अभिमतको कदर गर

कर्णाली प्रदेशमा मंसिर ४ गते सम्पन्न निर्वाचनको मतगणना सकिएको छ । प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फको मतगणना सकिएको हो । प्रत्यक्षतर्फबाट चुनिएका २४ जना प्रदेशसभा सदस्यको टुँगो लागिसकेको छ भने समानुपातिकतर्फका सदस्यहरूको नाम टुँगो लाग्न बाँकी छ । निर्वाचन आयोगले केही दिनमै त्यसको पनि टुँगो लगाउनेछ । समानुपातिकबाट प्रदेशसभा सदस्य चुनिनेहरूको टुँगो लागेसँगै आगामी पाँच वर्षका लागि प्रदेशसभा कस्तो बन्छ र त्यसभित्रको राजनीतिक शक्ति सन्तुलन तथा समीकरण कस्तो बन्छ भन्ने पनि यकीन हुनेछ । यसका लागि निर्वाचन आयोगको अन्तिम घोषणा कुनैपर्ने हुन्छ । तथापी मोटामोटी परिदृष्य भने देखा परिसकेको छ ।

समानुपातिकतर्फको अन्तिम मत परिणामअनुसार कर्णालीमा नेकपा (एमाले) पहिलो दल बनेको छ । एमालेले यसपटक पनि २०७४ को लोकप्रियतालाई कायमै राखेको हो । प्रदेशसभातर्फ एमालेले समानुपातिकमा एक लाख ८३ हजार नौ सय ५० मत प्राप्त गरेको छ । अघिल्लो निर्वाचनमा पनि एमाले पहिलो दल बनेको थियो । प्रदेशमा लोकप्रिय मतमा नेपाली कांग्रेस दोस्रो र नेकपा ‐माओवादी केन्द्र) तेस्रो भएको छ । चुनावी तालमेलका कारण प्रत्यक्षतर्फको ‘पोजिसन’ विगतभन्दा बदलिए पनि समानुपातिकमा भने मुख्य दलहरू आ–आफ्नै स्थानमा देखिएका छन् । कांग्रेसले प्रदेशमा यसपटक समानुपातिकमा एक लाख ७० हजार सात सय ५६ मत प्राप्त गरी दोस्रो स्थान सुनिश्चित गरेको छ । त्यस्तै, माओवादी केन्द्र एक लाख ३७ हजार ६ सय २९ मतसहित तेस्रो भएर पाँच वर्ष अघिकै लोकप्रियता जोगाउन सफल भएको छ । २०७४ मा कर्णालीमा समानुपातिकतर्फ चौथो स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी ‐राप्रपा) यसपटक पाचौँ स्थानमा पुगेको छ । उसलाई नयाँ दल नेकपा (एकीकृत समाजवादी) ले उछिनेको हो । समानुपातिक मतमा प्रदेशमा चौथो बनेको एकीकृत समाजवादीले ३५ हजार आठ सय २६ मत ल्याएको छ ।

अहिलेको समानुपातिक मत परिणामले एमाले र कांग्रेसले समान पाँच÷पाँच, माओवादी केन्द्र चार तथा एकीकृत समाजवादी र राप्रपाले एक÷एक सीट पाउने आकलन गरिएको छ । निर्वाचन आयोगका अनुसार प्रदेशसभातर्फ कूल सदर मतको एक दशमलव पाँच प्रतिशत भोट प्राप्त गरेमा दलहरूले सीट पाउने सुनिश्चितता हुन्छ । प्रत्यक्षमा कांग्रेस र माओवादी केन्द्रले नौ÷नौ सीट जितेका छन् भने एमालेले पाँच र स्वतन्त्र एक जना निर्वाचित भएका छन् । कर्णालीमा समानुपातिकतर्फ पहिलो, दोस्रो र तेस्रो हुने दलहरूले पनि विगतको तुलनामा ठूलो संख्यामा मत वृद्धि गरेका छन् । यसहिसाबले नागरिकहरूले राजनीतिक दलहरूलाई अस्वीकार गरेका छैनन् तर सच्चिने सन्देश भने दिएका छन् ।

प्रकाशित मितिः   १५ मंसिर २०७९, बिहीबार ०५:०३