बालबालिकाको अत्यासलाग्दो आत्महत्या

सुर्खेतः बालबालिकाले आत्महत्या गर्नेक्रम बढेको पाइएको छ । कर्णाली प्रदेशमा बालबालिकाको आत्महत्याको तथ्याङ्क डरलाग्दो छ । प्रहरीका अनुसार प्रदेशमा आत्महत्या गर्ने बालबालिकाको संख्या बर्सेनि बढ्दो छ । प्रदेशमा साढे तीन वर्षको अवधिमा एक सय १९ जना बालबालिकाले आत्महत्या गरेका छन् । सोही अवधिमा एक हजार २६ जनाले आत्महत्या गरेकोमा त्यसको ११ प्रतिशत बालबालिकाको संख्या रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७६/०७७ मा ३५ जना, आर्थिक वर्ष २०७७/०७८ मा ४१ जना, आर्थिक वर्ष २०७८/०७९ मा ३५ र चालु आर्थिक २०७९÷०८० को हालसम्म आठ जना बालबालिकाले आत्महत्या गरेका हुन् । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी माधवप्रसाद श्रेष्ठले कर्णालीमा आत्महत्या ठूलो समस्याका रुपमा देखिएको बताए । उनी भन्छन्, ‘आत्महत्याको दर निकै धेरै छ, त्यसमा पनि बालबालिकाको तथ्याङ्क हेर्ने हो भने झनै डरलाग्दो अवस्था देखिन्छ ।’ बयस्क मानिसहरुले डिप्रेसनका कारण आत्महत्या गर्ने गरेको पाइए पनि बालबालिकामा भने सानो–सानो कुराले प्रभाव पारेर आत्महत्याको बाटो रोज्ने गरेको पाइएको उनी बताउँछन् । सामान्य विषयमा आवेगमा आएर बालबालिकाले आत्महत्या गर्ने गरेको अनुसन्धानहरुबाट खुल्ने गरेको प्रहरीले जनाएको छ ।

आत्महत्या गर्नेमा बालकको तुलनामा बालिकाको संख्या बढी छ । समग्रमा आत्महत्याको दर हेर्दा पनि पपुरुषको तुलनामा महिलाहरुको संख्या धेरै छ । प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार साढे तीन वर्षको अवधिमा ५१ जना बालक र ६८ जना बालिकाले आत्महत्या गरेका छन् । हरेक वर्ष आत्महत्या गर्नेको संख्या बालकको भन्दा बालिकाको बढी देखिएको छ । आर्थिक वर्ष २०७६/०७७ मा ३५ जना बालबालिकाले आत्महत्या गरेका छन् । त्यसमध्ये १८ बालक र १९ जना बालिका हुन् । त्यस्तै, आर्थिक वर्ष २०७७/०७८ मा ४१ जनाले आत्महत्या गरेकोमा २० बालक र २१ बालिकाको संख्या छ । पछिल्लो आर्थिक वर्ष २०७८/०७९ मा ३५ जनामध्ये २६ बालिका र नौ जना बालकले आत्महत्या गरेका छन् । चालु आर्थिक वर्षका चार महिनामा प्रदेशभर चार/चार जना बालकालिकाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

मनोविमर्शकर्ताहरुका अनुसार बालबालिकामा उमेर बढ्दै जाँदा शारिरीकसँगै मानसिक रुपमा पनि सोचहरु परिवर्तन हुँदै जाँदा सकारात्मक र नकारात्मक प्रभाव पर्छ । सोही प्रभावलाई सही र गलत छुट्टाउन नसक्दा आत्महत्या रोज्ने गरेको पाइएको मनोविमर्शकर्ता निशा पौडेल बताउँछिन् । लामो समयदेखि आवाज संस्थामा कार्यरत उनले बालबालिकामा पारिवारिक अवस्थाले पनि असर गर्ने गरेको बताइन् । उनले भनिन्, ‘पारिवारिक कलहका कारण पनि बालबालिकामा तनाब भइरहेको छ, बुवाआमाको झगडाले बालबालिकामा असर पर्छ । आफ्ना कुरा भन्न नपाउँदा र बुझ्ने कोही नभएको भान हुँदा बालबालिकाले आत्महत्याको बाटो रोज्न गरेको देखिन्छ ।’

आत्ममहत्या बढ्नुमा सामाजिक संरचनाको असरसमेत रहेको बताइएको छ । सामाजिक प्रभावको असरले कमजोर सोच भएका व्यक्तिहरुले अन्तिम विकल्पका रुपमा आत्महत्या रोज्ने गरेका छन् । पौडेलले आत्महत्या रोकथाम गर्न घरपरिवार र विद्यालयमा बालबालिकाका कुराहरु सुन्ने, समस्याहरु पहिचान गरेर समाधानका लागि सुझाउने तथा सुरक्षित वातावरण सिर्जना गर्नुपर्ने बताइन् । उनका अनुसार लागूऔषध दुव्र्यसनीका कारण पनि कतिपय बालबालिकाले आत्महत्या गरेको पाइन्छ । बालबालिकाको मानसिक समस्याको बारेमा पनि सरोकारवालाहरु गम्भीर नहुँदा पछिल्ला वर्षहरुमा समस्या झनै विकराल बन्दै गएको छ । आत्महत्या रोकथामका लागि परिवार, समाज, विद्यालय र स्थानीय तहले योजना बनाएर काम गर्न आवश्यक रहेको मनोविमर्शकर्ता पौडेलले जनाइन् । जोखिममा रहेका बालबालिका पहिचान गरेर मनोविमर्श सेवा दिनुपर्नेमा उनले जोड दिइन् ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता श्रेष्ठ आत्महत्याको तथ्याङ्क डरलाग्दो भएकाले यसको न्यूनीकरणका लागि सबै सचेत हुनुपर्ने बताउँछन् । बालबालिकामा पनि यो समस्या बढ्दो रहेकोले यसतर्फ अभिभावक र सरोकारवालाहरु गम्भीर बन्नुपर्ने उजले जनाए । बालबालिकामा आत्महत्याको दर बढ्नुको कारण सामाजिक सञ्जाल, परिवारिक कलह, कतिपय चाहेको कुरासमेत नपाउँदा आवेगमा आएर आत्महत्याको बाटो रोज्ने गरेको पाइएको श्रेष्ठले बताए । बाल तथा किशोर अवस्थामा सामाजिक चेतनाको कमीका कारण एक्लो महसुस गर्ने, बाआमासँग धेरै चिजवस्तुको माग गर्ने र त्यसको परिपूर्ति नहुँदा आत्महत्या गर्ने गरेको अनुसन्धानका क्रममा भेटिने गरेको छ ।

कर्णालीमा आत्महत्याको रुप भयावह छ । प्रदेशमा महामारी, प्राकृतिक प्रकोप र सवारी दुर्घटनालगायतका भवितव्यमा परी मृत्यु हुनेको भन्दा आत्महत्याबाट मृत्यु हुनेको संख्या अधिक छ । गरिबी, बेरोजगारी, घरेलु हिंसा र पारिवारीक कलहजस्ता कारणले पनि धेरै व्यक्तिहरुले आत्महत्याको बाटो रोज्ने गरेका छन् । प्रदेशका सबैजसो जिल्लामा आत्महत्याको ग्राफ बढ्दो छ । प्रहरीको तथ्याङ्कअनुसार यहाँ हरेक वर्ष आत्महत्याको दर वृद्धि हँुदै गएको हो । आत्महत्याको प्रमुख कारण मानसिक स्वास्थ्य समस्या रहेको चिकित्सकहरु बताउँछन् । जन स्वास्थ्यविद्हरुले मानसिक स्वास्थ्य समस्या ठूलो चूनौतिको रूपमा रहेको भन्दै यसतर्फ बेलैमा सजक रहन सुझाएका छन् । आत्महत्याको विकराल अवस्थाको न्यूनीकरणमा सरकारी निकायको चासो बढ्नुपर्ने उनीहरुको भनाइ छ ।

प्रकाशित मितिः   २९ मंसिर २०७९, बिहीबार ०९:५७