खाद्य प्रणालीको समीक्षा गरिँदै

सुर्खेत: कर्णालीको खाद्य प्रणालीबारे समीक्षा गरिने भएको छ । राष्ट्रिय योजना आयोगको पहलमा यही मंसिर २८ गते सरोकारवालाबीच समीक्षात्मक गोष्ठी गर्न लागिएको हो । विश्व खाद्य कार्यक्रमको प्राविधिक सहयोगमा प्रदेशस्तरीय खाद्य प्रणाली समीक्षा तथा योजना तर्जुमा कार्यशाला आयोजना हुने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेशमा खाद्य प्रणाली संवाद, उपलब्धी, खाद्य प्रणाली रूपान्तरणका लागि तीन वर्षमा गर्नुपर्ने कामका सन्दर्भमा समीक्षा गरिनेछ । मन्त्रालय र खाद्य सुरक्षा सूचना केन्द्र समीक्षा गोष्ठीका मुख्य आयोजक रहनेछन् ।

प्रादेशिक खाद्य प्रणालीको समीक्षा कार्यक्रमको पूर्व सन्ध्यामा आइतवार सो सम्बन्धी अन्तक्रिया कार्यक्रम गरिएको छ । खाद्य प्रणालीका ६ वटा कार्यक्षेत्रमा रहेर काम गर्न लागिएको मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले बताए । उनका अनुसार सबैका लागि स्वच्छ तथा पोषणयुक्त खाद्य पहुँचको सुनिचितता, दिगो खालको उपभोग पद्धतीको अवलम्बन, प्रकृतिलाई सकारात्मक प्रभाव पार्ने खालको उत्पादन प्रणालीको रणनीति बनाइएको छ । त्यस्तै, समन्यायिक जीवीकोपार्जनको अवस्था, जोखिम तथा विपद् विरुद्धमा उत्थानशील प्रणाली निर्माण गर्नेलगायतका रणनीति तयार पारिएको छ । प्रदेशमा सञ्चालन हुने खाद्य प्रणाली रूपान्तरणका कार्यक्रमहरू सरकारले जारी गरेको खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐनको नीतिगत परिधिभित्र रहेर अघि बढाइने प्रवक्ता कठायतले जनाए ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै कृषि मन्त्री चन्द्रबहादुर शाहीले कर्णालीको खाद्य असुरक्षाको समस्या समाधान गर्न खाद्य प्रणाली रूपान्तरणका कार्यक्रमहरू महत्वपूर्ण रहेको बताए । ती कार्यक्रम खाद्य अधिकार र खाद्य सम्प्रभुता ऐनको नीतिगत मार्गदर्शनमा सञ्चालन गरिने उनले जनाए । मन्त्री शाहीले कर्णालीमा खाद्य असुरक्षा रहेकोे बताउँदै स्वास्थ्य र माटोको दिगोपनाका लागि आवश्यक कार्यक्रम सञ्चालनमा जोड दिइने दाबी गरे । कर्णालीमा कृषि उत्पादन दिगो, पोषिलो र भरपर्दो हुनुपर्ने कार्यक्रमका सहभागिले बताएका थिए । सरोकारवालाका यिनै सुझावहरूलाई समेटेर प्रदेशस्तरीय खाद्य प्रणाली समीक्षा तथा योजना तर्जुमामा छलफल तथा निर्णयका लागि प्रस्तुत गरिने बताइएको छ ।

प्रकाशित मितिः   २६ मंसिर २०७९, सोमबार ०५:०२