बालापनमै आत्महत्या
कर्णाली प्रदेशमा पनि आत्महत्या गम्भीर चुनौती बनेको छ । प्रदेशमा बालबालिकाको आत्महत्याको दर झनै डरलाग्दो छ । हरेक वर्ष यहाँ ठूलो संख्यामा बालबालिकाले आत्महत्या गर्ने गरेका छन् । उक्त संख्या बढ्दो क्रममा देखिन्छ । प्रतिकूल परिस्थितिको सामना गर्न डराउने कमजोर मानसिकताको उपज हो आत्महत्या । बयस्क मानिसहरूले डिप्रेसनका कारण आत्महत्या गर्ने गरेको पाइए पनि बालबालिकामा भने सानो–सानो कुराले प्रभाव पर्छ । जसले गर्दा आत्महत्याको बाटो रोज्ने गरेको पाइन्छ । सामान्य विषयमा आवेगमा आएर बालबालिकाले आफ्नो ज्यान फालिरहेका छन् । प्रदेशमा गएका साढे तीन वर्षको अवधिमा एक सय १९ जना बालबालिकाले आत्महत्या गरेका छन् । सोही अवधिमा एक हजार २६ जनाले आत्महत्या गरेकोमा त्यसको ११ प्रतिशत बालबालिकाको संख्या छ । बालापनमै यति धेरै आत्महत्याको दर हुनुले सरोकारवालाई चिन्तित तुल्याएको छ । आत्महत्या गर्नेमा बालकको तुलनामा बालिकाको संख्या बढी छ । समग्रमा आत्महत्याको तथ्याङ्क हेर्दा पनि पुरुषभन्दा महिलाहरूको संख्या नै अधिक छ ।
खासगरी कडा खालको मानसिक रोगबाट ग्रसित बिरामीले आत्महत्याको प्रयास गर्छन् भन्ने गरिन्छ । सामाजिक अपहेलना, व्यस्त जीवनशैली, एक्लोपना र क्षणिक आवेगका कारणले पनि आफ्नै जीवन सिध्याउनेहरूको संख्या बढ्दो छ । आफैंले आफ्नो हत्या गर्नु आत्महत्या हो । तनाव तथा पीडा थेग्न नसकी बाँच्नुभन्दा मर्न सजिलो ठानेर मानिस यो स्थितिमा पुग्छ । आत्महत्याको प्रमुख कारण डिप्रेसन रहेको विभिन्न अध्ययनहरूले देखाएका छन् । त्योसँगै जैविक, मनोवैज्ञानिक, सामाजिक, आर्थिक र सांस्कृतिक कारणले गर्दा पनि आत्महत्याको बाटो रोज्ने गरेको पाइन्छ । त्यसो त आत्महत्याका घटनामा एउटै मात्र कारण हुँदैन । सामान्यतया चरम निराशा, तनावलाई यस्तो दुर्घटनाको कारण औंल्याउने गरिएको छ । बालबालिकामा उमेर बढ्दै जाँदा शारिरीकसँगै मानसिक रूपमा पनि सोचहरू परिवर्तन हुन्छन् । त्यसबेला सकारात्मक र नकारात्मक दुुवै प्रभाव पर्छ । सोही प्रभावलाई सही र गलत छुट्याउन नसक्दा आत्महत्या रोज्ने अवस्थामा उनीहरू पुग्छन् ।
सामाजिक प्रभावको असरले कमजोर सोच भएका व्यक्तिहरूले अन्तिम विकल्पका रूपमा आत्महत्या रोज्ने गरेका छन् । आत्महत्या रोकथाम गर्न घरपरिवार र विद्यालयमा अभिभावक तथा शिक्षकहरूले बालबालिकाका कुराहरू सुनेर उचित सुझाव दिन आवश्यक छ । अप्ठ्यारोमा परेका बालबालिकालाई सुरक्षित वातावरण सिर्जना गर्नुपर्ने हुन्छ । लागूऔषध दुव्र्यसनीका कारणले कतिपय बालबालिकाले आत्महत्या गरेको पाइन्छ । त्यसैले बालबालिकाको मानसिक समस्याको बारेमा पनि सरोकारवालाहरू गम्भीर बन्नुपर्ने देखिन्छ । पछिल्ला वर्षहरूमा आत्महत्या समस्या झनै विकराल बन्दै गएको छ । यसको रोकथामका लागि परिवार, समाज, विद्यालय र स्थानीय तहले योजना बनाएर काम गर्न जरुरी छ । आत्महत्याको विकराल अवस्थाको न्यूनीकरणमा सरकारी निकायको चासो बढ्नुपर्छ । जोखिममा रहेका बालबालिका पहिचान गरेर मनोविमर्श सेवा दिनुपर्ने हुन्छ । यसतर्फ सरोकारवालाहरू बेलैमा सजक भएमात्रै आत्महत्याका घटनामा कमी आउने देखिन्छ ।
प्रकाशित मितिः १ पुष २०७९, शुक्रबार ०५:००
सम्पादकीय ।