प्रतिनिधि चुन्ने चटारो

केहीलाई राजनीतिक दल र उम्मेदवारले गाउँ फर्कन गाडिको व्यवस्था गरेका छन् भने कतिपय मतदाता आफ्नै खर्चमा पनि उत्साहका साथ मत हाल्न गाउँ हिँडेका छन् ।

सुर्खेत: पाँच वर्षको अन्तरालमा एक पटक हुने आम निर्वाचन आएसँगै मतदाताहरू भोट हाल्न गाउँ फर्किएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आइतवार हुँदैछ । कामको सिलसिलामा आफ्नो निर्वाचन क्षेत्र बाहिर रहेकाहरू मतदान गर्न धमाधम घर फर्कन थालेका छन् । बिहीवार मध्यरातदेखि स्थिर समय लागू भएपछि राजनीतिक गतिविधि ठप्प छन् । यसै समयमा मतदातालाई भने प्रतिनिधि चुन्ने चटारो सुरु भएको छ । चुनावको मिति नजिकिएपछि दुई–तीन दिनयता बसपार्क तथा सार्वजनिक सवारीहरूमा यात्रुको भिड लाग्न थालेको छ । अहिले राजनीतिक दल र उम्मेदवारलाई मतदाता ओसार्न भ्याइनभ्याइ भएको हो । उम्मेदवारहरूले छुट्टै निजी सवारी साधनको प्रयोग गरेर पनि मतदाता गाउँ पठाइरहेका छन् । चुनावको दिन सवारी साधन सञ्चालनमा रोक लगाइने हुँदा त्यसअघि नै मतदातालाई सम्बन्धित निर्वाचन क्षेत्रमा पु¥याउन थालिएको छ । राजनीतिक दल र उम्मेदवारहरूले आफ्ना समर्थकहरूलाई भोटका लागि गाउँ लैजान निःशुल्क यातायातको व्यवस्था गरेका छन् । आउजाउ गर्न गाडिको सुविधा भएपछि बाहिर रहेका मतदाताहरूलाई पनि गाउँ फर्कन सहज भएको छ । मंसिर ४ को निर्वाचनका लागि ३ गते मध्यरातीदेखि अनुमति पाएकाबाहेक सवारी साधन चलाउन पाइँदैन ।

प्रदेश राजधानी वीरेन्द्रनगरबाट दैलेख, कालीकोट, जुम्ला र जाजरकोटका मतदाता ओसार्न उम्मेदवारहरूले निजी सवारी साधन प्रयोग गरिरहेका छन् । मतदातालाई सुरक्षित रूपमा केन्द्रसम्म पु¥याउने ध्याउन्नमा उनीहरू लागेका हुन् । केहीलाई राजनीतिक दल र उम्मेदवारले गाउँ फर्कन गाडिको व्यवस्था गरेका छन् भने कतिपय मतदाता आफ्नै खर्चमा पनि उत्साहका साथ मत हाल्न गाउँ हिँडेका छन् । जुम्लाको सिंजा गाउँपालिकाका कमल सुजी पहिलो पटक मतदान गर्दैछन् । उनी प्रतिनिधि चुन्न शुक्रवार सुर्खेतदेखि जुम्लातर्फ लागेका छन् । वीरेन्द्रनगर बसपार्कमा भेटिएका उनले रोजगारीको सिलसिलामा यता बस्दै आए पनि भोट हाल्न गाउँ फर्कन लागेको बताए । उम्मेदवारले गाउँ फर्क भन्ने आग्रह गरेपछि उनी मत हाल्न जान लागेका हुन । पहिलो पटक मताधिकारको प्रयोग गर्न पाउने भएपछि आफू उत्साही भएको कमल बताउँछन् । ‘भोट हालेर फर्कने हो,’ उनले भने, ‘गाउँठाउँमा रोजगारी छैन, प्रतिनिधि चुनेर रोजगारी खोज्न फेरि सहर पस्नुपर्ने बाध्यता छ ।’ आफूसहित सिंजाका थुप्रै युवाहरू मतदान गर्न गाउँ जान लागेको उनले जनाए । रोजगारी, अध्ययन तथा विभिन्न कामले सहरी क्षेत्रमा बसेकाहरू चुनावको मौका पारेर धमाधम गाउँ गइरहेका हुन् । गाउँमा रोजगारीका अवसर नहुँदा कर्णालीका अधिकांश युवा उमेरसमूहका व्यक्तिहरू सहरी क्षेत्रमा बस्छन् । जीविकोपार्जनका लागि सहर बस्नुपर्ने बाध्यता रहेको उनीहरू बताउँछन् ।

दैलेखको भगवतीमाई गाउँपालिकाकी नविना थापा पनि शुक्रवार गाउँ जाने तरखरमा थिइन् । बसपार्कमा भेटिएकी उनले घरपरिवार र उम्मेदवारको करकापले भोट हाल्न जान लागेको सुनाइन् । नविना भन्छिन्, ‘यसपालि चुनावमा जाने मन थिएन, सबैले कर गर्न थालेपछि जानैपर्ने भयो ।’ यसअघिका निर्वाचनमा चुनेका नेताले प्रतिबद्धता जनाएअनुसार काम नगरेकाले मत हाल्न जागर नै नचलेको उनी बताउँछिन् । नविना गत वैशाखमा पनि स्थानीय तहको निर्वाचनमा यसैगरी भोट हाल्न गाउँ गएकी थिइन् । उनले भनिन्, ‘उम्मेदवारसँग ठूलो आशा त छैन । तर, आफ्नो मताधिकार प्रयोग गरौँ भनेर जाँदैछु ।’ नविना अध्ययनको सिलसिलमा केही वर्षयता वीरेन्द्रनगरमा बस्दै आएकी छन् । वीरेन्द्रनगर–१५ का राकेश खड्का मतदान गर्नकै लागि काठमाडौंबाट घर आएका छन् । उनी पहिलोपटक मतदान गर्दैछन् । राम्रो एजेन्डा उठाएका नेतालाई मत दिएर प्रतिनिधि चुन्ने मनसायमा उनी छन् । ‘युवाहरूलाई स्वदेशमै रोजगारी दिने, गाउँठाउँको विकास र उन्नती चाहने उम्मेदवारलाई भोट दिने हो,’ उनले भने । वीरेन्द्रनगरभित्रै भएपनि उनको गाउँसम्म पुग्न गतिलो सडक छैन । सडक पूर्वाधारको विकासका लागि प्रतिबद्धता जनाएका उम्मेदवारलाई भोट दिने उनले बताए । योग्य र सक्षम नेता छान्नकै लागि आफू गाउँ फर्केको उनको भनाइ छ ।

दलहरूले चुनावी प्रचारप्रसारमा मात्र नभइ मतदाता ओसार्न पनि होडबाजी गरेका छन् । प्रहरीका अनुसार केही दिनयता सहरी क्षेत्रबाट गाउँ फर्कनेहरूको संख्या बढेको छ । खासगरी वीरेन्द्रनगरबाट कर्णालीका अन्य जिल्लाहरूका लागि बाहिरिने यात्रुको चाप धेरै छ । उम्मेदवारले मतदातालाई सार्वजनिक सवारीभन्दा पनि रिजर्भ गाडिको प्रयोग गरेर गाउँ लग्ने गरेका छन् । त्यसरी मतदाता ओसार्दा भोट प्रभावित गर्न सकिने मनसायमा उम्मेदवारहरू देखिन्छन् । त्यही आशले पनि गाउँ बाहिर भएका मतदातालाई आउने जाने खर्चको व्यवस्था गरेर बोलाउने गरेको पाइन्छ । सामान्य अवस्थाभन्दा सार्वजनिक र निजी सवारी साधनहरू यो समयमा बढी नै गुडेका छन् । तर, गएको स्थानीय तहको निर्वाचनका तुलनामा अहिले गाउँ जानेको चाप भने केही कम देखिएको यातायात व्यवसायीहरूको भनाइ छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशभर १० लाख आठ हजार चार सय तीन मतदाता रहेका छन् । विगतका निर्वाचनहरूमा प्रदेशभर करिब ७० प्रतिशत मत खस्ने गरेको थियो । यसपटकको चुनावमा पनि सोही हाराहारीमा मतदान हुने आकलन गरिएको छ ।

प्रकाशित मितिः   ३ मंसिर २०७९, शनिबार ०५:०५