बाख्रापालनमा लगानी बढ्दै

सुर्खेत, फागुन । होटल व्यवसायीद्वय तर्कबहादुर शाही र गणेशबहादुर शाहीले बाख्रापालनका लागि संयुक्त रूपमा ४५ लाख रूपैयाँ लगानी गरे । साटाखानी–८ मा ६४ रोपनी जग्गा खरिद गरी उनीहरूले समृद्धि नमुना पशु तथा कृषि उद्योग दर्ता गरेका छन् । उनीहरूको फार्ममा अहिले ८२ वटा बाख्रा छन् । आधुनिक खोर निर्माण गरी बाख्रापालन व्यवसाय सुरु गरेका उनीहरू नेपालकै नमुना बाख्रा फार्म स्थापना गर्ने योजनामा छन् । 
यस्तै पत्रकार बिर्ख बडुवालले पाँच लाख रूपैयाँ लगानी गरी यसैवर्षदेखि व्यवसायिक रूपमा बाख्रापालन गर्न थालेका छन् । लगाम–५ सुर्खेतमा बडुवाल बाख्रा फार्म दर्ता गरी उनले गत असारदेखि यो व्यवसाय सुरु गरेका हुन् । उनको खोरमा अहिले ६० वटा बाख्रा छन् । उनी भन्छन्, ‘थप लगानी गरेर यसलाई अझ विस्तार गर्ने योजनामा छु ।’ 
होटल व्यवसायी शाहीद्वय र पत्रकार बडुवाल त उदाहरण मात्र हुन्, पछिल्लो समय जिल्लामा बाख्रापालन व्यवसायमा लगानी गर्नेहरूको संख्या बढ्दै गएको छ । घरेलु तथा साना उद्योग विकास समिति सुर्खेतमा दुई सय ५० भन्दा बढी बाख्रापालन सम्बन्धी उद्योग दर्ता हुनुले पनि यसको पुष्टी गर्दछ । कार्यालयका निर्देशक विनोददेव पन्तका अनुसार जिल्लामा हाल दुई हजार दुई सय उद्योग दर्ता छन् । त्यसको ६ देखि १२ प्रतिशत पशुपालन सम्बन्धीका छन् । उनी भन्छन्, ‘पशुपालनमा पनि सबैभन्दा बढी बाख्रापालन नै गरेको पाइन्छ ।’
सुर्खेतलाई बाख्रापालनका लागि सम्भावनायुक्त जिल्ला मानिन्छ । सबैभन्दा बढी वनजंगल भएको जिल्ला हो, सुर्खेत । त्यसकारण पनि सुर्खेतलाई बाख्रापालनका लागि उपयुक्त मानिन्छ । त्यत्तिमात्र होइन सुर्खेतमा बढी मात्रामा पालिने खरी जातको बाख्रा नेपालम प्रख्यात छ । खरी जातको बाख्रा मासुका लागि उपयुक्त मानिन्छ । यसको माग सुर्खेतमा मात्र नभएर पोखरा, काठमाडौं लगायतका ठाउँहरूमा पनि अत्याधिक छ । खरी जातका साथै बोयर, जमुनापारी, बारखरी लगायतका जातका बाख्रा पनि सुर्खेतमा बढी पालिने गरिएको छ ।
व्यवसायी तर्कबहादुर शाही सुर्खेत बाख्रापालनको अत्याधिक सम्भावना बोकेको जिल्ला भएकाले नै आफूहरूले पनि लगानी गरेको बताउँछन् । ‘नमुना बाख्रा फार्म बनाउने लक्ष्यसहित हामीले यो व्यवसायमा लगानी गरेका हौं’ उनले भने । गतवर्षको असार १४ गते १४ वटा बाख्रा खरिद गरी व्यवसाय सुरु गरेका उनको खोरमा यतिबेला करिब सात दर्जन बाख्रा छन् । जिल्लामै पनि खशीका मासुका माग पूर्ति हुन नसकेको भन्दै शाहीले त्यसलाई पूर्ति गर्नका लागि पनि बाख्रापालन व्यवसायमा हात हालेको बताउँछन् । स्थानीय जातका साथै उन्नत जातका बाख्रापालन गरी जिल्लालाई खरीको मासुमा आत्मनिर्भर बनाउने लक्ष्य रहेको समेत उनले बताए । ‘जिल्लाकै माग पूरा हुनसकेको छैन’ शाहीले भने, ‘बाहिर जिल्लाहरूमा पनि यहाँको खसीको माग बढ्दो छ, त्यसलाई पूर्ति गर्नु हाम्रो उद्देश्य हो ।’ यसका साथै युवाहरूलाई रोजगारीका अवसर सिर्जना गर्नु पनि आफ्नो योजना रहेको उनी बताउँछन् । उनको बाख्रा फार्ममा अहिले पनि चार जनाले रोजागारीका अवसर पाएका छन् । 
बाख्रापालन व्यवसायबाट आम्दानी गर्न सकिने सम्भावना देखेरै आफूले लगानी गरेको अर्का व्यवसायी बडुवालले बताए । ‘परम्पगत रूपमा यसअघि पनि बाख्रा त पालिएको थियो’ उनले भने, ‘मैले अब यसलाई व्यवसायिक रूपमै अगाडि बढाउनुपर्छ भन्ने योजना बनाए उद्योग नै दर्ता गरी बाख्रापालन सुरु गरेको हुँ ।’ सुरुवातमा पाँच लाख लगानी गरेको जानकारी दिँदै बडुवालले आगामी दिनमा यसलाई थप विस्तार गर्ने योजना रहेको जनाए । ‘व्यवसायिक रूपमा बाख्रापालन गर्ने हो भने यसबाट मनग्य आम्दानी गर्न सकिने सम्भावना छ’ बडुवालले थपे, ‘बेरोजगार युवाहरूलाई रोजगारीको अवसर समेत सिर्जना गर्ने गरी लगानी बढाउने सोचमा छु ।’ युवाहरू उत्पादनमूलक कार्यमा केन्द्रित हुन जरुरी रहेको भन्दै बडुवाल आफूले त्यसैको सुरुवात गरेको बताउँछन् । सरकारले पनि युवाहरूलाई व्यवसायतर्फ आकर्षित गर्ने योजना र कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ छ । 
जिल्लामा पम्परागत रूपमा बाख्रा पालिंदै आए पनि पछिल्लो समय व्यवसायिक रूपमै बाख्रा पालन गर्नेहरूको संख्या बढेको छ । सरकारी तथा गैरसरकारी निकायबाट बाख्रापालनका लागि अनुदान तथा सुलभ ब्याजमा ऋण उपलब्ध हुन थालेपछि कृषकहरू व्यवसायिक रूपमा बाख्रापालनतर्फ आकर्षित भएका हुन् । कतिपयले एकल फार्म निर्माण गरी बाख्रापालन गरिरहेका छन् भने कतिपयले संयुक्त रूपमा लागनी गरेका छन् । ग्रामीण क्षेत्रमा विशेष गरी समूहमार्फत् बाख्रापालन गर्ने गरेको पाइन्छ ।
प्रकाशित मितिः   १० फाल्गुन २०७२, सोमबार १३:५५