लेकवेशीका किसानलाई परिचय–पत्र

सुर्खेतः लेकवेशी नगरपालिकाले किसानहरुलाई परिचय–पत्र उपलब्ध गराउने भएको छ । नगरपालिकाले किसानको वर्गीकरण गरी परिचय–पत्र दिने भएको छ । वर्गीकरण सहितको परिचय–पत्रको अभ्यासको लागि नगरपालिका र राष्ट्रिय कृषक समूह महासंघबीच सम्झौता भएको हो । कृषि पेशाको संरक्षण र किसानको जीवनस्तरको प्रवद्र्धन गर्न परिचय–पत्रले सहयोग पुग्ने अपेक्षा लिइएको छ । महासंघ र भिएसो नेपालको साझेदारी तथा सहजीकरणमा नगरभित्र रहेका किसानहरुको घरधुरीको तथ्यांक संकलन गर्ने र वर्गीकरणको आधारमा परिचय–पत्र उपलब्ध गराइनेछ । किसानको पहिचान तथा वर्गीकरण गरी त्यसको आधारमा परिचय–पत्र वितरणको तयारी गरिएको नगर प्रमुख उमेशकुमार पौडेलले बताए । उनका अनुसार सोही आधारमा किसानहरुलाई सेवा सुविधा उपलब्ध गराइनेछ । नगरपालिकाले यसका लागि स्थानीय कृषि ऐन–२०७८ निर्माण गरेको छ ।

कृषक समूह महासंघका कर्णाली प्रदेश अध्यक्ष सन्तबहादुर खत्रीले स्थानीय सरकारसँग सहकार्य गरेर किसान परिचय–पत्र उपलब्ध गराउने अभियान अघि बढाएको जनाए । यसबाट नागरिकको खाद्य सम्प्रभुता एवम् खाद्यसम्बन्धी हकको सुनिश्चितता र समग्र किसानको सशक्तिकरणमा टेवा पुग्ने उनी बताउँछन् । कृषि प्रणाली तथा यसको मूल्य श्रृंखलामा सुशासन कायम गर्न दिगो योजनासमहित यस क्षेत्रमा समतामुलक विकासको अभ्यासका लागि महासंघले काम गरिहेको उनको दाबी छ । महासंघका कार्यक्रम अधिकृत विष्णुप्रसाद पन्थले जोखिममा रहेका किसानलाई सेवाको सहज पहुँचमा अग्राधिकारको आधार तय गर्न परिचय–पत्रको आवश्यकता रहेको बताए । यसले किसानलाई सेवा सुविधा लिन तथा सामाजिक सुरक्षाको अभ्यास गर्न सहयोग पुग्ने उनको भनाइ छ ।

प्रकाशित मितिः   २८ मंसिर २०७९, बुधबार ०९:१३