बदलिएको शक्ति सन्तुलन

प्रदेशसभा सदस्यको निर्वाचन अन्तर्गत कर्णाली प्रदेशमा प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भइसकेको छ । समानुपातिकतर्फको भने मतगणना भइरहेको छ । प्रत्यक्ष नतिजाले कर्णाली प्रदेशमा राजनीतिक दलहरूको शक्ति सन्तुलनमा ठूलो बदलाव ल्याइदिएको छ । दलहरूको विगतको ‘पोजिसन’ फेरिएको हो । २०७४ को निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा धेरै सीट जितेर पहिलो बनेको नेकपा (एमाले) अहिले कमजोर भएको छ । पाँच वर्षअघि निकै तल झरेको नेपाली कांग्रेस पुनः बलियो शक्तिका रूपमा देखिएको छ ।

कर्णालीका १० जिल्लामा प्रतिनिधिसभाका १२ वटा निर्वाचन क्षेत्र छन् । यी सबैमा यसपालि एमालेले पराजय भोगेको छ । २०७४ मा कर्णालीबाट प्रतिनिधिसभाका ६ सीट जितेको एमालेले अहिले सबै गुमाएको हो । अघिल्लो संसदीय निर्वाचनमा प्रतिनिधिसभामा नेकपा ‐माओवादी केन्द्र) ले पाँच र स्वतन्त्रले एक सीट जितेका थिए भने कांग्रेस शून्य भएको थियो । पाँच वर्षअघि प्रतिनिधिसभामा कर्णालीबाटै निल बनेको कांगे्रसले अहिले चार सीट जितेको छ । माओवादी केन्द्रले पनि चार वटा क्षेत्रमा जित हात पारेको छ । यस्तै, पहिलो पटक संसदीय निर्वाचनमा भाग लिएको नयाँ दल नेकपा (एकीकृत समाजवादी) ले कर्णालीमा प्रतिनिधिसभाका तीन क्षेत्रमा विजय हासिल गरेको छ । यसपटक कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको चुनावी गठबन्धन थियो । सत्तारुढ गठबन्धन दलहरूले ११ वटा निर्वाचन क्षेत्रमा जित हासिल गर्दा एउटामा भने राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको हो । प्रदेशसभामा प्रत्यक्षतर्फ २४ र समानुपातिकका १६ गरी ४० वटा सीट छन् ।

सत्तारुढ गठबन्धनको चुनावी तालमेलले प्रदेशसभामा पनि दलहरूको ‘पोजिसन’ बदलिएको छ । २०७४ सालको निर्वाचनमा प्रदेशसभाको पहिलो दल एमाले अहिले तेस्रोमा खुम्चिएको छ । यो निर्वाचनमा एमाले प्रत्यक्षतर्फ पाँच सीटमा सीमित भएको हो । अघिल्लो निर्वाचनमा एमालेले प्रत्यक्षमा १४ सीट जितेको थियो । २०७४ मा प्रदेशमा एउटा मात्रै प्रत्यक्ष सीट जितेको नेपाली कांग्रेस तेस्रो दल थियो । यसपटक गठबन्धनको बलमा उसले नौ सीट जितेको छ । अहिले चुनावी तालमेल फेरिए पनि प्रदेशमा माओवादी केन्द्रको नतिजा भने यथावत छ । अघिल्लो पटकजस्तै माओवादीले यसपालि पनि प्रत्यक्षमा नौ वटा सीट जितेको छ । एमाले विभाजनपछि बनेको एकीकृत समाजवादी भने कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ शून्य भएको छ । सत्तारुढ गठबन्धनको भागबन्डामा दुई निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको समाजवादी दुवैमा पराजित भएको हो । कर्णालीमा कांग्रेस, एमाले र माओवादी केन्द्र मुख्य प्रतिस्पर्धी दल भएपनि चुनावी तालमेलका कारण नतिजामा फेरबदल हुने गरेको छ ।

प्रकाशित मितिः   १२ मंसिर २०७९, सोमबार ०५:०३