छैटौं प्रतिस्पर्धामा हृदयराम थानीको तेस्रो जित

सुर्खेतको निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका नेता हृदयराम थानी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । बुधवार विहान सकिएको मतगणनाअनुसार कुल खसेको ७६ हजार तीन स ५२ मतमध्ये थानीले ३४ हजार ६ सय २५ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले) का उम्मेद्वार अमृत बिसीले २९ हजार पाँच सय ५८ मत प्राप्त गरे ।

संसदीय निर्वाचनमा थानीको यो तेस्रो जित हो । ६ पटक चुनावी मैदानमा उत्रिएका उनले ३ पटक जित र ३ पटक पराजय बेहोरेका छन् । यसअघि २०५६ र २०७० मा यही क्षेत्रबाट निर्वाचित भएका थिए भने २०५१ को मद्यावधि निर्वाचन, २०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचन र २०७४ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा थानी पराजित भएका थिए । विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसको केन्द्रीय सदस्य भइसकेका थानी पूर्वमन्त्री समेत हुन् । कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय राजनीतिमा स्थापित भइसकेपछि उनी कांग्रेसको मूल राजनीतिमा लागेका हुन् ।

प्रकाशित मितिः   ७ मंसिर २०७९, बुधबार २२:२१