वन व्यवस्थापनबारे नीतिगत संवाद
सुर्खेत: सामुदायिक वनको दिगो व्यवस्थापनसम्बन्धी सरोकारवालाबीच नीतिगत संवाद गरिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ केन्द्र र जिल्ला महासंघ सुर्खेतको आयोजनामा आइतवार वीरेन्द्रनगरमा संवाद कार्यक्रम गरिएको हो । समृद्धिका लागि वन प्रादेशीक नीति संवादमा सरोकारवालाले वनसम्बन्धी कानुन, वन उद्यमका अवसर तथा चुनौतीबारे छलफल गरेका थिए । कार्यक्रममा प्रस्तुती राख्दै वन विज्ञ नया शर्माले वन जंगलको सदुपयोग गर्न सके प्रचुर सम्भावना रहेको औल्याए । वनको दिगो व्यवस्थापन र उद्यमशीलताका लागि नीतिमा समस्या रहेको उनले बताए । ‘वन उद्यमको विकासमा नीतिगत समस्याहरू छन्,’ उनले भने, ‘तीन तहका सरकारबीच वन क्षेत्रको कसरी व्यवस्थापन गर्ने भन्ने ठोस नीति र समन्वयात्मक भूमिका आवश्यक देखिएको छ ।’ प्रदेश सरकारले ऐन र नियमावलीहरू निर्माण गर्दा वनका सवाललाई पनि ख्याल गर्नुपर्ने उनको भनाइ छ । अहिले राष्ट्रिय वन प्रदेश सरकारको मातहतमा छ भने वन जंगल तीन वटै तहका सरकारको साझा अधिकारको सूचिमा पर्दछ । त्यस्तै, जलाधार क्षेत्र स्थानीय तहको अधिकार क्षेत्रभित्र राखिएको छ । यसले गर्दा पनि वन संरक्षण तथा वनपैदावारको व्यवस्थापनमा अलमल र कठिनाइहरू देखिने गरेको विज्ञहरूले बताएका छन् ।
वन तथा कृषि विज्ञ गंगाराम दहालले वन क्षेत्र साझा प्राकृतिक स्रोतका रूपमा रहेकाले यसको संरक्षण तथा उपयोग सबैले गर्न पाउनुपर्ने जनाए । ‘वन व्यवस्थापनमा एक अर्को सरकार र निकायबीच कहिले काँही विवाद र अलमलको अवस्था देखिन्छ,’ उनी भन्छन्, ‘यसलाई नीतिगत रूपमै स्पष्ट पारेर सही व्यवस्थापन गर्न जरुरी छ ।’ वन र भूमिको स्वामित्वबारे प्रस्तुती राखेका दहालले नेपालमा वनको सदुपयोग हुन नसकेको बताए । वन व्यवस्थापनमा राज्यको लगानी वृद्धिका साथै नीतिमा सुधार गर्नुपर्ने उनी बताउँछन् । ‘वन उद्यममा स्रोत छैन, वनपैदावारबाट चल्ने उद्योग संकटमा छन्,’ उनले भने । वनमा आधारित उद्यमले नाफा मात्र कमाउने नभइ रोजगारी र मुलुकको अर्थतन्त्रमा पनि टेवा पुग्ने हुँदा यसतर्फ नीति निर्माण गर्नेहरूको ध्यान जानुपर्ने उनको भनाइ थियो । संवादमा कर्णाली प्रदेशसभाका नवनिर्वाचत प्रदेशसभा सदस्यहरू, जिल्ला समन्वय समितिका प्रमुख र स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । उनीहरूले कानुन निर्माण गर्दा विज्ञहरूले सुधारका लागि सुझाएका सवाललाई समेट्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् । स्थानीय सरकार तथा स्थानीयस्तरका समन्वयात्मक कार्यहरूबाट सामुदायिक वन अधिकारको सूनिश्चितामा टेवा पु¥याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताइएको छ । ‘द टेनियोर फेसिलिटी’ को आर्थिक सहयोगमा भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय महासचिव बिर्खबहादुर शाही, महासंघ सुर्खेतका अध्यक्ष शान्तिकुमारी सिंह, वन विज्ञ घनश्याम पाण्डेलगायतका सरोकारवालाको उपस्थिति रहेको थियो ।
प्रकाशित मितिः २६ मंसिर २०७९, सोमबार ०५:०१
साझा बिसौनी ।