निर्वाचन परिणाम र सन्देश

चुनावपछि देशले राजनैतिक निकास पाउँछ कि भन्ने जनताको थोरै आशामा फेरि निराशाको बाक्लो कुइरो लागेको छ। हाम्रो नियतिमा फेरि तिनै दुर्दशा दोहोरिने संकेत देखा पर्दै आइरहेको छ। निर्वाचन परिणामले कसैलाई बहुमत नदिनु भनेको ठूला दलहरू मिलेर जानू भन्ने सन्देश नै हो। साना दलहरू सबैलाई चित्त बुझाइ समेटेर सरकारमा जाँदा इच्छा विपरीत संविधानको दायरा नाघेर मन्त्रीमण्डल गठन गर्नुपर्ने बाध्यात्मक परिस्थिति आउँछ।

चुनावको मैझारो गरेर सम्भवतः यसै महिनाभित्र निर्वाचन आयोगले परिणाम घोषणा गर्नेछ । चुनावको समीक्षासँगै दलका नेताहरु सत्ता समीकरणको विषयमा अनौपचारिक छलफलमा व्यस्त छन् । आमसञ्चारको खबरअनुसार गठबन्धनमा आलोपालो सरकारको नेतृत्व गर्ने विषयमा भित्री तमसुक तयार पारिएको छ, जसरी विगतमा एमालेका अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच गोप्य रूपमा तयार पारि लुकाइएको थियो । त्यतिबेला प्रधानमन्त्रीको हैसियतले ओली भारत भ्रमणमा रहँदाका बखत, कुनै कुरामा चित्त नबुझेर होला सायद दाहाल स्वयम्ले यो रहस्य खोलिदिए । ओली बिच्किए, गोप्य सम्झौता सार्वजनिक भयो, कार्यान्वयनमा जानै सकेन । जनादेश विपरीत आलोपालो सम्झौतालाई जनताले पटक्कै निको मानेनन् । सायद पाठक वर्गमा पनि हेक्का हुनुपर्दछ, संविधान लागू भइसके पछाडि सुशील कोइराला पछि केपी ओली प्रधानमन्त्रीमा नियुक्ति भए । त्यतिखेर पनि गोप्य रूपमा आलोपालो सत्ताको नेतृत्व गर्ने भन्ने ढङ्गले मौखिक सहमति भएको रहेछ । चर्चामा नयाँ शब्दावली आएको थियो, भद्र सहमति । ओलीले भद्र सहमतिलाई चिनेको छैन, जानेको छैन भनी आलोपालोमा रूचि नदेखाएपछि दाहाल हैरान परे । आफ्नो संगठन निर्माण गर्ने जाँगर मारेर पदका लागि दल दलमा छलाङ हाने कित्ता फेरे । सायद कानुनी मान्यता पाउँछ भन्ने ठानेर होला त्यस्तो भद्र सहमतिलाई दाहालले पछि लिखित रूपमा ल्याउन थाले । एमाले र माओवादी पार्टी एकीकरण भएपछि शक्ति संघर्षले अन्तरकलह बढ्दै जाँदा लिखित सहमतिलाई पनि ओलीले चंगा बनाइदिए ।

मौखिक र लिखित सहमतिबाट पटक–पटक धोका पाएका दाहालले सत्ता समीकरण नगदमा लिने भनिरहेका छन् । नगद अर्थात् आलोपालोको पहिलो आधा कार्यकालको सरकार अफूले सम्हाल्ने । पछिल्लो कार्यकालको लागि उनी निर्धक्क छैनन् । यसमा कांग्रेसले आनाकानी नगरोस् भन्ने ढङ्गको चेतावनी दिन, पार्टीमा हतारले निर्णय गरेर सरकार गठनका सबै विकल्प खुला राखिने भन्ने अभिव्यक्ति आएको थियो । यसको सिधा अर्थ हो यता मोलतोल नमिले एमालेको बुइ चढेर सरकारमा जाने र कांग्रेसलाई थाङ्नामा सुताउने ।

अब कांग्रेस र एमाले मिलेर सरकार गठन गर्नुपर्छ भनी जनताका टीका टिप्पणीहरू सतहमा आउन थालेपछि कतै पासा उल्टो पल्टेर अनर्थ हुने त होइन ! असिना परेर सपना बगाउने त होइन ! फेरि हतार–हतारमा माओवादीका अर्का नेताको अर्को अभिव्यक्ति आयो, होइन जसले जे भने पनि जगतमा उत्तम गठबन्धन नै हो, गठबन्धनकै सरकार बन्नुपर्छ, बन्छ । यहाँ सरकार प्रमुखको अतृप्त चाहना राखेका दाहालको दलिल के छ भने, हिजो केपी ओलीले संसद् विघटन गर्दा विकल्पमा देउवालाई प्रधानमन्त्री बनाउन जोडजुलुम र ठूलो मेहनत परेको छ । त्यसको गुन अब तिरिनु पर्छ र प्रधानमन्त्रीको पहिलो प्राथमिकता आफुले पाउनुपर्छ । कांग्रेस पार्टीका कतिपय कार्यकर्ता दाहालको यो भनाइमा सहमत छैनन्, आफ्नो इच्छा विपरीत देउवाले प्रधानमन्त्री पद थामेका हुन् । नथामेका भए केही पार्टीलाई त्यतिखेर अस्तित्व जोगाउनै मुस्किल थियो । उनीहरूको त्यस किसिमको बुझाइलाई असत्य नै मान्न पनि सकिदैन ।

सत्ता समीकरणको मामिलामा देउवा र दाहालको मनपेट मिलेर मात्रै पुग्दैन, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि मुख मिठ्याइ रहेका छन् । सबै प्रदेशसहित केन्द्रमा पनि प्याकेजमै सहमति गर्न उनी अत्तो थापिरहेका छन् । सबैलाई भाग पु¥याउन गाह्रो छ । कांग्रेसबाट मुखरित भएका र नभएका प्रधानमन्त्री पदका आकांक्षी ६ जना, माओवादी र समाजवादीबाट एक–एक जना गरी आठ जना छन् । पाँच वर्षको कार्यकाल आठ जनालाई भाग लगाउँदा एक जनालाई साढे सात महिना पर्न आउँछ । हिजो जनतासँग मत माग्दाका बखत गठबन्धनका तर्फबाट प्रधानमन्त्रीमा कसैको नाम प्रस्तावित हुन सकिरहेको थिएन । कोही प्रधानमन्त्रीको रूपमा अघि सर्दा कपटी नेताका अनुहारसँग जनता भड्किन्छन् र नराम्रो असर पर्छ भन्ने डर पसेको थियो मनमा । बल्ल तल्ल चुनावी खड्गो काटेर आएपछि प्रधानमन्त्री पदका लागि एक से एक टाउकाहरू उफ्रिरहेका देखिन्छन् ।

स्थानीय तहको निर्वाचनमा जुन परिणाम आयो त्यसबाट गठबन्धन निकै हौसियो । त्यसको रुझान हेरेर संसदीय निर्वाचन परिणामलाई जोखिएको थियो । जनताले हामीलाई सत्ताको चाबी सुम्पिए, संसदीय निर्वाचनमा अब हामी नै बलियो तेस्रो दल हुनेछौँ भन्ने किसिमको अभिव्यक्ति त्यसैको आधार थियो । हाम्रो मर्जीविना कसैले सरकार बनाउन सक्नेछैन । दाहालले त्यसो पनि भन्न भ्याए हिजो । विपक्षलाई पत्तासाफ पारी राज गर्ने भन्दै न्वारानदेखिको बल झिकेर सिन्डिकेट लगाए । चुनावमा सिद्धान्त, विचार, नीति आदर्श निष्ठालाई आगो झोसेका ठूला राजनीतिक दलहरूको आ–आफ्नै आत्मा केन्द्रित र मनोगत स्वार्थ थियो । वामपन्थीहरूलाई कुनै पनि हालतमा कतै मिल्न नदिन कटिबद्ध थिए देउवा किन कि एमाले र माओवादी मिल्दाको परिणाम अघिल्लो कार्यकालमा भोगेका थिए । भाइ फुटे गंवार लुटे भने झैँ ओलीको सेखी झारेर एमालेको आकार घटाउन दिलोज्यान दिएका थिए दाहाल नेपालले । त्यति मात्र होइन आफ्नो पार्टीको अस्तित्व जोगाउनका लागि पनि गठबन्धनको सहारा अनिवार्य थियो उनीहरूलाई । ओलीले पनि भित्रका आलोचकलाई ठेगान लगाइ भित्तामै पु¥याउन र बाहिरका विरोधीको जरा खोतल्न कुनै कसर छोडेका थिएनन् ।

चुनावी परिणाम स्थानीय तहको जस्तो माओवादीलाई अनुकूल पर्ने भइदिएन । सत्ता गठबन्धनको रणनीतिलाई जनमतले असफल पारिदियो । न कांग्रेसले सोचे जस्तो प्रत्यक्ष र समानुपातिकमा गरी सय सीट काट्न सक्यो न एमालेले विगतको आफ्नो विरासत जोगाउन सक्यो । बरु पार्टीका माथिल्ला तहका केही महारथीहरूलाई संसद् जान तगारो हाल्यो समयले । पुराना ठूला पार्टी प्रतिको घृणा र तिक्तताले युवा जमातको मत अन्यत्र पोखिएर नयाँ राष्ट्रिय पार्टीहरूको जन्म भयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको उचाइ थप चुलियो, पार्टीमा नेतृत्व परिवर्तनले कत्रो प्रभाव पर्दोरहेछ भन्ने प्रष्ट नमुना बनेको छ उनको व्यक्तित्व । भ्रष्टाचारको जरा ओखल्ने एक नाराले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने चौतर्फी हाइ हाइ भए । सत्ता र पदका लागि ईमान, धर्म केही बाँकी नराख्ने सधै झुक्याएर चुनाव जित्न खोज्ने बेइमान राजनीतिलाई धुलो चटाइदिए जनमत पार्टीका सिके रावतलाई जनताले सहर्ष स्वीकारे । जन्मदै राष्ट्रिय पार्टीको दर्जा पाउनु भनेको चानचुने कुरा होइन । बहुमत कसैको नआए पनि प्रत्यक्षतर्फ धेरै सांसद संख्याले कांग्रेस पहिलो पार्टी भएको छ । त्यही कांग्रेस समानुपातिकमा दोस्रो हुन पुग्यो, प्रत्यक्षमा पहिलो पार्टी समानुपातिकमा के कारणले दोस्रो हुन्छ ? समानुपातिकमा आ–आफ्ना श्रीमतीलाई व्यवस्थापन गरेको कुरा के जनताले बुझ्दैनन् र ? विडम्बना नेपालमा गणतन्त्र भनेको नेता, तिनका स्वास्नी, छोरी बुहारी र ज्वाईंहरूलाई राजनीतिमा हुल्ने व्यवस्था सावित हुँदै जान थालेको छ ।

विधिवत रूपमा नतिजा घोषणा नहुँदै गठबन्धन राजनीति घटक उत्ताउलिएर सत्ताको भागबन्डा लगाउने अभ्यास मात्र गरेको छैन, राजदूतावासको दैलादैला चहारेर पदको लागि हारगुहार गरिरहेको कुरा सार्वजनिक भइरहेको छ । यो चुनाव पछि देशले राजनैतिक निकास पाउँछ कि भन्ने जनताको थोरै आशामा फेरि निराशाको बाक्लो कुइरो लागेको छ । हाम्रो नियतिमा फेरि तिनै दुर्दशा दोहोरिने संकेत देखा पर्दै आइरहेको छ । निर्वाचन परिणामले कसैलाई बहुमत नदिनु भनेको ठूला दलहरू मिलेर जानू भन्ने सन्देश नै हो । साना दलहरू सबैलाई चित्त बुझाइ समेटेर सरकारमा जाँदा इच्छा विपरीत संविधानको दायरा नाघेर मन्त्रीमण्डल गठन गर्नुपर्ने बाध्यात्मक परिस्थिति आउँछ । दाँत हालेका वृद्ध नेताका मन बुझाउन उप–प्रधानमन्त्री बाँड्नुपर्ने हुन्छ । यसो गर्दागर्दै पनि सरकार सधै अस्थिर र कमजोर भइरहन्छ । बरु जन भावना अनुरुप ठूला दल मिलेर जाँदा आशंकाको कुइरो फाट्छ, सरकार बलियो र स्थिर हुन्छ, विकृति विलाउँछ, देशले विकास पाउँछ, जनताले राहत पाउँछन् । विगतको तितोपिरो बिर्सेर कांग्रेस र एमाले मिल्नुपर्छ जनभावनाको कदर गर्नुपर्छ ।

प्रकाशित मितिः   २४ मंसिर २०७९, शनिबार ०५:०३