कृषि क्षेत्र जोगाऊ
कृषि उत्पादनमा कर्णाली कमजोर छ । जसका कारण परनिर्भर छ । आयात गर्नुपर्ने बाध्यता छ । उत्पादन बढ्न सकेको छैन । भएकै खेतियोग्य जमिनको सदुपयोग हुन सकेको छैन । त्यसमाथि पछिल्लो समय प्रदेशमा कृषि क्षेत्र घटेको पाइएको छ । खेती घट्दै गएको छ । गत वर्ष प्रदेशभर खेतीयोग्य जमिनमध्ये ७२ प्रतिशतमा कृषि गरिएकोमा यो वर्ष घटेर ६३ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षभन्दा यसपालि नौ प्रतिशत कम क्षेत्रमा खेती गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्क छ । खेती गर्ने जनशक्तिको अभावमा धेरै खेतीयोग्य क्षेत्र अहिले पनि बाँझो रहेको छ । प्रदेश सरकारले खेतीयोग्य बाँझो जमिन उपयोग सम्बन्धी विभिन्न नीति तथा कार्यक्रम सञ्चालन गर्दै आए पनि कृषि क्षेत्र घटेको पाइएको हो ।
यहाँ खेतीयोग्य २८ प्रतिशत जमिनमा बाली नै लगाइँदैन । प्रदेशका सबैजसो जिल्लामा खेतीयोग्य जमिन बाँझो छ । हजारौँ हेक्टर जमिन खेती नगरी बाँझो राख्दा कृषि उत्पादनसमेत न्यून हुने गरेको छ । प्रदेशमा कूल दुई लाख ९९ हजार तीन सय ३९ हेक्टर खेतीयोग्य जमिन छ । त्यसमध्ये दुई लाख १६ हजार आठ सय ८० हेक्टर अर्थात् ७२ प्रतिशत क्षेत्रमा मात्रै खेती गरिँदै आएको हो । खेती गर्न सकिने ८२ हजार चार सय ५९ हेक्टर जमिन बाँझो रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । कृषि क्षेत्रको विकास तथा विस्तारमा सरकारी तथा गैरसरकारी क्षेत्रले बर्सेनि लगानी बढाए पनि त्यसको प्रतिफल भने निकै न्यून देखिने गरेको छ । बाँझो जमिनको सदुपयोग गर्न कर्णाली सरकारले व्यावसायिक कृषि करारको व्यवस्था गरेको छ । त्यसको प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन । प्रदेशको खाद्य तथा पोषण सुरक्षा सुनिश्चित गर्न र कृषियोग्य जमिनको सदुपयोग गर्न सरकारी निकायबाट थालिएका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन नभएको देखिन्छ ।
पाँच वर्षअघि कर्णाली सरकार गठन भएलगत्तै बाँझो जमिन जोतेर खेती गर्ने नीति–कार्यक्रम ल्याएको थियो । बाँझो जमिनमा खेती गर्नेलाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु गरिएका कार्यक्रमले निरन्तरता पाएपनि अपेक्षित प्रगति हासिल हुन नसकेको हो । पछिल्लो पुस्तामा कृषि पेसामा आकर्षण नहुँदा सयौँ हेक्टर खेतीयोग्य जमिन बाँझो छ । भौगोलिक विकटता, कम उत्पादन, बसाइँसराइ, समयमै मलबिऊ नपाउनु, कृषि प्रविधि तथा सिँचाइको अभाव जस्ता कारणले खेती गर्ने क्षेत्र घट्दै गएको हो । खासगरी युवा जनशक्ति गाउँमा कम भएकाले पनि खेतीयोग्य जमिन बाँझो हुने गरेको हो ।
प्रकाशित मितिः २३ मंसिर २०७९, शुक्रबार ०५:०३
सम्पादकीय ।