दोस्रो प्रयासमा वेदराज सिंहलाई सफलता

जाजरकोटबाट नेपाली कांग्रेसका जिल्ला सभापति वेदराज सिंह कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । जिल्लाको निर्वाचन क्षेत्र नं. १ (क)बाट उनी विजयी भएका हुन् ।

सिंहले १८ हजार पाँच सय ४३ मत पाएका छन् । निकटतम् प्रतिद्धन्द्धी नेकपा(एमाले)का डम्बर सिंहले सात हजार ७३ मतान्तरले पराजित भएका छन् । उनले ११ हजार चार सय ७० मत पाए ।

कांग्रेस नेता सिंह यसअघि २०७४ मा भएको निर्वाचनमा नेकपा(माओवादी केन्द्र)का गणेशप्रसाद सिंहसँग पराजित भएका थिए । अहिले उनै गणेशप्रसादको सहयोगमा विजयी भएका हुन् । सत्तारुढ गठबन्धनको भागबन्डामा प्रतिनिधिसभातर्फ एउटा निर्वाचन क्षेत्र रहेको जाजरकोट माओवादी र प्रदेशसभाका दुई वटै क्षेत्र कांग्रेसको भागमा परेका थिए । प्रदेशसभाका दुईवटै क्षेत्रमा कांग्रेका उम्मेदवार विजयी भएका छन् । क्षेत्र(ख)बाट पनि कांग्रेसका केन्द्रीय सदस्य राजीवविक्रम शाह निर्वाचित भइसकेका छन् ।

प्रकाशित मितिः   ७ मंसिर २०७९, बुधबार २२:१३