कर्णालीमा गठबन्धन अगाडि

सुर्खेत: कर्णाली प्रदेशमा प्रतिनिधिसभाका १२ वटा निर्वाचन क्षेत्रमध्ये ६ वटाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । बिहीवार साँझसम्म प्रतिनिधिसभातर्फ दुई वटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा एक ठाउँको मतपरिणाम आएको छ । त्यस्तै, दैलेखका दुवै क्षेत्र, जाजरकोट, सल्यान र जुम्लाको मत परिणाम सार्वजनिक भएको हो ।

प्रदेशका सुर्खेत र दैलेखबाहेक अन्य जिल्लामा प्रतिनिधिसभाका एक/एक वटा मात्र निर्वाचन क्षेत्र छन् । प्रतिनिधिसभाका ६ वटा निर्वाचन क्षेत्रको नतिजा आउँदा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) ले दुई/दुई स्थानमा जित हासिल गरेका छन् । त्यस्तै, नेकपा ‐माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी एक/एक स्थानमा विजयी भएका छन् ।

सुर्खेतको निर्वाचन क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका नेता हृदयराम थानी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । थानीले कूल खसेको ७६ हजार तीन सय ५२ मतमध्ये ३४ हजार ६ सय २५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार अमृतबहादुर बिसीले २९ हजार पाँच सय ५८ मत प्राप्त गरेका छन् । दैलेख क्षेत्र नं. २ मा नेपाली कांग्रेसकै दिक्पालकुमार शाही प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले एमालेका लक्ष्मीप्रसाद पोख्रेललाई एक सय ५३ मतान्तरले पराजित गरेका हुन् । शाहीले २० हजार एक सय ५८ मत ल्याएका छन् ।

एकीकृत समाजवादीले प्रतिनिधिसभाका दुई वटा क्षेत्रमा जित हात पारेको छ । दैलेख क्षेत्र नं. १ बाट अम्मरबहादुर थापा विजयी भएका छन् । उनले एमालेका रवीन्द्रराज शर्मालाई पराजित गरेका हुन् । थापा १८ हजार दुई सय ५६ मत ल्याएर विजयी बनेका छन् । उनी एकीकृत समाजवादीका कर्णाली प्रदेश अध्यक्षसमेत हुन् । प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्र रहेको सल्यानमा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले जितेका छन् ।

यस्तै, जाजरकोटमा प्रतिनिधिसभा तर्फ माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत निर्वाचित भएका छन् । एमालेका निरजप्रसाद आचार्यलाई पराजित गर्दै बस्नेत उक्त क्षेत्रबाट लगातार तेस्रो पटक निर्वाचित भएका हुन् । उनले ३४ हजार एक सय ५१ मत ल्याएका छन् । प्रमुख राजनीतिक दलहरूका उम्मेदवारलाई पराजित गर्दै जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका गोमा गौतम (कुँवर) लाई १० हजार आठ सय ६० मतान्तरले पराजित गरेका छन् । शाही २२ हजार आठ सय १९ मत ल्याएर निर्वाचित भएका हुन् । कर्णालीमा सत्तारुढ गठबन्धनको मुख्य प्रतिस्पर्धी एमालेले भने बिहीवार साँझसम्म प्रतिनिधिसभाको एउटा पनि क्षेत्रमा जितेको छैन ।

कर्णालीमा प्रदेशसभातर्फका २४ निर्वाचन क्षेत्रमध्ये यो समाचार तयार पर्दासम्म १६ वटा निर्वाचन क्षेत्रको नजिता आइसकेको छ । मतगणना सम्पन्न भएका क्षेत्रमा कांग्रेस सात, एमाले चार, माओवादी केन्द्र चार र स्वतन्त्र एक स्थानमा निर्वाचित भएका छन् । प्रतिनिधिसभामा जित निकालेका एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार प्रदेशमा भने निर्वाचित भएका छैनन् । सुर्खेत निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा ‘क’ मा कांग्रेसका खड्गबहादुर पोखरेल विजयी भएका छन् भने ‘ख’ मा माओवादी केन्द्रका कृष्णबहादुर जिसीले जितेका छन् । सुर्खेत क्षेत्र नं. २ ‘क’ मा एमालेका यामलाल कँडेल निर्वाचन भएका छन् भने प्रदेशसभा ‘ख’ मा माओवादी केन्द्रका बिन्दमान विष्ट विजयी भएका छन् ।

दैलेख निर्वाचन क्षेत्र नं. १ ‘क’ मा कांग्रेसका पूर्णबहादुर खत्रीले जितेका छन् । सोही क्षेत्रको ‘ख’ मा पनि कांग्रेसकै कृष्णबहादुर बिसी विजयी भएका छन् । दैलेख निर्वाचन क्षेत्र नं. २ प्रदेशसभा ‘क’ मा कांग्रेसका घनश्याम भण्डारी र ‘ख’ मा एमालेका विनोदकुमार शाह विजयी भएका छन् । दैलेख र सुर्खेतमा प्रदेशसभाका चार÷चार वटा निर्वाचन क्षेत्र छन् ।

जाजरकोट निर्वाचन क्षेत्र १ ‘क’ मा कांग्रेसका वेदराज सिंह निर्वाचित भएका छन् भने ‘ख’ मा पनि कांग्रेसकै राजीवविक्रम शाह विजयी भएका छन् । त्यस्तै, प्रदेशसभातर्फ जुम्ला ‘क’ मा स्वतन्त्र उम्मेदवार देवेन्द्र शाही निर्वाचित भएका छन् भने ‘ख’ मा एमालेका टेकराज पछाईले जित हासिल गरेका छन् । डोल्पा प्रदेशसभा ‘क’ मा एमालेका शेरबहादुर बुढा निर्वाचित भएका छन् । सल्यान प्रदेशसभा ‘क’ मा माओवादी केन्द्रका भीमप्रकाश शर्मा निर्वाचित हुँदा ‘ख’ बाट कांग्रेसका सुरेश अधिकारी विजयी भएका छन् । कालीकोट प्रदेशसभा ‘क’ मा माओवादी केन्द्रका दुर्गबहादुर रावत निर्वाचित भएका छन् । कर्णालीमा प्रतिनिधिसभाका ६ र प्रदेशका आठ वटा निर्वाचन क्षेत्रको मतगणना जारी रहेको छ ।

प्रकाशित मितिः   ९ मंसिर २०७९, शुक्रबार ०५:०२