सामुदायिक विद्यालयमा समस्याका चाङ

सुर्खेत: दैलेखको गुराँस गाउँपालिका–५ डाँडापोखरामा रहेको सिद्ध प्राथमिक विद्यालयमा राहत दरबन्दीका एक जना शिक्षक छन् । एक शिक्षकको भरमा सञ्चालन भइरहेको विद्यालयमा पूर्वप्राथमिक ‐बालविकास) देखि कक्षा तीनसम्म पढाइ हुन्छ । उक्त विद्यालयमा २९ जना विद्यार्थी छन् । शिक्षकको अभाव मात्र नभइ त्यहाँ भौतिक पूर्वाधारको पनि उस्तै बिजोग छ । पर्याप्त कक्षा कोठा, सिकाइ सामग्री र खेल मैदानजस्ता शैक्षिक पूर्वाधार छैनन् । विद्यालयकी एक्ली शिक्षक गौरी शाही दरबन्दीअनुसारको जनशक्ति नहुँदा पठनपाठन निकै प्रभावित भएको बताउँछिन् । शाहीको काँधमा प्रधानाध्यापकको जिम्मेवारी पनि छ । ‘विद्यालयमा एक जना सहयोगी कर्मचारी हुनुहुन्छ, बालविकासका कतिपय कक्षा उहाँले लिने गर्नुभएको छ,’ उनले भनिन् । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म विद्यालयमा करार सेवामार्फत राखिएका शिक्षकहरू थिए । उतिबेला पठनपाठन केही सहज थियो । पाँच महिनाअघि चालु आर्थिक वर्ष सुरु भएसँगै गाउँपालिकाले करार सेवामा कार्यरत शिक्षक कर्मचारी हटाएको थियो । त्यसबेला बालविकास शिक्षिका पनि हटाइए । हालसम्म शिक्षकहरूको व्यवस्थापन भएको छैन । प्रधानाध्यापक शाही कम्तीमा तीन जनासम्म शिक्षक भएमा पठनपाठन सहज हुने बताउँछिन् ।

सोही गाउँपालिकाको–५ मा रहेको गुराँस आधारभूत विद्यालयमा बाल विकासदेखि कक्षा आठसम्म पढाइ हुन्छ । यो विद्यालयमा निम्न माध्यमिक विद्यालय तहमा सामाजिक र नेपाली विषयका शिक्षक छैनन् । एक जना गणित र विज्ञापन विषयका शिक्षक करारमा कार्यरत छन् । करारमा कार्यरत शिक्षकले साउनदेखि तलब पाएका छैनन् । अहिले निम्न माध्यमिक तहको पठनपाठन दुई जना शिक्षकले धानिरहेको प्रधानाध्यापक छविलाल बिसीले बताए । बाल विकास शिक्षकहरू नभएकाले पूर्वप्राथमिक तहका बालबालिकालाई पनि निम्न माध्यमिक तहका विद्यार्थीसँगै राखेर सिकाउने गरिएको छ । शिक्षक अभावमा पठनपाठन प्रभावित भएको भन्दै उनले यसतर्फ गाउँपालिका गम्भीर बन्नुपर्ने जनाए । यहाँ पनि विद्यालय भवन जीर्ण छ । न शैक्षिक सामग्री छन् न त कक्षा कोठा नै व्यवस्थित छन् । आफ्ना विद्यालयमा समस्याका चाङ्ग रहेको बिसीको भनाइ छ । शिक्षकहरूका अनुसार विद्यालयमा अभिवाकहरूको समेत चासो कम छ । यसअघिको विद्यालय व्यवस्थापन समितिको कार्यकाल सकिएको लामो समय भइसक्दा नयाँ समिति गठन हुन सकेको छैन ।

यी दुई वटा प्रतिनिधिमूलक सामुदायिक विद्यालय हुन् । गुराँस गाउँपालिकाका अधिकांश विद्यालयको हालत पनि यस्तै छ । शिक्षक र शैक्षिक वातावरणको अभावमा सिकाइ उपलब्धीसमेत अपेक्षित हुन नसकेको शिक्षकहरू बताउँछन् । विद्यालयमा शिक्षक र विद्यार्थीहरूको नियमितता समेत छैन । विद्यालयहरूमा अपाङ्गमैत्री संरचना छैनन्, सबैजसो विद्यालयमा खानेपानी, शौचालयजस्ता आधारभूत पूर्वाधारको कमी छ । गुराँस आधारभूत विद्यालयमा कक्षा आठमा अध्ययनरत छात्र प्रेमप्रसाद कँडेल विषयगत शिक्षक नहुँदा एउटै शिक्षकले दुई÷तीन वटा विषयसम्म पढाउने गरेको बताए । ‘शिक्षक नभएका विषयहरू अरु सरहरूले पढाउने गर्नुभएको छ,’ उनले भने, ‘गणित र विज्ञानको शिक्षक नहुँदा लामो समय पढाइ बन्द भयो, अहिले पढाउने सरले पनि तलब पाएको छैन भन्नुहुन्छ ।’

पालिकामा रहेका विद्यालयहरूमा शिक्षक र भौतिक संरचना नभएको गुनासो बढ्न थालेपछि सुधारका लागि अहिले अनुगमन थालिएको जनाइएको छ । गुराँस गाउँपालिकाका शिक्षा शाखा अधिकृत भुपेन्द्र भण्डारीले विद्यालयहरूको समग्र सुधारका लागि अनुगमन भएको र सोही अध्ययनको आधारमा व्यवस्थापन गर्ने तयारी भइहेको बताउँछन् । उनले गाउँपालिकामा शैक्षिक उपलब्धी हासिल गर्नका लागि काम गर्ने बताए । गुराँस गाउँपालिकाले चालु आर्थिक वर्षको सुरुवातमै करार कर्मचारी हटाउँदा त्यसमा ४८ जना शिक्षक पनि हटाइएका थिए । त्यसमध्ये निम्न माध्यमिक र माध्यमिक तहमा भने अझै पनि उनै शिक्षकहरूले पढाइरहेका छन् । पालिकाको निर्णयअनुसार अर्को व्यवस्था नहुँदासम्मका लागि भनेर तिनै शिक्षकले पढाइरहे पनि तलब भने पाएका छैनन् । पालिकाले बाल विकास र प्राथमिक तहका विद्यालयहरूका लागि शिक्षकको व्यवस्था अझै गरेको छैन । शिक्षा शाखाका अधिकृत भण्डारी गाउँपालिकाले विद्यालयहरूको अवस्थाबारे अनुगमन गरिरहेकाले आवश्यकता अनुरूप शिक्षक व्यवस्थापन हुने बताउँछन् ।

प्रकाशित मितिः   २४ मंसिर २०७९, शनिबार ०५:०५