प्रदेश लोक सेवा आयोगले खुलायो विज्ञापन

सुर्खेतः कर्णाली प्रदेश लोक सेवा आयोगले प्रदेश निजामति सेवा र स्थायी सरकारी सेवाका पाँचौँ तहका विभिन्न सेवा समूहका अप्राविधिक तथा प्राविधिकतर्फका पदका लागि दरखास्त खुलाएको छ । आयोगले ठूलो संख्यामा कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो । मंगलवार गरिएको विज्ञापनअनुसार विभिन्न पदमा दुई सय ३५ जना कर्मचारीका लागि दरखास्त माग गरिएको छ । आयोगले अप्राविधिकतर्फ ५४ र प्राविधिकतर्फ एक सय ८१ संख्यामा विज्ञापन गरेको छ । विज्ञापनमा सहायक, लेखा सहायक, आन्तरिक लेखा परीक्षक, स्वास्थ्य, इन्जिनियरिङ्गतर्फ विभिन्न पदमा ७६ संख्याका लागि दरखास्त आह्वान गरिएको छ ।

त्यस्तै, सहायक, प्रशासन, सामान्य प्रशासन, लेखा सहायक, लेखापालतर्फ ५४, स्वास्थ्यततर्फ ७७, इन्जिनिरियङ, हाइड्रोपावरतर्फ ७३ जना विज्ञापन भएको छ । आयोगका अनुसार दरखास्त अनलाइन प्रणालीमार्फत बुझाउनुपर्ने छ । पुस १८ गतेसम्म दरखास्त दिइसक्नुपर्ने छ भने पुस २५ गतेसम्म दोब्बर दस्तुर तिरेर पनि दरखास्त दिन सकिनेछ । दरखास्त दिन खुल्लातर्फ १८ वर्ष पुरा भइ ३५ वर्ष ननाघेको, महिला तथा अपाङ्गताको हकमा ४० वर्ष ननाघेको र स्वास्थ्य सेवाको हकमा ४५ वर्ष ननाघेको हुनुपर्नेछ । बहालवाला स्थायी निजामति सेवाका कर्मचारीको हकमा भने उमेर हद नलाग्ने आयोगको विज्ञापनमा उल्लेख छ । आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि सार्वजनिक सूचनामार्फत दरखास्त आह्वान गरेको हो ।

प्रकाशित मितिः   २८ मंसिर २०७९, बुधबार ०९:१९