रेग्मीलाई पराजित गर्दै खत्री बने प्रदेशसभा सदस्य

दैलेखको क्षेत्र नम्बर १ (क) बाट नेपाली कांग्रेसका पूर्णबहादुर खत्री कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । निवर्तमान प्रदेशसभा सदस्य धर्मराज रेग्मीलाई एक हजार तीन सय ९२ मतान्तरले पराजित गर्दै खत्रीले प्रदेशसभा प्रवेशलाई सुनिश्चित गरेका हुन् ।

उनले नौ हजार चार सय ६४ मत पाएर निर्वाचित हुँदा नेकपा(एमाले)का उम्मेदवार रेग्मीले आठ हजार ७२ मत प्राप्त गरेका छन् । रेग्मी २०७४ मा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । त्यतिबेला उनी नेकपा(माओवादी केन्द्र) मा थिए । माओवादी त्यागेर एमाले प्रवेश गरेका रेग्मीलाई पुन: प्रदेशसभा सदस्य हुनबाट कांग्रेसका खत्रीले रोकेका छन् ।

विजयी खत्री सत्तारुढ गठबन्धनका साझा उम्मेदवार हुन् । नेपाल विद्यार्थी संघ दैलेखको संस्थापक खत्री नेपाल रेडक्रस सोसाइटी र नेपाल परियोजना संघमा समेत आबद्ध छन् ।

प्रकाशित मितिः   ७ मंसिर २०७९, बुधबार २१:५७