ठूलो जहाजबाट थालियो नियमित उडान
सुर्खेत: बुद्ध एयरले काठमाडौं–सुर्खेत एटीआर–७२ जहाजबाट नियमित उडान सुरु गरेको छ । बुद्ध एयरले काठमाडौँ–सुर्खेत रुटमा शुक्रवारदेखि नियमित उडान प्रारम्भ गरेको हो । उक्त गन्तव्यमा एटीआर जहाजमार्फत नियमित उडान थालिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए । सुर्खेत विमानस्थलमा गएको कात्र्तिक ३० गते एटीआर–७२ जहाजको परीक्षण उडान गरिएको थियो । परीक्षण उडान सफल भएसँगै नियमित उडान भर्न सुरु गरिएको हो । शुक्रवार ७० जना यात्रु बोकेर बुद्ध एयरको एटीआर जहाज सुर्खेत विमानस्थलमा अवतरण गरेको थियो । ७२ सीट क्षमताको ठूलो जहाजबाट यो रुटमा पहिलो व्यावसायिक उडान भरेको निजी वायु सेवा कम्पनी बुद्ध एयरले जनाएको छ ।
एटीआर–७२ जहाजले अब दैनिक काठमाडौँ–सुर्खेत एक उडान गर्नेछ । यसअघि कम्पनीले ४७ सीट क्षमताको एटीआर–४२ जहाजबाट यो गन्तव्यमा दैनिक एउटा उडान गर्ने गरेको थियो । ठूलो जहाजमार्फत उडान भर्न सुरु भएपछि यात्रुलाई सहजताका साथै कर्णाली प्रदेशको व्यवसाय तथा पर्यटन क्षेत्रको विकासमा मद्दत पुग्ने विश्वास लिइएको छ । ठूलो क्षमताको जहाजबाट नियमित उडान भए काठमाडौँ–सुर्खेत हवाई भाडादर पनि सस्तो हुने अपेक्षा गरिएको छ । अहिले काठमाडौँ–सुर्खेतसम्मको हवाई भाडा निकै चर्को छ । यो रुटमा यात्रुहरूले १४ हजारसम्म भाडा तिर्दै आएका छन् । भाडा महँगो हुँदा कर्णालीका अधिकांश यात्रु नेपालगञ्ज भएर काठमाडौं जाने गर्छन् । बुद्ध एयरले ७२ सीटे जहाजमा भने न्यूनतम भाडा सात हजारबाट सुरु हुने जनाएको छ । धेरै सीट क्षमताको जहाजले सेवा दिँदा यात्रुहरूलाई सहज हुने र भाडा पनि कम पर्ने बुद्ध एयरको भनाइ छ । नियमित बिहान १० बजे काठमाडौंबाट सुर्खेत र ११ः३५ बजे सुर्खेतदेखि काठमाडौं उडान गरिने जनाइएको छ ।
प्रकाशित मितिः २ पुष २०७९, शनिबार १३:५१
साझा बिसौनी ।