ह्वील चेयर दौड प्रतियोगिता

सुर्खेत: ह्वील चेयर दौड प्रतियोगिता गरिएको छ । शनिवार वीरेन्द्रनगरमा भएको ह्वील चेयर दौड प्रतियोगितामा कूलबहादुर बुढामगर प्रथम भएका छन् । अपाङ्गता भएका व्यक्तिहरूको ३१औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा प्रतियोगिताको आयोजना गरिएको हो । नेपाल पारा ओलम्पिक कमिटी कर्णाली प्रदेशको आयोजनामा प्रतियोगिता भएको थियो । प्रतियोगितामा नौले सहकारी दोस्रो र पूर्ण सिजापति तेस्रो भएका छन् । ह्वील चेयर दौड प्रतियोगितामा अपाङ्गता भएका सात जना सहभागी भएका थिए । संयुक्त राष्ट्र संघको आह्वानमा प्रत्येक वर्ष डिसेम्बर ३ का दिनलाई अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाइँदै आइएको छ । यस क्रममा यो वर्ष ३१औँ अन्तर्राष्ट्रिय दिवस ‘समावेशी विकासका लागि रूपान्तरित समाधानः पहुँचयुक्त र समतामूलक विश्वका लागि ऊर्जावान सिर्जनशीलताको प्रावधान’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । देशभरजस्तै सुर्खेतमा पनि विविध कार्यक्रमको आयोजना गरी दिवस मनाइएको छ ।

प्रकाशित मितिः   १८ मंसिर २०७९, आईतवार ०५:०२