सुरक्षा व्यवस्थामा कडाइ

सुर्खेत: आसन्न निर्वाचनलाई लक्षित गरी कर्णाली प्रदेशमा सुरक्षा व्यवस्था मजबुद पारिएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई निस्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउन सुरक्षा प्रबन्ध बलियो बनाइएको हो । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार निर्वाचनका लागि प्रदेशभर १४ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुनेछन् । निर्वाचनलाई ध्यान दिँदै प्रदेशमा १४ हजार आठ सय सात सुरक्षाकर्मीहरू परिचालन गरिनेछ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले मतदानस्थलमा पाँच हजार सात सय २९ जना नेपाल प्रहरी र नौ हजार ७८ जना म्यादी प्रहरी परिचालन गरिएको जनाए ।

प्रत्येक नगरपालिका तथा गाउँपालिकामा सिनियर प्रहरी अधिकृतको कमाण्डमा गाडी मोबाइल गस्ती र रिजर्भ टोलीसमेतको व्यवस्था गरी सुरक्षा प्रबन्ध मिलाएको छ । ‘निर्वाचनलाई शान्तिपूर्ण बनाउन सुरक्षा व्यवस्था मजबुद पारिएको छ,’ प्रवक्ता श्रेष्ठले भने । प्रदेशस्तरीय निर्वाचन सुरक्षा बैठकबाट निर्णय भइ हुम्ला, डोल्पालगायतका जिल्लामा हिमपात र भौगोलिक विकटताका कारण निर्वाचनस्थलमा निर्वाचन सामग्री तथा निर्वाचनपछि मतपेटिका ढुवानी गर्न हेलिकप्टरको व्यवस्था मिलाएको जनाइएको छ । हिमाली जिल्लामा हिमपात पनि सुरु भइसकेकाले मतपेटिका ढुवानी तथा अन्य सामग्री ओसारपसारका लागि हेलिकप्टरको प्रबन्ध मिलाइएको हो । प्रदेशभर सुरक्षाका दृष्टिकोणले दुई सयभन्दा धेरै मतदानस्थल अति संवेदनशीलको सूचिमा
राखिएका छन् ।

प्रकाशित मितिः   २९ कार्तिक २०७९, मंगलवार ०५:०१