धान उत्पादन घट्यो

प्रदेशभर दुई हजार हेक्टर क्षेत्रफलमा खेती विस्तार गरिए पनि धान उत्पादनमा तीन प्रतिशतले कमी

सुर्खेत: कर्णाली प्रदेशमा धानको उत्पादनमा कमी आएको छ । अघिल्लो वर्षको तुलनामा यसपटक ६ हजार पाँच सय ६० मेट्रिक टन कम धान उत्पादन भएको हो । प्रदेशभर यो वर्ष एक लाख ६८ हजार नौ सय मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष कर्णालीमा एक लाख ७५ हजार चार सय ६० मेट्रिक टन धान उत्पादन भएको थियो । गत वर्षभन्दा यसपालि धान उत्पादन तीन प्रतिशतले घटेको कृषि विकास निर्देशनालयले जनाएको छ । यस वर्ष धान खेतीको क्षेत्रसमेत विस्तार गरिएको थियो । दुई हजार हेक्टर क्षेत्र विस्तार हुँदा पनि विगतभन्दा उत्पादन घटेको निर्देशनालयको तथ्याङ्क छ । निर्देशनालयका कृषि अधिकृत माधव कोइरालाले गत वर्षभन्दा दुुई हजार हेक्टर क्षेत्रफलमा धान खेती विस्तार गरिएकोमा उत्पादन भने अपेक्षित नभएको बताए ।

रोपाइँको समयमा मल उपलब्ध नहुनु, रोगकिराको प्रकोप, प्रतिकूल मौसम र प्राकृतिक विपद्ले बालीमा क्षतिलगायतका कारण उत्पादन बढ्न नसकेको बताइएको छ । कोइरालाका अनुसार गत वर्ष प्रदेशभर ४६ हजार पाँच सय ८७ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । यो वर्ष क्षेत्रफल बढाएर ४८ हजार एक सय ३३ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । यसपटकको बेमौसमी वर्षात् नै धान उत्पादन घट्नुुको प्रमुुख कारण रहेको निर्देशनालयले जनाएको छ । गएको असोज तेस्रो सातादेखि लगातार एक साता परेको बेमौसमी झरीले भिœयाउन तयारी अवस्थामा रहेको धान बालीमा ठूलो क्षति गरेको थियो । निरन्तरको भारी वर्षाले पाकेको धान नोक्सान गर्दा उत्पादन घटेको हो ।

बेमौसमी वर्षाले प्रदेशका सबैजसो जिल्लामा धान उत्पादनमा असर गरेको छ । सुर्खेतमा १५ हजार दुई सय ४० हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा ७१ हजार दुई सय ९४ मेट्रिक टन धान उत्पादन भएको छ । यो अघिल्लो वर्षको तुलनामा कम हो । सुर्खेतमा धानको उत्पादकत्व चार दशमलव ६८ प्रतिशत रहेको निर्देशनालयले जनाएको छ । मुुगुमा यो वर्ष चार हजार दुुई सय ७७ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । त्यहाँ पाँच हजार चार सय ३४ मेट्रिक टन धान उत्पादन भएको छ । अघिल्लो वर्षको तुलनामा उत्पादनमा केही कमी आएको जिल्लास्थित कृषि विकास कार्यालयले जनाएको छ । त्यस्तै, दैलेखमा आठ हजार पाँच सय आठ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा २६ हजार पाँच सय मेट्रिक टन धान उत्पादन भएको छ । अघिल्लो वर्षको तुलनामा यो कम उत्पादन हो । जमिनको तीव्र खण्डीकरण र जथाभाबी प्लटिङ्का कारण खुम्चिँदै गएको धान उत्पादनमा यसवर्षको बेमौसमी वर्षाले आएको बाढीपहिरोले उत्पादनमा थप असर गरेको जिल्ला कृषि विकास कार्यालय दैलेखका अर्थ विज्ञ झलक भण्डारी बताउँछन् । ‘धानका नयाँ जात हावापानी अनुुकूल नहुुँदा पनि उत्पादन घटेको छ,’ उनले भने, ‘मौसम प्रतिकूल हुनु, किसानहरूले समयमै मलबिउ नपाउनु तथा रोगकिराको प्रकोपजस्ता कारणले उत्पादनमा कमी आएको देखिन्छ ।’

यो वर्ष सल्यानमा सात हजार ६२ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । उक्त जिल्लामा ३० हजार पाँच सय ५६ मेट्रिक टन धान उत्पादन भएको छ । रुकुुम–पश्चिममा तीन हजार ४८ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । त्यहाँ पनि गएको वर्षभन्दा यसपालि धान उत्पादन घटेको निर्देशनालयको तथ्याङ्क छ । निर्देशनालयलाई स्थानीय तह र जिल्लास्थित कृषि विकास कार्यालयहरूले धान उत्पादनको विवरण उपलब्ध गराएका छन् । जसमा गतवर्षको तुुलनामा उत्पादन घटेको पाइएको हो । गतवर्ष प्रदेशमा धानको उत्पादकत्व तीन दशमलव ६७ प्रतिशत रहेकामा यो पटक तीन दशमलव ५१ प्रतिशत देखिएको निर्देशनालयका कृषि अधिकृत कोइरालाले बताए ।

गएको असोजमा भारी वर्षाका कारण प्रदेशका विभिन्न ठाउँमा बाढी आउँदा खेतीयोग्य थुप्रै जमिन बगाएको थियो । वर्षाले डोल्पा, हुुम्ला, जुुम्ला, मुुगुु र कालीकोटमा खेतीयोग्य जमिन र धानबालीमा नोक्सान गरेको थियो । गतवर्ष पनि कर्णालीमा बेमौसमी वर्षाले धान बालीमा ठूलो क्षति गरेको थियो । वर्षाका कारण किसानले पाकेको बाली थन्काउन पाएका थिएनन् । यो वर्ष पनि धान बालीसहित कतिपय ठाउँमा खेत नै बगाउँदा उत्पादन घटेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी रामभक्त अधिकारीले जनाए । उनले भने, ‘यसपटक वर्षाले हिमाली जिल्लामा धेरै क्षति ग¥यो । बाली लगाएको खेत नै बगाउँदा किसानले धान भिœयाउन पाएनन् ।’ बेमौसमी वर्षात् नै यसपालि धान उत्पादन घट्नुुको प्रमुुख कारक रहेको उनको भनाइ छ । मन्त्रालयका अनुसार यो वर्ष किसानले मागअनुसार मलसमेत पाएनन् । मलको अभाव हुँदा धान सप्रिन नपाएको किसानहरू बताउँछन् । कर्णालीका अधिकांश जिल्लामा बर्सेनि खाद्यान्नको अभाव हुने गरेको छ । यहाँको खेती प्रणाली व्यावसायिक बन्न सकेको छैन । परम्परागत खेती, किसानले समयमै मल बीउ नपाउनु तथा प्राकृतिक विपद्जस्ता कारणले धानसहित अन्य बालीहरूको उत्पादन बढ्न सकेको छैन । प्रदेशमा पछिल्ला वर्षहरूमा खेतीयोग्य जमिनको क्षेत्र भने विस्तार हुँदै गएको छ ।

प्रकाशित मितिः   १८ मंसिर २०७९, आईतवार ०५:०५