‘तीन दिनसम्म जंगलमै लुकेर बस्यौं’

lalit-pariyar

पिता शेरबहादुर परियार र माता तुलसा परियारको कोखबाट २०३३ सालमा लेखफर्सामा जन्मिएका ललित परियारको बाल्यकाल रमाइलोसँग नै बित्यो । गाउँमा जन्मे हुर्केका ललित पढाइमा भने जान्ने नै थिए । घरको काम, मेलापात, घाँस दाउरा सबै सकेर पनि उनको पढाइ राम्रो थियो । बाल्यकालमा धेरै नबोल्ने स्वभावका ललित गाउँमा कुनै आमसभा हुँदैछ भनेपछि भने सुन्न जसरी पनि जाने गर्थे । उनले भने, ‘म बाल्यकालमा धेरै बोल्थेन तर, गाउँमा कुनै पनि पार्टीको आमसभा तथा कार्यक्रमहरूमा भने जाने गर्थें ।’

विद्यार्थीकालदेखि राजनीतिको मोहले उनलाई छोएको थियो । काठमाडौंमा हुँदा उनले कम्युनिष्ट पार्टी मसालमा आवद्ध भएर काम गरेका थिए । १० वर्षको काठमाडौंको बसाइँ छोडेर उनी पुनः गाउँ नै फर्किए । बाल्यकालमा धेरै नबोल्ने ललितलाई राजनीतिमा लागेपछि सबैसँग बोल्नेदेखि हरेक कुरामा अग्रसर हुन सिकायो । गाउँमा फर्केपछि उनी सामाजिक काम नै व्यस्त हुन थाले । पार्टीकै शिलशिलामा ललित वीरेन्द्रनगरमा आए । अहिले उनी नयाँशक्ति पार्टी नेपाल सुर्खेतको संयोजकको रूपमा काम गरिरहेका छन् । राजनीतिसँगै व्यापार व्यवसायलाई पनि अगाडि बढाएका छन् ।

ललित भर्खर १० कक्षामा पढ्दै थिए । आफ्नै घर नजिकैकी मनरूपालाई उनले मन पराउँथे । ललितले मनरूपालाई बाल्यकालदेखि नै मन पराउँथे । धेरै नबोल्ने भएकाले पनि मनरूपालाई ललितले आफ्नो मनको कुरा भन्न सकेका थिएनन् । उता मनरूपाले पनि ललितलाई मन पराउँथिन् । मनका कुरा मनमै थिए ।

दुवै जनाको एउटै गाउँ । छिमेकमै घर थियो । तर, पनि एक अर्काेसँग खुलेर बोल्न डराउँथे । ललित भन्छन्, ‘गाउँमा केटाकेटी बोल्यो भने कुरा काट्छन् भनेर हामी बोल्न डराउँथ्यौं ।’ दुवैले एकअर्काेलाई औधी मन पराउँथे तर, उनीहरूलाई बोल्दा समाजले के भन्ला भन्ने डरले नजिक हुँदा पनि टाढा जस्तै बनायो । ललितले मनरूपालाई बेला–बेला चिठ्ठी पठाउने पनि गर्थे । आफै त दिएनन् तर, साथीसँग मनरूपालाई चिठ्ठी दे है भन्दै चिठ्ठी दिन आग्रह गर्थे । तीन पटकसम्मको चिठ्ठी त मनरूपाले एकान्तमा गएर पढेर च्यातेर फालिन् । किनकी घरमा चिठ्ठी लग्यो भने अरुले देखे भने के होला भन्ने लाग्ने गथ्र्याे । उनी भन्छिन््, ‘उहाँले पठाउनु भएको तीन वटा चिठ्ठी पढेर च्यातेर फालेँ तर, त्यसको उत्तर पनि पठाइन् ।’

मनरूपा साँचिक्कै ललितको मनभित्र नै बसेकी थिइन् । समाजको डरले ललितको मन भित्रकी मनरूपालाई उनले बाहिर देखाउन सकेनन् । ललितले मनरूपालाई मन पराएको कुरा ललितको आमाले थाहा पाएपछि भने उनलाई मनरूपासँग विहेको कुरा गर्नुसम्म परेन । भनिन्छ नि, आफ्ना सन्तानका लागि आमा नै हुन् सबैभन्दा धेरै सुखी खोज्ने । ललितको मनभित्रकी मनरूपालाई ललितको आमाले बाहिर ल्याइदिइन् । आफ्नो छोराको मनरूपालाई आफ्नो घरको बुहारी बनाउने निर्णय पनि ललितको आमाले नै गरिन् ।

मनरूपा भन्छिन्, ‘उहाँले मलाई मन पराएको कुरा सासुआमाले थाहा पाएर मलाई भेट्न बोलाउनु भयो । भेट्न गएको मलाई उतैबाट उहाँसँग भगाई दिनुभयो ।’ मनरूपालाई एकान्तमा भेट्न बोलाएकी ललितकी आमाले मनरूपालाई आफ्नो छोरासँग विहे गरेर भगाइ दिइन् । तीन दिनसम्म जंगलमा लुकेर बसे ललित र मनरूपा । उनीहरूले २०५१ सालमा भागेर विवाह गरे ।

उता मनरूपाको आमाले भने छोरीलाई सानै उमेरमा विवाह गरेको भन्दै खोस्ने कुरासम्म गरिन् । तर, ललितले मनरूपालाई सुख दिएर पाल्छु भने पछि मनरूपाकी आमाले छोरीलाई विवाह गरेको पाँच दिनमा नै टिका फुकाई दिन बोलाइन् । बाबुआमाको मन न हो कति दिन दुःख बनाएर बस्न सक्छन् र । हरेक बाबुआमालाई आफ्नो सन्तानको सुखी र सुख खोज्छन् । ता कि आफू नहुँदासम्म आफ्ना सन्तानले दुःख नपाउन् भनेर । मनरूपाकी आमाले पनि आफ्नी छोरीको भलाईकै लागि केही समय गाली पनि गरिन् ।

पिता केवल नेपाली र माता दिलसरा नेपालीको कोखबाट २०३३ सालमा लेखफर्सामा जन्मिएकी मनरूपाको बाल्यकाल पनि सुखद् नै थियो । मनरूपा पढाइसँगसँगै घरको काममा समेत सघाउने गर्थिन् । एसएलसी सम्म लेखफर्सामा नै पढेकी मनरूपा विवाह गर्दा कक्षा नौ मा पढ्थिन् । मनरूपाको विवाह भएको पाँच वर्षपछि उनको आमाको निधन भयो । त्यसपछि भने मनरूपाको पढाइँ पनि रोकियो । पछि ११ वर्षपछि एसएलसी दिएर पास भएकी मनरूपाले वीरेन्द्रनगर आए पछि जनमाविबाट कक्षा १२ पास गरिन् ।

उनले यूसआईडीको प्रोजेक्टमा तीन वर्ष काम गरिन् । तीन वर्ष क्षेत्रीय अस्पतालमा खरिदारमा नाम निकालेर काम गरिन् । अहिले फेन्सी पसलको व्यावसायमा व्यस्त छिन् । दुई छोरी र एक छोराको भविष्यका लागि दुवै जोडी लागि परिरहेका छन् ।
विवाहपछि मनरूपालाई कहिल्यै विवाह गरेर अर्काेको घरमा आएको हो जस्तो महसुस भएन । सासुले धेरै मन पराउने र काममा सबैले सहयोग गर्ने भएकाले पनि उनलाई कहिल्यै पराई घरको जस्तो महसुस भएन ।

विवाहपछिका २१ वर्षसम्म यो जोडीको सामान्य मनमुटावसम्म पनि भएन । व्यापार व्यवसाय सुरु गरे अनि आर्थिक कुरालाई लिएर कहिले काही भनाभन हुने गर्छ । तर, झगडालाई यो जोडी कहिल्यै ठूलो रूप लिन दिदैनन् । उनीहरू सम्बन्धलाई दिगो बनाउनको लागि एकअर्काेप्रतिको विश्वास र समझादारी नै सबैभन्दा ठूलो डोरी भएको बताउँछन् । सम्बन्धमा तब फाटो आउँछ जब एकअर्काेबीचमा विश्वास हुँदैन अनि एकले अर्काेलाई शंका उपशंका गर्न थाल्छन् । तर, यो जोडीबीचमा भने विश्वासको डोरी कसिलो नै छ । एकले अर्काेलाई बुझेकै कारण सहज रूपमा जीवनलाई अगाडि बढाएका छन् ।

ललित फुर्सद भएसम्म मनरूपालाई घरको काममा त्यसमा पनि अझ बढी लुगा धुने समयमा सघाउने गर्छन् । जोडीसँग समय मिलेसम्म घुम्न पनि जाने गर्छन् । मनरूपालाई ललितको कहिल्यै जाँडरक्सी नखाने बानी मन पर्ने गर्छ । त्यस्तै ललितलाई मनरूपाको मिठो खाना पकाउने बानी मन पर्ने गर्छ । यो जोडी एकअर्काेको जन्मदिन तथा विवाह गरेको दिन आउँदा एकले अर्काेलाई गिफ्ट दिने पनि गर्छन् । गिफ्ट दिनेमा ललित भन्दा अगाडि मनरूपा नै हुन्छिन् ।

उनीहरूका अनुसार जीवनसाथी भनेको आफ्नो एकअर्काेको जीवनभर जीवनको अन्त्यसम्म साथ दिने साथी हो । जो जीवन साथीले गर्दा बिग्रिएको कसैको जीवनलाई फूल जस्तै फक्राइदिएको पनि हुन्छ । उनीहरू भन्छन्, ‘जो कसैले आफ्नो जीवनका सारा सुखी छोडेर अरुको जीवन राम्रो बनाउनतर्फ लाग्दैन त्यो काम एउटा जीवनसाथीले नै गर्न सक्छ ।’ त्यसैले त जीवनसाथी सबैभन्दा माथि भनिन्छ ।

प्रकाशित मितिः   २३ पुष २०७३, शनिबार १३:५०