संसदीय निर्वाचनमा अम्मर थापाको तेस्रो जित

दैलेख निर्वाचन क्षेत्र नं. १ बाट सत्तारूढ गठबन्धनका अम्मरबहादुर थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेकपा(एकीकृत समाजवादी)को कर्णाली प्रदेश अध्यक्ष समेत रहेका थापाले १८ हजार दुई सय ५६ मत पाएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार रबिन्द्रराज शर्माले १७ हजार चार सय सात मत पाए ।

थापाले तेस्रो पटक संसदीय निर्वाचन जितेका हुन् । २०६४ को संविधानसभा निर्वाचनमा पराजित भएका थापा २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचन र २०७४ मा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । थापालाई सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा ( माओवादी केन्द्र) को साथ थियो ।

यसअघि एमालेमा रहेका उनी पार्टी विभाजन भएपछि एकीकृत समाजवादीमा लागेका हुन् । प्रदेश सरकारका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई साथ दिन एमालेको निर्णय विरुद्ध ‘फ्लोर क्रस’ गरेका थिए । त्यसपछि ६ महिना प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री समेत बने ।

प्रकाशित मितिः   ८ मंसिर २०७९, बिहीबार १०:०६