यू–१९ क्रिकेटमा कर्णालीको पहिलो जित

 

सुर्खेत: १९ वर्षमूनि उमेर समूहको राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले पहिलो जित हात पारेको छ । आइतवार मधेश प्रदेशलाई दुई विकेटले पराजित गर्दै कर्णालीले पहिलो जित दर्ता गरेको हो ।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले एक सय ३६ रनको लक्ष्य ३४.४ ओभरमा आठ विकेट गुमाएर पुरा गर्‍यो । कर्णालीका लागि मोहन विकले अविजित ३८ रन तथा मनिश थापाले ३२ रन बनाए । अनिरुद्ध कवारले १६ रन जोड्दा सुवास ऐरले १४ रन बनाए । मधेशका लागि रन्जित कुमारले पाँच तथा अजित मण्डलले दुई विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको मधेशले ४१.५ ओभरमा अलआउट हुँदै एक सय ३५ रन बनाएको थियो । मधेशका लागि शैलेन्द्र शाहले ३१ रन तथा मयन यादवले १८ रन जोडेका थिए । शरफज मन्सुरले अविजित १७ तथा मेघराज रामले १६ रन बनाए । डब्लु मल्लिकले १५ रन बनाउँदा कर्णालीले २२ रन अतिरिक्तमा खर्चिएको थियो । कर्णालीका लागि यूनिस सिंहले १० ओभरमा ३५ रन खर्चिएर पाँच विकेट लिए । मोहन विक र आवास शाहले समान २/२ विकेट लिए ।

तेस्रो खेलमा पहिलो जित हात पारेको कर्णाली दुई अङ्कका साथ अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । दुई खेलमा अङ्क बिहिन मधेश तालिकाको पुछारमा रहेको छ । प्रतियोगितामा प्रदेश–१, मधेश प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले दुई लाख नगद प्राप्त गर्दा उपविजेताले एक लाख नगद पाउने छन् । यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०÷१० हजार पाउने छन् ।

प्रकाशित मितिः   १२ मंसिर २०७९, सोमबार ०५:०१