अपाङ्गताका सवालमा संवेदनशील बन्न सुझाव

सुर्खेत: सञ्चार माध्यमहरूले अपाङ्गता भएका व्यक्तिहरूका सवालमा संवेदनशील बन्नुपर्नेमा जोड दिइएको छ । आइतवार पिपल्स एक्सेस सुर्खेतको आयोजना तथा परिलक्षित संस्थाको सहयोगमा भएको मिडियामा अपाङ्गताका सवाल विषयक कार्यक्रममा यस्तो बताइएको हो । कार्यक्रमका सहभागीहरूले अपाङ्गताका सवालहरू उठाउँदा संवेदनशील हुनुपर्ने बताएका हुन् । अपाङ्गताका सवालहरू सञ्चारमाध्यमको प्राथमिकता समेत नपरेको गुनासो गरिएको छ । कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघका कर्णाली प्रदेश अध्यक्ष विष्णुप्रसाद शर्माले सञ्चारमाध्यम अपाङ्गताका सवालमा खासै उदार हुन नसकेको जनाए । उनले कर्णालीका अपाङ्गता भएका व्यक्तिहरूले अपाङ्गता अधिकारको उपभोग गर्न नपाएको भन्दै यस्ता सवाललाई सञ्चारमाध्यमले उठाएर सहजीकरण गरिदिनुपर्ने सुझाव दिए । अपाङ्गता भएका व्यक्तिहरूले परिचय–पत्र पाउँदासमेत कठिनाइ भोग्नु परेको उनको भनाइ थियो । नेत्रहीन युवा संघ सुर्खेतका फिल्ड अधिकृत बसन्त जैशीले मिडियाले अपाङ्गता भएका व्यक्तिहरूको आवाजलाई महŒवका साथ प्रकाशन प्रशारण गर्नुपर्ने बताए । सञ्चारमाध्यम आवाजविहीनहरूको आवाज बन्नुपर्ने भन्दै उनले सञ्चारमाध्यमहरू अपाङ्गता भएका व्यक्तिहरूको पहुँचमा पनि हुनुपर्ने धारणा राखे । सञ्चारमाध्यमले प्रयोग गर्ने शब्दमा समेत ख्याल गर्नुपर्ने जैशीले सुझाए । कार्यक्रम पिपल्स एक्सेस सुर्खेतका अध्यक्ष सीता आचार्यको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मितिः   २६ मंसिर २०७९, सोमबार ०५:०३