उद्योग सञ्चालनमा पूर्वाधार अभाव

सुर्खेत: कर्णाली प्रदेशमा एक हजार ६ सय ३५ वटा साना उद्योगहरू सञ्चालनमा छन् । खानी तथा उत्खनन्, औद्योगिक उत्पादन, विद्युत र पानीको आपूर्ति एवम् फोहोर व्यवस्थापनसँग सम्बन्धी ती उद्योग सञ्चालन गर्न पूर्वाधारको अभाव देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको एकीकृत औद्योगिक सर्वेक्षमा खासगरी उत्पादनशील क्षेत्रका उद्योग सञ्चालनमा कठिनाइ रहेको पाइएको हो । ढिलोगरी सार्वजनिक भएको औद्योगिक सर्वेक्षण–२०७६ का अनुसार प्रदेशमा दर्ता तथा नवीकरण भएर सञ्चालनमा रहेका उत्पादनशील क्षेत्रका उद्योगहरूको अवस्था दयनीय छ । देशभर यस्ता उद्योगको संख्या ६० हजार एक सय ५८ रहेकामा त्यसमध्ये कर्णालीका उद्योगहरू बढी नै संकटमा छन् । कार्यालयले उत्पादनशील क्षेत्रका उद्योगलाई चार क्षेत्रमा वर्गीकरण गरेर राष्ट्रिय औद्योगिक सर्वेक्षण गरेको छ । विगतको गणना तथा सर्वेक्षणको तुलनामा यसपटक फराकिलो दायरा बनाइएको छ । योभन्दा पहिले उत्पादनशील उद्योगहरूलाई मात्र समेटेर गणना गर्दै आएकोमा अहिले अन्य तीन क्षेत्र पनि समावेश गरिएका हुन् । यसपाली साना ठूला सबै उद्योग समेटिएको र प्रदेशस्तरसम्मको नतिजा प्राप्त हुने गरी सर्वेक्षण गरिएको राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक विनोद आचार्य बताए । उनका अनुसार कर्णालीमा उद्योग सञ्चालनका लागि पूर्वाधारको अभावका साथै लगानीमा कमी रहेको सर्वेक्षणले देखाएको छ ।

प्रदेशका १० जिल्लामा गरी खानी तथा उत्खनन्सँग सम्बन्धीत तीन सय ५६, औद्योगिक उत्पादनसँग सम्बन्धी एक हजार चार सय ६८ विद्युत तथा ग्याससँग सम्बन्धी ९८, पानीको आपूर्ति, ढल निकासा, फोहोर व्यवस्थापनसँग सम्बन्धीत ६४ वटा उद्योगहरू सञ्चालनमा छन् । यो तथ्याङ्क अन्य प्रदेशको तुलनामा निकै कम हो । कर्णालीमा ठूलो लगानीका उद्योगहरू अझै स्थापना भएका छैनन् । पूर्वाधारको अभावका कारण पनि ठूला उद्योगहरू सञ्चालनमा आउन नसकेका हुन् । बिहीवार वीरेन्द्रनगरमा राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रदेश औद्योगिक अवस्थाबारेको सर्वेक्षण सार्वजनिक गरेको छ । जसमा कर्णाली प्रदेशस्तरीय नतिजा पनि राखिएको छ । निर्देशक आचार्यले प्रत्येक पाँच–पाँच वर्षको अन्तरालमा सर्वेक्षण हुनुपर्नेमा २०७६ सालमा सर्वेक्षण सुरु गरिए पनि कोरोना महामारीका कारण ढिलाइ भएको जनाए । २०७८ असार मसान्तमा सर्वेक्षण सम्पन्न भए पनि नतिजा सार्वजनिकमा ढिलाइ भएको उनले बताए । औद्योगिक प्रतिष्ठानहरूको स्थिति, रोजगार, लागत अनुपात र मूल्यवृद्धि तथा औद्योगिक क्षेत्र अन्तर्गतका दिगो विकास लक्ष्यका सूचकहरूको अवस्थाबारे जानकारी उपलब्ध गराउने उद्देश्यले सर्वेक्षण गर्ने गरिएको छ । कर्णाली प्रदेशभर विभिन्न प्रकृतिका झन्डै साढे सात हजार उद्योग दर्ता भएपनि त्यसमध्ये अधिकांश बन्द अवस्थामा छन् । दर्ता भएका सबै उद्योग नियमित नवीकरण हुँदैनन् । लगानी र पूर्वाधार अभावमा उद्योगहरू धरासायी बन्दै गएको बताइएको छ ।

चार हजारलाई रोजगारी

कर्णालीमा सञ्चालन भएका उद्योगहरूबाट न्यून संख्यामा मात्रै रोजगारी सिर्जना भएको छ । रोजगारीको मुख्य क्षेत्र उद्योगहरूमा प्रदेशभर जम्मा चार हजार हाराहारीले काम पाएका हुन् । सर्वेक्षणका अनुसार यहाँका उद्योगमा नियमित रूपमा तलब तथा ज्याला लिने चार हजार तीन सय ६४ जना मात्र श्रमिक छन् । अन्य प्रदेशको तूलनामा कर्णालीमा रोजगारी पाउनेको संख्या पनि कम छ । प्रदेशमा खानी तथा उत्खनन् सम्बन्धी उद्योगमा ५५ जना, औद्योगिक उत्पादनमा दुई हजार एक सय ४५, विद्युत तथा ग्याससँग सम्बन्धित उद्योगमा एक हजार सात सय ७३ र पानीको आपूर्ति, ढल निकासा, फोहोर व्यवस्थापन सम्बन्धी उद्योगमा तीन सय ९१ जनाले रोजगार पाएका छन् ।
उद्योगमा सक्रिय रूपमा कार्यरत व्यवसायी तथा साझेदार, वेतलबी पारिवारिक कामदार र तलबी कामदारको संख्या भने ६ हजार नौ सय ९६ रहेको सर्वेक्षणमा उल्लेख छ । यस अवधिमा कामदारका लागि एक अर्ब आठ करोड, २५ लाख नौ हजार रूपैयाँ खर्च भएको सर्वेक्षणमा जनाइएको छ । कर्णालीमा रहेका यी उद्योगहरूमा २८ अर्ब ९० करोड १७ लाख ५९ हजार स्थायी सम्पति रहेको छ । सुदूरपश्चिम प्रदेश बाहेक अन्य प्रदेशको तुलनामा यो असाध्यै थोरै हो । लगानी नै कम भए पछि त्यसको उत्पादनमा समेत असर पर्नु स्वाभाविक हुने निर्देशक आचार्य बताउँछन् । सुदूरपश्चिममा उद्योगहरूमा लगानी २३ अर्ब पाँच करोड ३२ लाख २९ हजार रूपैयाँ रहेको छ । देशभरका औद्योगिक क्षेत्रको ६ खर्ब १९ खर्ब ५१ करोड मूल्य बराबरको स्थायी सम्पत्ति रहेको जनाइएको छ ।

नियमिततामा कठिनाइ

कर्णालीमा दुई सय ७० दिन वा त्योभन्दा बढी ७७ प्रतिशत मात्रै उद्योगहरू सञ्चालन हुने गरेको देखिएको छ । औद्योगिक सर्वेक्षणअनुसार ९० दिनभन्दा कम सञ्चालन हुने उद्योगहरूको संख्या एक दशमलब पाँच प्रतिशत रहेको छ । विविध कारणले उद्योगहरू नियमित सञ्चालन हुन नसकेका हुन् । पुरै समय उद्योग सञ्चालन नहुँदा त्यसले प्रदेशको अर्थतन्त्र र रोजगारीमा असर परेको छ । कर्णालीका ३६ दशमलव सात प्रतिशत उद्योगहरूले उत्पादन क्षमताको पूर्ण प्रयोग गर्ने गरेको सर्वेक्षणमा उल्लेख छ । पूर्ण क्षमतामा उद्योग नचल्नुका कारण बजार मागको कमी, कच्चा पदार्र्थको अपर्याप्तता, स्रोत–साधनको कमी, सीपमूलक कामदारको अभावजस्ता कारण आँैल्याइएको छ । निर्देशक आचार्य भन्छन्, ‘चलिरहेका उद्योगहरू पनि पूर्ण क्षमतामा सञ्चालन भएका छैनन् ।’ उनले बजारको समस्या, कच्चा पदार्थको अभाव र बाहिरबाट आयात हुने सामग्रीको तुलनामा यहाँ महँगो पर्ने हुँदा उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन नभएको पाइएको जनाए ।

ऋणको पहुँच बाहिर

सञ्चालन भएका उद्योगहरूमा लगानी गर्न ऋण नपाइने समस्या छ । धेरैजसो उद्योग ऋणको पहुँच बाहिर छन् । प्रदेशमा रहेकामध्ये ६० प्रतिशत उद्योगहरू ऋणको पहुँचमा नभएको पाइएको छ । सर्वेक्षण तथ्याङ्कका अनुसार ३७ दशमलव पाँच प्रतिशत उद्योगले मात्रै ऋण लिएर लगानी गरेका छन् । त्यस्तै, दुई दशमलव पाँच प्रतिशत ऋण लिने प्रक्रियामा रहेको सर्वेक्षणमा उल्लेख छ । गएका वर्षहरूमा कोरोना महामारीका कारण भएको लकडाउनले उद्योगहरू आंशिक रूपमा मात्रै सञ्चालन भएको र कतिय पूर्ण रूपमा बन्द भएको सर्वेक्षणले देखाएको छ । ऋणको पहुँच बाहिर हुँदा व्यक्तिको लगानीले मात्र सञ्चालन गर्न सक्ने अवस्था नरहेको जनाइएको छ । कर्णालीको औद्योगिक सूचकको अवस्था प्रतिउद्योग प्रतिष्ठानमा औषत पाँच जनाभन्दा कम संलग्न रहेको पाइएको छ । यहाँ दश अर्बभन्दा बढी वार्षिक उत्पादन मूल्य छ भने लागत मूल्य ६ अर्बभन्दा बढी रहेको छ ।

प्रकाशित मितिः   २९ मंसिर २०७९, बिहीबार ०५:०५