सुन्तला उत्पादन बढ्यो

सुर्खेत: कर्णाली प्रदेशमा सल्यान र दैलेख सुन्तला उत्पादनका लागि उर्वर क्षेत्र मानिन्छन् । दशकौँदेखि सुन्तला खेति गरिँदै आएका यी दुई जिल्लामा यसपटक पनि उत्पादन राम्रो भएको छ । सल्यानमा यो वर्ष २५ प्रतिशत र दैलेखमा पाँच प्रतिशत सुन्तला उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुुलनामा दुवै जिल्लामा उत्पादन बढेको हो । यसपालि जिल्लामा २५ प्रतिशतले उत्पादन बढेको कृषि विकास कार्यालय सल्यानका प्रमुुख भरतबहादुुर बस्नेतले जनाए । उनका अनुसार गत वर्ष त्यहाँ ६ हजार नौ सय ३५ मेट्रिकटन सुन्तला उत्पादन भएकोमा यो वर्ष उत्पादन बढेर आठ हजार ६ सय मेट्रिकटन पुुगेको छ । उनी भन्छन्, ‘यसपालि सुन्तला बुटाभरी लटरम्म फलेको छ ।’ सल्यानमा कार्तिक महिनादेखि सुन्तला बिक्री गर्न थालिएको बस्नेतले बताए । जिल्लामा उत्पादन भएकोमध्ये झन्डै ५० प्रतिशत सुन्तला बिक्री भइसकेको छ । यसवर्ष रोगकिरा, हावाहुरी र असिना पानीले सुन्तलामा असर नगर्दा उत्पादन राम्रो भएको बताइएको छ । मौसमको अनुुकूलताका कारण पनि उत्पादन बढेको बस्नेतको भनाइ छ । सल्यानमा गुणस्तरीय सुन्तला उत्पादन हुने हुँदा बाहिरी जिल्लाहरूबाट पनि माग अत्यधिक हुन्छ । सल्यान रसिलो सुन्तलाका लागि प्रख्यात छ ।

गत वर्षको तुुलनामा दैलेखमा पनि यसपालि पाँच प्रतिशतले सुन्तला उत्पादन बढेको छ । जिल्लामा यो वर्ष ६ हजार तीन सय २३ मेट्रिकटन सुन्तला उत्पादन भएको छ । दैलेखमा एक हजार सात सय ९७ हेक्टर क्षेत्रफलमा सुन्तला खेति गरिएको थियो । गत वर्ष एक हजार सात सय ३२ हेक्टर क्षेत्रफलममा सुन्तला खेति गरिएकोमा पाँच हजार नौ सय ८५ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । दैलेखमा पछिल्ला वर्षहरूमा सुन्तला खेतिको क्षेत्र विसतारसमेत गरिँदै आएको छ । अझै पनि अपेक्षित उत्पादन भने हुन नसकेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका कृषि अर्थ विज्ञ झलक भण्डारी भन्छन्, पकेट क्षेत्रमा नै अपेक्षित गरेअनुसार सुन्तला उत्पादन भइरहेको छैन ।’ दैलेखको दुुल्लू सुन्तलाको पकेट क्षेत्र मानिन्छ । त्यहाँ सोचेअनुरूप उत्पादन नभएको हो । गुुराँस र डुुङ्गेश्वर गाउँपालिकामा भने उत्पादन बढेको छ । समग्रमा गत वर्षको तुुलनामा जिल्लाभर उत्पादन बढेको जनाइएको छ ।

सुन्तला उत्पादन धेरै भएपछि मूल्य भने घटेको छ । गत वर्ष सल्यानको सुन्तला प्रतिकिलो एक सय रूपैयाँमा बिक्री भएको थियो । यसपालि ५५ रूपैयाँ केजीमा बिक्री गर्नुपरेको किसानहरूले बताएका छन् । बजारमा जतातत्तै सुन्तला उपलब्ध भएसँगै मूल्य घटेको उनीहरू बताउँछन् । कृषि विकास कार्यालयले केही दिन पछिसम्म सुन्तलाको मूल्य प्रतिकिलो ८० रूपैयाँसम्म पुुग्ने अनुुमान गरेको छ । सल्यानको सुन्तला यो वर्ष पनि सुर्खेत र नेपालगञ्ज निर्यात भइरहेको छ । जिल्लाको बागचौर र शारदा नगरपालिका तथा सिद्धकुुमाख र त्रिवेणी गाउँपालिकामा सुन्तला धेरै उत्पादन हुन्छ । यी ठाउँ सुन्तलाको पकेट क्षेत्र हुन् । यस वर्ष जिल्लामा सुन्तला लगाइने क्षेत्रफलमा वृद्धि भएसँगै उत्पादन र उत्पादकत्वसमेत बढेको बताइएको छ ।

प्रकाशित मितिः   १५ मंसिर २०७९, बिहीबार ०५:०१