फोहोर व्यवस्थापनमा लापरवाही

वीरेन्द्रनगर नगरपालिकाभित्र उत्पादित फोहोर व्यवस्थापनमा लापरवाही गरिएको छ । नगरपालिकाको फोहोर व्यवस्थापनका लागि व्यवस्थित ल्याण्डफिल्ड साइट नहुँदा समस्या देखिएको छ ।

दैनिक निस्कने फोहोर भेरी नजिकैको सामुदायिक वनमा फाल्ने गरिएको छ । फोहोर व्यवस्थापन गर्न डम्पिङ्ग सिस्टम नहुँदा नगरपालिकाले भेरीको किनारामा रहेको भेरी सामुदायिक वन र शिवशक्ति सामुदायिक वनमा फाल्ने गरेको छ । जसले त्यहाको वातावरणमा दूषित हुँदै गएको छ ।

यसरी वनमा अव्यवस्थित रूपले फोहोर फाल्दा वनमा बस्ने थलचरमा तथा नदीमा बस्ने जलचरहरूमा असर पर्न थालेको छ । त्यतिमात्र होइन वनमा फालिएको फोहर बग्दै झुप्राखोलासम्म जाने भएकाले त्यहाँ आवातजावत गर्नेमा मानिसहरूमा पनि असर परेको त्यहाँका स्थानीयले बताएका छन् । विभिन्न सामुदायिक संस्थाका उपभोक्ताहरूले फोहोर व्यवस्थापन सही ढंगले नभएको गुनासो गरेका छन् । उनीहरूले नगरपालिकाको फोहोरलाई जथाभावी नफाल्न पटक–पटक आग्रह गरेपनि सुनुवाइ नभएको बताएका छन् ।

फोहोर व्यवस्थापनको लागि अन्य उपाय नगरे वातावरणमा असर हुन गई त्यहाँका मानव लगायत जीवहरूमा नराम्रो असर पर्ने बताएका छन् । सुर्खेतको वीरेन्द्रनगर–१३ मा रहेको कालिका सामुदायिक वन र शिवशक्ति सामुदायिक वनका उपभोक्ताहरूले वीरेन्द्रनगर नगरपालिकाको फोहोर व्यवस्थापन अर्को ठाउँमा गर्न माग गरेका छन् । शिवशक्ति सामुदायिक वन उपभोक्ता समितिका उपभोक्ता गणेश परियारले फोहोरको व्यवस्था डम्पिङ्ग साइट बनाएर व्यवस्थापन गर्नुपर्ने बताए । वन तथा वातावरण सफा राख्न सबै निकाय लाग्नुपर्ने बताउँदै तत्काल ल्याण्डफिल्ड साइट निर्माण गर्न माग गरे ।

वीरेन्द्रनगर नगरपालिकाले भने डम्पिङ्ग साइडको काममा भएको ढिलाइको कारण फोहोर फाल्न समस्या भएको बताएको छ । नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत प्रकाश पौडेलले सामुदायिक वनमा खाल्डो खनेर फोहोर फाल्ने गरेको स्वीकार गर्दै यसको व्यवस्थापन चाँडै हुने बताए । उनले चालु आर्थिक वर्षभित्र डम्पिङ्ग साइट बनाइसक्ने बताए ।

यतिमात्र हैन नगरपालिकामा हुने फोहोरहरू दिनानुदिन थुप्रिदैं गएको छ । गत मंसिर २३ गतेदेखि माघ ३ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको कर्णाली एक्स्पोमा भएको फोहोरहरू पनि अझै व्यवस्थापन हुन सकेको छैन । त्यहाँ रहेका प्लाष्टिक तथा अन्य फोहोरहरू त्यतिकै रहेको छ । मेला आयोजना भएको एक महिना हँुदा पनि आयोजक र नगरपालिकाले दुवैले फोहोर व्यवस्थापनमा ध्यान नदिएको गुनासो स्थानीयको छ ।

प्रकाशित मितिः   २३ पुष २०७३, शनिबार १३:५७