कुरीतिविरुद्ध जुटे किशोर–किशोरी
जुम्ला: जुम्लाका किशोेर–किशोरीहरू समाजमा रहेका कुरीति हटाउन एकजुट भएका छन् । बालविवाह, छाउ प्रथा, लैङ्गिक विभेद लगायतका कुरीति अन्त्यका लागि उनीहरू हातेमालो गर्दै एक ठाउँमा उभिएका हुन् । सामाजिक कुरीतिले बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्य तथा शिक्षामा असर गरेको किशोर किशोरीको ठहर छ । समृद्ध समाज निर्माणका लागि यहाँका किशोर–किशोरी कुरीति विरुद्धको अभियानमा जुटेका छन् । प्लान नेपालको आर्थिक सहयोग तथा आत्मसम्मानका लागि सहकार्य (क्याड) नेपालद्वारा सञ्चालित निर्णय र नेतृत्व परियोजनामार्फत सिंजा क्षेत्रका तीन वटा पालिकामा कुरीति विरुद्धका ४० वटा कक्षा सञ्चालन गरिएको छ । हिमा गाउँपालिका, सिंजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकाका १० वटा वडामा अभियान सञ्चालन भएको हो ।
अभियानले झन्डै एक हजार किशोर–किशोरीलाई कुरीति विरुद्ध सचेत बनाइएको दाबी गरिएको छ । निर्णय र नेतृत्व परियोजनाले सिंजा क्षेत्रका किशोर–किशोरीलाई बालविवाह न्यूनीकरण, यसका असर, छाउ प्रथा अन्त्य, लैङ्गिक हिंसा न्यूनीकरण, बालमैत्री नीति निर्माणका लागि पैरवी गर्ने लगायतका कामका लागि सचेतनामूलक कक्षा सञ्चालन गरेको हो । केही वर्ष पहिलासम्म सिंजा, हिमा र कनकासुन्दरीका ग्रामीण बस्तीमा कुरीतिको अवस्था भयावह भएकोमा पछिल्लो समय उल्लेखनीय सुधार आएको निर्णय र नेतृत्व परियोजनाको दाबी छ । क्याड नेपाल जुम्लाका फिल्ड सुपरभाइजर शेरबहादुर रोकायाले परियोजनाले लक्ष्यअनुसारको अपेक्षित उपलब्धि हासिल गरेको बताए । उनले कुरीति विरुद्ध नैतिक तथा बौद्धिक बहसका लागि सिंजा क्षेत्रका तीन पालिकाका एक हजार किशोर–किशोरी सामाजिक अभियन्ता तथा परिवर्तनका संवाहकका रूपमा तयार भएको जनाए । उनका अनुसार हिमा गाउँपालिकाका तीन सय किशोरी र दुई सय किशोर, सिंजा गाउँपालिकाका एक सय किशोर र एक सय किशोरी तथा कनकासुन्दरी गाउँपालिकाका दुई सय किशोर र एक सय किशोरी परिवर्तनका संवाहकका रूपमा तयार भएका हुन् । उनीहरूले गाउँमा भइरहेका विभिन्न कुरीतिका विरुद्धमा पैरवी गर्नेछन् ।
प्रकाशित मितिः २ पुष २०७९, शनिबार १३:५६
मानबहादुर कुँवर ।