हिंसा विरुद्धका अभियान ‘कोठे कार्यक्रम’ मा सीमित
सुर्खेत: यतिबेला महिला हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन भइरहेको छ । अभियान अन्तर्गत मंसिर ९ गतेदेखि २४ गतेसम्म सरकारी तथा गैरसरकारी निकायबाट विविध कार्यक्रम गरिने छन् । अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसका अवसरमा हरेक वर्ष झन्डै दुई साता यसरी नै हिंसा विरुद्धका गतिविधि गरेर अभियानलाई निरन्तरता दिइँदै आएको छ । त्यस्ता कार्यक्रम भने न लक्षित वर्गमा पुग्न सकेका छन् न त अभियानको प्रभावकारिता नै देखिएको छ । तामझामका साथ सहरी क्षेत्रमा मात्रै आयोजना हुने सचेतनामूलक कार्यक्रम औपचारिकतामा सीमित हुँदा अभियानकै औचित्यमाथि प्रश्न उठ्ने गरेको छ । बर्सेनि सञ्चालन हुने हिंसा विरुद्धका अभियानमा ग्रामीण क्षेत्रका महिलाहरू समेटिन नसकेको सरोकारवालाहरू बताउँछन् ।
हिंसाको कहरमा रहेका महिलाहरू यस्ताखालका कार्यक्रम र अभियानबारे अनभिज्ञ रहेको वीरेन्द्रनगर–५ की माया बस्यालले बताइन् । ‘जसका लागि अभियान सञ्चालन गर्नुपर्ने हो उनीहरूलाई नै थाहा हुँदैन,’ उनले भनिन्, ‘यसरी आयोजना हुने कोठे कार्यक्रमले महिला हिंसा न्यूनीकरण कसरी हुन्छ ?’ महिला हिंसा विरुद्धको अभियान अन्तर्गत मंगलवार वीरेन्द्रनगरमा आयोजित एक गैरसरकारी संस्थाको कार्यक्रममा सहभागी उनले हिंसा विरुद्धका अभियानहरूले लक्षित वर्गका महिलाको सहभागिता सुनिश्चित गर्न नसक्ने जनाइन् । वीरेन्द्रनगरमा अहिले दैनिकजसो महिला हिंसा विरुद्धका कार्यक्रम भइरहेका छन् । यी कार्यक्रमका लागि स्थानीय तह, प्रदेश सरकार, विभिन्न दातृ निकायले ठूलो बजेटसमेत खर्चिने गरेका छन् । महिला हिंसा अन्त्यका लागि सचेतनामूलक गतिविधि गर्न योजना निर्माण र बजेट खर्च गरेर थुप्रै अभियानहरू सञ्चालन गरिए पनि अपेक्षित प्रतिफल देखिएको पाइदैन । कर्णाली प्रदेशमा हरेक वर्ष बढिरहेको महिला हिंसाका उजुरीको ग्राफले यसलाई सहजै पुष्टि गर्छ ।
ग्रामीण भेकदेखि सहरी क्षेत्रसम्मका महिलाहरू अहिले पनि न्यायको सहज पहुँचमा छैनन् । कानुुनी सचेतनाको अभावले हिंसा सहेर बस्नुुपर्ने बाध्यतामा छन् । अभियानहरूको लाभ पीडित महिलाहरूले लिन नसकेको बस्यालले बताइन् । उनले सचेतनाका कार्यक्रम वडा तथा बस्तीस्तरमा पु¥याइनुपर्ने धारणा राखिन । सोही कार्यक्रममा सहभागी वीरेन्द्रनगर–७ की खिमा सोतीमगरले ग्रामीण भेगका महिलाको अवस्था दर्दनाक रहेको बताइन् । उनी भन्छिन्, ‘लैङ्गिक हिंसा विरुद्धको कार्यक्रममा जाँदा धेरैजसो सुकिला मुुकिलाकै उपस्थिति देखिन्छ । वीरेन्द्रनगरका होटल र सभाहलहरूमा केही मानिसहरू जम्मा भएर छलफल गर्दैमा हिंसा न्यूनीकरण हुन्छ भन्ने लादैन ।’ अधिकांश घरेलु हिंसाबाट पीडित महिलाहरू कानुुनी सचेतनाको अभावमा न्यायका लागि अघि बढ्न नसकेको उनको भनाइ थियो । वीरेन्द्रनगर–११ की भविसरा गन्दर्भले आफूहरूको समुदायमा महिलाहरूको अवस्था झनै नाजुक भएको बताइन् । हामीले सामाजिक विभेददेखि घरेलु हिंसाको सिकार बन्नु परिरहेको छ, उनले स्थानीय सरकारका प्रतिनिधिहरूलाई प्रश्न गर्दै भनिन्, हाम्रा गाउँबस्ती यस्ता कार्यक्रम कहिले पुग्छन्, पीडित दिदीबहिनीहरू न्यायको लागि कहाँ र कसरी जाने हो ?’ उनले स्थानीय र प्रदेश सरकारले हरेक वर्ष ल्याउने महिला लक्षित कार्यक्रमको लाभसमेत आफूहरूले लिन नपाएको गुनासो गरिन् ।
आयआर्जन र रोजगारीका क्षेत्रहरूमा सहभागिता कम हुँदा घरेलु हिंसामा धेरैजसो महिलाहरू पर्ने गरेको सरोकारवाहरूले बताएका छन् । आर्थिक रूपमा बलियो र आत्मनिर्भर नहुँदा महिलाहरूमाथि त्यही निहुँमा हिंसा हुने गरेको महिला सशक्तिकरण मञ्चका कार्यक्रम संयोजक लक्ष्मी जिसी बताउँछिन् । उनका अनुुसार बेरोजगार बसिरहेका महिलाहरू धेरै परिवारबाट विभिन्न हिंसा खेप्न बाध्य छन् । हिंसा अन्त्यका लागि महिलाहरूलाई आयआर्जनका गतिविधिमा जोड्ने र सचेतनामूलक कार्यक्रम लक्षित वर्गसम्म लैजानुपर्ने जिसीले बताइन् । आर्थिक रूपमा सशक्त भए महिलाहरू पारिवारिक र समाजिक रूपमा पनि बलियो हुने उनको तर्क छ । वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनाल महिलाहरूलाई स्वरोजागर बनाउन आर्थिक उपाजर्नका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउँछन् । उनले आगामी दिनमा सरकारी र गैरसरकारी संस्थाका महिला लक्षित कार्यक्रम तथा अभियानहरूलाई एकद्धार प्रणालीबाट सञ्चालन गर्ने योजना रहेको बताए ।
उसो त आत्मनिर्भर भएका र शिक्षित परिवारकै महिलाहरू पनि विभिन्न बहानामा श्रीमान् र परिवारका सदस्यहरूबाट हिंसा खेपिरहेका छन् । सहरी क्षेत्रकै शिक्षित समाजमा पनि महिला हिंसाको थुप्रै घटनाहरू हुने गरेको गुर्भाकोट नगरपालिकाका उपप्रमुख मैना विक बताउँछिन् । उनले कानुनको प्रभावकारी कार्यान्वयन नहुनु, पीडित महिलामाथि उल्टै अनेक दवाव र प्रभाव देखाइनुजस्ता कारणले उनीहरूले न्याय पाउन नसकेको जनाइन् । ‘शिक्षित परिवारकै महिलाहरूलाई आफ्नो न्यायका लागि लड्न चुनौती छ,’ उनी भन्छिन्, ‘महिलामाथि हिंसा गर्ने जोकोहीलाई कानुनी रूपमा दण्डित नगरेसम्म हिंसाका घटनामा कमी आउने देखिँदैन ।’ उनले महिलाहरू लैङ्गिक विभेद, घरेलु हिंसा, बहुविवाह, बलात्कार र विभिन्न सामाजिक अन्धविश्वासको सिकार हुने गरेको बताइन् । ठूलाबडाका लागि कानुुन लाग्दैन भन्ने सोच अहिले पनि समाजमा हाबी गरेको उनी बताउँछिन् । महिला हिंसा विरुद्धका अभियानलाई लक्षित वर्गसम्म पु¥याउन सरकारी र गैरसरकारी निकायले जोड दिन आवश्यक रहेको उपप्रमुख विकको भनाइ छ । महिलामाथि हुने सबैखाले हिंसाको अन्त्यका लागि विभिन्न निकायले वर्षाैंदेखि दवाव तथा सचेतनामूलक अभियानहरू सञ्चालन गरेपनि त्यसको प्रभावकारिता भने न्यून देखिने गरेको छ ।
प्रकाशित मितिः २१ मंसिर २०७९, बुधबार ०५:०५
रजनी याेगी ।