मतदानस्थलको व्यवस्थापन धमाधम

सुर्खेत: प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदान स्थलहरूको व्यवस्थापनका कामलाई तीव्रता दिइएको छ । आइतवार हुने निर्वाचनका लागि मतदान केन्द्र तथा स्थलमा खटिएका कर्मचारीहरू शुक्रवारदेखि आवश्यक तयारीमा जुटेका छन् । निर्वाचन सामग्री बुझेर बिहीवार कर्मचारीहरू मतदान केन्द्रमा पुगेका थिए । प्रदेश निर्वाचन कार्यालयका अनुसार सुर्खेतमा दुई वटा अस्थायीसहित एक सय ३९ वटा मतदान स्थल र दुई सय ९३ वटा मतदान केन्द्र रहेका छन् । प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले सबै मतदान केन्द्र र स्थलमा मतदानका लागि आवश्यक तयारीमा जुटिरहेको जानकारी दिए । निर्वाचनका लागि सुर्खेतमा दुई हजार दुई सय ५० कर्मचारी खटिएका छन् । मतदान स्थलमा खटिएका कर्मचारीहरूले मतदानका लागि ठाउँ बनाउने र मतदाता परिचय–पत्र वितरणलगायतका काम गरिरहेका छन् ।

वीरेन्द्रनगर–१ स्थित सरस्वती माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा खटिएका मतदान अधिकृत चित्रबहादुर रोकायले आवश्यक तयारीमा जुटेको बताए । ‘मतदानका लागि आवश्यक तयारीमा लागेका छौँ,’ उनले भने, ‘मतदान केन्द्रको व्यवस्थापन र मतदाता परिचय–पत्र वितरणका काम भइरहेका छन् ।’ वीरेन्द्रनगरकै जन माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रका मतदान अधिकृत कृष्ण खरेलले पनि मतदानका लागि आवश्यक तयारीमा लागिएको जनाए ।

१० वटा केन्द्र अपांगमैत्री

निर्वाचनका लागि सुर्खेतमा अपाङ्गमैत्री मतदान केन्द्रको व्यवस्था गरिने भएको छ । अपाङ्गता भएका व्यक्तिको सहजताका लागि वीरेन्द्रनगरमा १० वटा केन्द्रलाई अपाङ्गमैत्री बनाउन लागिएको हो । प्रदेश निर्वाचन कार्यालयका अनुसार वीरेन्द्रनगरको जन माध्यमिक विद्यालय, श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय, भैरव माध्यमिक विद्यालय, अमरज्योति माध्यमिक विद्यालयमा अपाङ्गमैत्री केन्द्र बन्ने छन् ।

त्यस्तै, खजुरास्थित सिद्ध बहिरा विद्यालय, इत्राममा रहेको नेपाल पुलिस स्कुल, स्वास्थ्य चौकी भवन कालागाउँ, मंगलगढी प्राथमिक विद्यालय दीपनगर र जनसेवा माध्यमिक विद्यालय घुस्रामा अपाङ्गमैत्री निर्वाचन केन्द्र बनाइने भएको छ । प्रदेश निर्वाचन अधिकारी चालिसेले मतदान केन्द्रमा मतदान गर्ने तरिका सम्बन्धी संकेतहरू, होचो ठाउँमा मत खसाल्ने ठाउँ र ह्वीलचेयर सहज रूपमा प्रवेश गर्ने व्यवस्था मिलाइने छ ।

जुम्लामा छैनन् अपा·मैत्री केन्द्र

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जुम्लामा ६८ हजार ६ सय ३८ मतदाता छन् । त्यसमध्ये तीन हजार मतदाता अपाङ्गता भएका छन् । तर, उक्त जिल्लामा एउटा पनि मतदान स्थल अपाङ्गमैत्री छैन । अपाङ्गमैत्री मतदान स्थल नहुँदा अपाङ्गता भएका मतदातालाई भाोट हाल्न सकस हुने भएको छ । जुम्लामा ८३ मतदान स्थल र एक सय ६ वटा मतदान केन्द्र छन् । अपाङ्ग पुनस्र्थापना कार्यालय जुम्लाका निवर्तमान अध्यक्ष नन्दराज धितालका अनुसार जिल्लामा झन्डै आठ हजार जना अपाङ्गता भएका व्यक्ति छन् । त्यसमध्ये तीन हजार जना मतदाता हुन् । ‘नेता, कार्यकर्ता र उम्मेदवारलाई मतको मात्रै हिसाब हुन्छ,’ उनले भने, ‘अपाङ्गता भएका मतदाताको समस्याप्रति कसैको चासो छैन ।’ उनले एकातिर शारीरिक अशक्तताले समस्या हुने र अर्कोतिर जटिल भूगोलका कारण आवतजावत गर्न मुस्किल हुने गरेको बताए । अपाङ्गमैत्री मतदान केन्द्र नभएकै कारण कैयन् मतदाता मताधिकारबाट वञ्चित हुने अवस्था रहेको उनको भनाइ छ । जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले जिल्लामा भौगोलिक रूपमा कठिनाइ भएका कारण अपाङ्गमैत्री मतदानस्थल बनाउन नसकिएको बताए । ‘ठ्याक्कै अपाङ्गमैत्री मतदानस्थल भनेर बनाइएको छैन,’ उनले भने ‘फरक क्षमता भएका, अपाङ्गता भएका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई सजिलै मतदान गर्ने व्यवस्था भने मिलाइएको छ ।’

प्रकाशित मितिः   ३ मंसिर २०७९, शनिबार ०५:०१