च्याँख्ला

ramesh-khatriएक समयको कथा
जहाँ,
कोरिएका थियो कुरूप विम्बहरू
नियालीरहेको हुन्थें
निशब्द म
बगिरहन्थ्यो जिन्दगी
बनेर भेरी र कर्णाली
००
आँखाभरी अटाइरहने धर्ती
छातिभित्र धड्किरहने गगन
सुसाइरहेका सुदूरका बयली
हाम्रै जीवनका प्रतिविम्ब हुन
हामी जहाँ जन्म्यौं
कष्टले हुर्कियौं
र बाँचिरहेका थियौं
लाग्छ बाँचिरहने छौं
कसैको नजरमा मान्छे बन्न नसकेका
हामी प्राणीहरू
००
कसैले कोरिदिएका सीमारेखा
कसैले थमाइदिएका अनेकौं उपमा
बर्बर प्रहारहरू
कसैको लागि हाँस्य किंवदन्ति
आदिम मानवको वस्ती
अनि हामी आदि मानवहरू
सहिरहेका थियौं युगौंदेखि
सहिरह्यौं वर्षौंसम्म
बुझेर पनि नबुझेझैं गरेर
सुनेर पनि नसुनेझैँ गरेर
कठै ! हामी मान्छे बन्न नसकेका
रोगी र भोका प्राणीहरू
००
अझैं छौं
समयको चक्करको घनचक्करमा
पिसिएर पिठो हुन नसकेका हामी
मात्र च्याँख्लै च्याँख्ला
हाम्रो कथा
हाम्रो सन्ततीले सेवन गर्लान्
तर आँतै काटिएला
छेरौटिली सताउँदा
संवेदनका सिटामोलै नपाइ
तड्पि तड्पि प्राण त्याग्लान
विचारा ! क्रूर इतिहासका साँची
हाम्रै दुखी सन्तानहरू ।

प्रकाशित मितिः   २३ पुष २०७३, शनिबार १३:४५