जीविकोपार्जनमा कठिनाइ
सुर्खेत: वीरेन्द्रनगर नगरपालिकाकी २३ वर्षीय सुहानी सुनार यौनिक तथा अल्पसंख्यक समुदायकी हुन् । उनी छोरा भएर जन्मिए पनि उमेर बढ्दै जाँदा आनीबानी, व्यवहार र सोच सबै छोरीको जस्तो हुँदै गयो । उनले नौ कक्षासम्म मात्र पढिन् । कुनै सीप पनि नसिकेकाले रोजगारी पाइनन् । उनी सुर्खेतबाट विरगञ्ज नाँच्नका लागि गइन् । कमाइका लागि उनले त्यहाँ विवाह, पार्टीलगायतका समारोहमा नाच्ने गरिनन् । नाचे वापत उनले साँहुबाट तीन हजारदेखि पाँच हजारसम्म पैसा पाउँथिन् । विवाह, पार्टीलगायका समारोहमा नाचेर पैसा कमाउन सजिलो भने थिएन । अहिले उनी घर फर्किएकी छिन् । सुहानी घरमै बेरोजगार बस्न बाध्य छन् । उनी भन्छिन्, ‘त्यसरी नाचेर जीविकोपार्जन गर्न पनि निकै कठिन छ । फेरि विरगञ्ज जाने कि नजाने भन्नेमा उनी दोधारमा परेकी छिन् । ‘यतै बसौँ रोजगारीका लागि कुनै काम पाइँदैन, फेरि उता जाऊँ भने सजिलो काम छैन,’ उनले भनिन् । उनलाई यतै केही सीप सिकेर स्वरोजगार बन्ने चाहना छ । त्यसका लागि अवसर कतै नपाएको उनी बताउँछिन् ।
वीरेन्द्रनगरकै ३२ वर्षीय टीका वली पनि यौनिक तथा अल्पसंख्यक समुदायकी हुन् । उनी जन्मिँदा छोरा भएर जन्मिए पनि पछि भावनात्मक रूपले छोरीको स्वभाव भयो । अहिले बरोजगार बसिरहेकी उनी सीप सिकेर केही गर्न चाहन्छिन् । बेरोजगारी समस्याले जीविकोपार्जन गर्न कठिनाइ रहेको उनले बताइन् । उनले भनिन्, ‘यसै पनि यो समाजमा हामीलाई मानवको रूपमा हेरिँदैन, राज्यले केही सुविधा दिएको भए सजिलो हुन्थ्यो । परिवारले हामीहरूलाई बुझेको छ, तर समाज र राज्यले अझैँ बुझ्न सकेका छैनन् ।’ नागरिकतामा पुरुष भए पनि हिँडाइ, बोलाई सबै व्यवहार महिलाको हुँदा आफूलाई समाजले हेर्ने दृष्टिकोण नै फरक रहेको उनको भनाइ छ ।
निल हिरा समाज सुर्खेतका अनुसार सुर्खेतमा यौनिक तथा अल्पसंख्यक ४० जना छन् । ठूलो संख्या समाजको डरका कारण अझै खुल्न सकेका छैनन् । ४० जनामध्ये समाजमा नौ जना मात्र खुलेको जनाइएको छ । पहिचानको समस्यासँगै उनीहरूको जीविकोपार्जनमा निकै चुनौती रहेको निल हिरा समाजकी कार्यक्रम संयोजक अञ्जली बिसीले बताइन् । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरूलाई समाजमा हेला र दुव्र्यवहार हुँदा खुलेर आउन समस्या रहेको उनले जनाइन् । समाजको अपहेलना र बेरोजगारी समस्याले उनीहरू जीउनकै लागि विकल्प खोज्दै विभिन्न सहर पुग्ने गरेको उनको भनाइ छ । यौनिक तथा अल्पसंख्यकलाई ज्यालामजदुरीका काम पाउन पनि मुस्किल हुने गरेको बताइएको छ । समाजमा हेरिने फरक दृष्टिकोणले रोजगारीका अवसर पाउनै अप्ठ्यारो भएको यौनिक तथा अल्पसंख्यकहरू बताउँछन् ।
शुक्रवार निल हिरा समाज काठमाडौं र सामाजिक विकास मन्त्रालयले वीरेन्द्रनगरमा आयोजना गरेको यौनिक तथा अल्पसंख्यक समुदायको अधिकार सम्बन्धी अभिमुखीकरण कार्यक्रममा पहिचान सहितको नागरिकता, वैवाहिक सम्बन्ध कायम हुनुपर्ने औंल्याइएको छ । त्यसका साथै सरोकारवालाले यौनिक तथा अल्पसंख्यक समुदायको रोजगारी, शिक्षा र स्वास्थलगायतका विषयमा राज्यले विशेष ध्यान दिनुपर्ने बताएका हुन् । अधिकारकर्मी भूमिका श्रेष्ठले यौनिक तथा अल्पसंख्यक समुदायले अन्य मानव सरह अधिकार पाउनुपर्ने बताइन् । उनले भनिन्, ‘हामीलाई अहिले पनि यौनिक तथा अल्पसंख्यक समुदायका हौँ भनेर पहिचान दिन र बुझाउनै समस्या छ, राज्यले दिने अधिकार उपयोग गर्न पाएका छैनौँ ।’ उनले यौनिक तथा अल्पसंख्यक समुदायका व्यक्तिलाई संरक्षणसँगै समाजमा खुल्ने वातावरण बनाइनुपर्नेमा जोड दिइन् । सोही कार्यक्रममा धारणा राख्दै उच्च सरकारी वकील कार्यालय सुर्खेतका सहन्यायाधिवक्ता ज्ञानप्रसाद भुसालले संविधानले नै भेदभाव गर्नुहुन्न भने पनि यौनिक तथा अल्पसंख्यक समुदायले अधिकार उपभोग गर्न नपाएको बताए । उनले कतिपय कानुनहरू विभेदपूर्ण भएको पनि जनाए । जसले गर्दा उनीहरू अधिकार पाउनबाट समेत वञ्चित रहेको उनको भनाइ थियो ।
प्रकाशित मितिः २ पुष २०७९, शनिबार १३:४८
साझा बिसौनी ।