत्रमा कलम चलाउने एक जना क्रियाशील पत्रकारलाई यस वर्षदेखि पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । उपाध्याय हाम्रो अखबार दैनिक सुर्खेतका संस्थापक पनि हुन् ।
प्रकाशित मितिः   ९ फाल्गुन २०७२, आईतवार १२:५६