कुर्मराजलाई हराएर दुर्ग रावत विजयी

कालिकोटबाट प्रदेश सभा (क) मा नेकपा (माओवादी केन्द्र) का दुर्गबहादुर रावत विजयी भएका छन् । उनले नेकपा (एमाले)बाट उम्मेदवार बनेका कुर्मराज शाहीलाई एक हजार ५९ मतान्तरले पराजित गरेका हुन् ।

रावतले नौ हजार ११ मत पाए विजयी हुँदा शाहीको पक्षमा सात हजार नौ सय ५२ मत गएको छ ।

शाही २०७४ मा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । मन्त्री बन्नकै लागि ‘फ्लोर क्रस’ गरेपछि एमालेले कारबाही गर्दा उनको पद गुमेको थियो । एमालेबाट टुक्रिएर बनेको नेकपा(एकीकृत समाजवादी)मा प्रवेश गरेका शाही निर्वाचनको मुखैमा पुन: एमालेमा फर्किएर उम्मेदवार बनेका थिए ।

‘फ्लोर क्रस’ गरेपछि उनी ६ महिना प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री समेत बने । मन्त्री बनिरहै बेलामा उनीमाथी बलात्कारको आरोप समेत लाग्यो ।

निर्वाचित भएका रावत २०७४ मा प्रतिनिधिसभा सदस्य बनेका थिए । यसपटक कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही प्रतिनिधिसभामा उम्मेदवार बनेपछि रावत प्रदेशसभा सदस्यको उम्मेदवार बनेका हुन् ।

प्रकाशित मितिः   ८ मंसिर २०७९, बिहीबार ०९:५६